पत्रकार महासंघ,पोखरामा प्रेस चौतारीको ताल्चा

पत्रकार महासंघ,पोखरामा प्रेस चौतारीको ताल्चा

समाचार लेखेकै आधारमा प्रेस चौतारी कास्कीका साधारण सदस्यलाई अनावश्यक तनाव र धम्की दिइएको र अर्का एक जना पत्रकारलाई पनि त्यस्तै गरिएको भन्दै पोखरास्थित नेपाल पत्रकार महासंघ कास्कीको भवनमा एमाले सम्वध्द चौतारीले तालाबन्दी गरेको छ ।

आज अपरान्ह प्रेस चौतारी नेपाल, कास्की अध्यक्ष अर्जुन गिरीको नेतृत्वमा झण्डै ६० जनाको समूहले तालाबन्दी गरेको बताइन्छ । चौतारी सदस्य रञ्जन अधिकारीले लेखेको समाचारलाई लिएर काँग्रेस निकट श्रीकृष्ण श्रेष्ठले गिरीलाई अनावश्यक धम्की दिएको बिरोधमा तालाबन्दी गरिएको चौतारीले जनाएको छ ।

श्रेष्ठले पोखरा न्यूज डटकमका सम्पादक गणेश बराललाई समेत मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पदीय हैसियत देखाउँदै धम्की दिइएको चौतारीले जनाएको छ । पत्रकारमाथि भएका अत्याचार र धम्कीविरुद्ध महासंघले अभिभावकत्व ग्रहण गर्नुपर्नेमा त्यसो नभएको बताइएको छ ।

उक्त घटनामा श्रीकृष्ण श्रेष्ठ र सफल सुवेदीलाई कानुनी दायरामा ल्याउन र कडा कारबाही गर्न चौतारीले माग गरेको छ । श्रेष्ठ र सुवेदीलाई कारबाहीको दायरामा नल्याएसम्म तालाबन्दी जारी रहने प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

टिप्पणीहरू