किन बाहिर आउनु यस्तो कुरा ? « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

किन बाहिर आउनु यस्तो कुरा ?

प्रकाशित मिति :  २७ माघ २०७३, बिहीबार ०९:२०


राजनीति मात्र होइन साली, गर्लफ्रेण्ड र आफन्त च्याप्दा नेपालको खेल क्षेत्रमा समेत प्रतिदिन धमिरा लाग्दै गएको छ । गणेश थापा हुँदै युवराज लामाहरूको चक्रव्युहमा परेको खेल क्षेत्र प्रतिदिन भासिँदै रसातलमा पुग्यो । यहीभित्र देखिएका विकृति–विसंगतिविरुद्ध सत्य आवाज ओकल्दा ठालुहरूबाट अन्यायपूर्वक गलहत्याइएको एउटा पात्र हुँ ।

राष्ट्रिय स्तरका सातवटा पदक हात पार्दासमेत मलाई अन्तर्राष्ट्रिय खेलमा समावेश गराइएन । बरु त्यहाँका टाउकेको गर्लफ्रेण्ड, साली च्यापेर विदेश पुगे । हारेर फर्किए । त्यहीविरुद्ध बोल्दा मलाई खेल जगत्बाटै घोक्र्याइयो । अरू कुनै कसुर छैन मेरो ।

म्याक्स बस्नेत, ललितपुरको विष्णुटोलस्थित मध्यमवर्गीय परिवारमा जन्मिएको हुँ । अग्लो थिएँ, त्यही कारण बाल्यकालदेखि नै अरूभन्दा फरक स्वभावको । खेलकुद क्षेत्र पहिलो रोजाइमा पथ्र्याे । स्कुले जीवनमा भलिबल, फुटबल, दौड खेलाइन्थे । अध्ययनभन्दा बढी खेलमा समय खर्चिन्थें । स्कुले जीवनमा खेलमा दोस्रो कहिले भइनँ । सदैव पहिलो स्थान आउँथ्यो । कक्षा आठबाट ९ मा सिँढी उक्लँदै गर्दा नेशनल च्याम्पियन भएँ । राज्यले राष्ट्रिय खेलाडी घोषणा गरेर सम्मानसहित कदरपत्र दियो । तिनताक खेलकुदमध्ये सबैभन्दा बढी रुचि भलिबलमा थियो । त्यसैमा राष्ट्रिय खेलाडीको उपाधि पाएँ । यसपछि थप खेललाई निखार्न जावलाखेलको भलिबल सेन्टरमा प्रशिक्षण लिएँ । जावलाखेल क्लबमा आबद्ध हुन पुगें । माउण्ट भ्याली बोर्डिङ स्कुलमा १० कक्षा पढ्दै थिएँ ।

थाहा पाएँ, यो क्षेत्र चरम नातावाद र कृपावादले ध्वस्त रहेछ । कोचलाई आफ्नै मान्छे चाहिने । सक्रिय रूपमा अघि बढ्न चाहने खेलाडीले कहिल्यै स्थान नपाउने ? त्यतिखेर जावलाखेल क्लबलाई वार्षिक ५ लाखभन्दा बढी आउँथ्यो । उनीहरूले नै बाँडीचुँडी खान्थे । कुनै खेलाडीले सहयोग पाउँदैनथे । क्लबभित्रको यस्तो गतिविधि देखेपछि आँखा चिम्लेर बस्न सकिनँ । आवाज उठाएँ । कसुर यति हो, भलिबल खेलबाट बाहिर निकाले । त्यसपछि राष्ट्रिय खेलबाट वञ्चित भएँ । रगत–रगतमा खेल्ने जोश र जाँगर थियो । अवसर नपाएपछि भांैतारिएर हिँड्न विवश भएँ ।

यस्तैमा भेट भयो, प्रकाश थापा मगरको कान्छो भाइ प्रभुदाससँग । एक समयका नामी राष्ट्रिय बक्सर खेलाडी । दर्शकबाट निकै सम्मान पनि पाएका, धेरै स्वर्णपदक जितिसकेका । उनले नै अफर गरे बक्सिङ खेल्न । उनकै सल्लाहअनुसार बक्सिङ खेल्न थालें । दैनिकी बन्यो टिकाथलीको बक्सिङ क्लब धाउनु । त्यतिबेला बक्सिङको चर्चा थोरै भए पनि मनमा उत्साह धेरै थियो । सन् ०५७ सालमा बक्सिङमा एशियन स्वर्ण पदक विजेता दीपक महर्जनसँग खेल्दा १८ वर्षको थिएँ । दर्शकको ताली खाएँ । ‘यु क्यान बि दी बेस्ट फाइटर’ भन्ने आवाज घन्किन थाल्यो । यसरी खेल खेल्दै जाँदा प्रभुदास दाइले ६ महिनाभित्र तँलाई किक बक्सिङको मास्टर बनाउँछु भन्थे । पछि दीपक महर्जनलाई रिङबाट बाहिर पठाएर बक्सिङको दुनियाँमा हराउन थालें ।

तर, ०६२ सालमा टेक्निकल समस्याका कारण राष्ट्रिय खेलाडी दीपक महर्जनसँग हार्न पुगें । यो हारले निकै पीडा दियो । दीपकसँग खेलेका दिन सम्झिन थालें । झन् पीडा थपियो । यसपछि यहाँ बस्न सकिनँ । भारत जाने निर्णय गरें, मनभरी जोश र जाँगर बोकेर । आफूले चढिरहेको मोटरसाइकल बेचेर रेस्लिङ र किक बक्सिङ सिक्न ।

हरियाणामा किक बक्सिङका कोच सञ्जयसँग इन्टरनेटमार्फत सम्पर्क कायम गरेको थिएँ । ०६३ सालमा उनले भारत आएको खण्डमा सिकाइदिने आश्वासन दिएपछि रेलको टिकट काटेर दिल्ली पुगें । जेनतेन दिल्ली पुगियो तर सञ्जयले मुम्बई बोलाए । त्यहाँ उनलाई भेट्न सकिएन । किक बक्सिङका लागि टे«निङ सेन्टर धाउन थालें । दुई÷चार दिन त ट्रेनिङ हलभित्र छिर्न पनि दिइएन । बल्ल स्पाइरिङ खेल जितेपछि ट्रेनिङ हलभित्र प्रवेश पाएँ । एक्लै ९ जनासँग स्पाइरिङ खेल्न लगाइयो । सबैलाई हराएँ । खेलअघि उपस्थित खेलाडी र दर्शकले ‘गोर्ख’ वीर गोर्खेको उपाधि दिए । हेर्ने दृष्टिकोण परिवर्तन भयो ।

दिनरात नभनी खेलमा लागिपरें । ती दिनका घटना सम्झँदै खेललाई निखारें । नभन्दै क्युबाका स्वर्णपदक विजेता (गोल्डेन मेडलिस्ट) किउ सेवालाई फाइनल खेलमा हराएँ । ०६६ सालमा मुम्बई च्याम्पियनसिप भएँ । च्याम्पियन त भइयो तर गोजीमा १० रुपैयाँ भारु मात्र । ४ वर्षदेखि अहिलेसम्म कसैले हराउन नसकेको किउलाई हराएको कारण रिङबाट ओर्लिंदासम्म साथमा ४४ हजार भारु. जम्मा भइसकेको थियो । यससँगै भारतको राष्ट्रिय खेल खेल्न पुने पुगें । त्यहाँ पुगेर ८१ केजीको तौलमा रहेर खेलियो । त्यहाँ पनि उपाधि चुमें । यसपछि थप खेल खेल्न क्यानडा जाने तयारी थियो । म नेपाली हुँ भन्ने चाल पाएर उनीहरूको टिमले मलाई समावेश गरेन । स्वदेश फर्किएँ ।

०६७ सालको कुरा हो यो । पहिलाका ती पीडादायी दिन सम्झेर पुनः खल्दै जाने क्रममा फेरि किक बक्सिङका राष्ट्रिय च्याम्पियनसिप दीपक महर्जनसँग खेलें । उनलाई लगातार हराएँ । पहिले लागेको घाउमा केही राहत मिल्यो । यसरी रेस्लिङ गर्ने क्रममा भारत जाने र आउने क्रम छँदै थियो । यहीवेला भारतबाट प्रशारण हुने ‘कलर्स’ टेलिभिजनको ‘रिङ आउट अफ दि किङ’मा खेल्ने अवसर पाएँ । सन् २०१२ मा बलिउड चलचित्र रिङ द्याट किङको पनि भूमिका निर्वाह गरें । तर, स्वदेशमा कहिल्यै खेललाई अघि बढाउन सकिनँ । कारण म कुनै दलको भइनँ । कुनै प्रशिक्षकको आफन्त परिनँ ।
नेपालको खेलमा कोचको एकाधिकार शासन छ । उनीहरूले जे भन्छन् त्यहीअनुसार हुनुपर्ने । उनीहरूमा टेक्निकल र वैज्ञानिक ढंगले खेल अघि लाने कुनै ज्ञान छैन । जसविरुद्ध अहिले लागिपर्नुपरेको छ । सन् २०१३ मा बक्सिङ खेलमा बेस्ट प्लेयर अफ दी इयर भएँ । त्यही समयमा हो खेलकुद परिषद्का टाउकेले आफ्नो गर्लफ्रेन्डलाई कोरिया पठाएको ।

यसविरुद्ध आवाज उठाउँदा ३ वर्षका लागि राष्ट्रिय खेल खेल्नबाट वञ्चित भएँ । यसपछि सामाजिक सञ्जाल फेसबुकमा धारणा व्यक्त गरें, ‘बक्सिङ नखेलेका खेलाडीलाई विदेश पठाएपछि हाम्रो बक्सिङ संघ कता जाला ?’ नाम तोकेर लेखेको थिइनँ । कुनै खेलै नखेलेका खेलाडीविरुद्ध आवाज उठाउन पाइँदैन ? यति अधिकार खेलाडीलाई छैन ? त्यतिबेला खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाका छोरा सिद्धार्थ लामाले रोकिदिए । उनी बुबाको पिए बनेर बसेका थिए । यसपछि १० जनाको उपस्थितिमा अनुशासनहीन भनेर बक्सिङ खेलबाट निकालियो ।

बाहिर आवाज निकाल्न नदिने बक्सिङ संघभित्रका धमिरा अध्यक्ष प्रचण्ड शर्मा, महासचिव सविन भट्टाचार्य, माओवादी पार्टीका केन्द्रीय सदस्य अर्जुनबहादुर केसी, व्यापारी तथा बक्सिङ संघको ‘ब’ नजान्ने एडिडास जुत्ताका साहुजी राजीव श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष किरणहरूकै अहिले यहाँ हालिमुहाली छ । राजीवलाई फेरि बक्सिङ संघको आजीवन सदस्यमा निर्वाचित गरिएको छ । ८ वर्षअघि रातको १२ बजे उनीहरूले चुनाव गरेर खेलभित्र कालो धन्दा चलाइरहेका छन् । उनीहरूको अहिलेसम्म एकाधिकार तोडिएको छैन । चुनावै नगरी चुनाव गरिसकेको घोषणा गरेर आफूअनुकूल संघलाई अघि बढाइरहेका छन् । यसअघिका अध्यक्ष रविराज थापा हुन् । यिनीहरू विदेश भ्रमणका लागि मात्र बक्सिङ संघमा बसेका हुन् । संघको विकासका लागि होइन । यो आर्थिक वर्षमा मात्र २८ लाख रुपैयाँ बेरुजु छ ।

यसको पर्दाफास गर्ने कसले ? आवाज कसले निकाल्ने ? बोल्दा उल्टै धम्की दिइरहेका छन् । सात पटक राष्ट्रिय च्याम्पियनसिप बनें, अहिलेसम्म विदेशमा खेल्न पाउने अवसरबाट मलाई वञ्चित गरिनुको कारण के ? उनीहरूले आफन्तलाई चार÷चारचोटि विदेश पठाएका छन् । तर, देशको नाममा के खेल प्रदर्शन गरे ? राम्रो खेलाडी कहिले जाने ? प्रचण्ड र राजीवका मानिस मात्रै बाहिर जान पाउने ? मैले जान किन नपाउने ? म खेल खेलेर देशको नाम राख्छु भन्दा यो अवसर नदिइनुको कारण के हो ? अहिले खेलकुद परिषद्मा सदस्य–सचिवको रूपमा केशव विष्ट पुगेका छन् । उनी पनि कुनै अर्थमा फरक भएनन् । खेलकुदको विकासमा ध्यान गएको देखिएन । सर्वेन्द्र खनालको समूहले म्याच फिक्सिङको जालो पत्ता लगाइएकोझैं बक्सिङभित्रको विकृति–विसंगतिको घटना बाहिर आउन जरुरी छ ।

– म्याक्स बस्नेत, राष्ट्रिय खेलाडी


प्रतिक्रिया दिनुहोस !