श्रीमतीमाथि यति ठूलो सास्ती

पार्टीको नाम नयाँशक्ति, जिम्मेवारीमा परेको विभाग– साँस्कृतिक । तर, त्यहींका जिम्मेवार मान्छेमा चरम साँस्कृतिक विचलन आएर घर नै भाँडिन्छ भने तिनले नाम ‘नयाँ’ राख्दैमा पार्टीलाई नयाँ बन्न दिन्छन् ? प्रसंग करिश्मा मानन्धरको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको साँस्कृतिक विभागमा दोस्रो वरियताका नेता प्रदीप देवानको हो ।

उनी ती माओवादी नेताको सूचीमा पर्छन्, जसले आत्मसमर्पण गरेर जनयुद्धकालमा ज्यान जोगाए भने क्रान्तिलाई गद्दारी गरे । उनी जेल पर्दा राम्ररी चलिरहेको मन्टेश्वरी स्कुल नै बेचेर पतिको जीवनरक्षाका लागि मरिहत्ते गर्ने पत्नी मनिताले भने आँशु झार्दै छुट्टिने निर्णय गरेकी छन् । २०५५ सालको विवाह, २०५६ साल भदौ १४ गते छोरा प्रज्वलको जन्म । अहिले नोबेल एकेडेमीमा कक्षा १२ मा पढ्दै छन् तर यसबेला आएर श्रीमानले अर्कै केटीलाई ‘प्यारी’ भन्न थालेपछि भने मनिताले चुपचाप दुष्टको बाटो छाड्ने निर्णय गरिन् । त्यही भएर जिल्ला अदालत काठमाडौंमा निजको सम्पत्ति तीन भाग लगाई अंश पाऊँ भन्दै निवेदन हालेकी छन् ।

आफैंले नमूना होस्टलमा काम गर्न ल्याएको केटीलाई छुट्टै फ्ल्याट खोजेर ‘महारानी’ बनाएको सहन नसकेर उनले छुट्टिने निर्णय गरेकी थिइन् । हुन पनि फकाइफुल्याई मनिताको नाममा रहेको होस्टललगायत सबै आयस्रोत आफ्नो नाममा सारेपछि प्रदीपले छिछि दुुरदुर गर्न थालेका थिए । चार वर्षदेखि आफ्नै पतिको परस्त्रीसँग रासलीला देखेको नदेख्यै गर्दै आएकी मनिताले अंश मागमात्र के गरेकी थिइन्, प्रदीपले कुचो लाउनुपर्ने कसिंगर हावाले नै उडाइदियो भनेझैं गरी सहमति जनाए र अन्ततः मिलापत्र गर्दै मुखले चाहिँ अंश दिन राजी भएका छन् ।

– प्रद्युम्न आङदेम्बे, धनकुटा

टिप्पणीहरू