बेला गइसक्यो, पुग्नु कहाँ हो ढिला भइसक्यो

  • शिवजी श्रेष्ठ

अहिले प्रहरी नेतृत्वका आकांक्षीमाथि बाहिर अनि भित्रबाट गरिएको हिलो छ्यापाछ्यापका कारण पारिवारिक सदस्य प्रताडित भइरहेका छन् । केही दिनअघि एकजना उपरीक्षकले संगठनको हित चिताएर सामाजिक सञ्जालमा ‘यो अनिश्चितता जति लम्बिन्छ, त्यति संगठनले क्षति व्यहोर्नुपर्छ’ भनी सदाशयता व्यक्त गरेका थिए । ०६९ सालको नेतृत्व परिवर्तन भयावह थियो– तत्कालीन प्रधानमन्त्री र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबीच खुलेरै रस्साकस्सी देखिने गरी । पछि प्रधानमन्त्रीले लिएको एक नम्बरलाई नेतृत्व दिने अडानले काम ग¥यो । तर, त्यतिञ्जेलसम्म अस्वस्थ प्रतिस्पर्धाले आकार लिइसकेको थियो । प्रहरीको नेतृत्व कालान्तरमा एक जनाले लिने हो । तर, अस्वस्थ प्रतिस्पर्धा अनि त्यसलाई मलजल गर्ने आन्तरिक र बाह्य कारक या राजनीतिक पृष्ठपोषकले यस्तो अवस्था सिर्जना गरिदिन्छ कि पछि सम्बन्ध सौहाद्र्र हुनै गाह्रो पर्छ र त्यसको प्रत्यक्ष असर ती नेतृत्वकर्तामा मात्रै होइन कि सम्पूर्ण प्रहरी संगठनमा पर्न आउँछ । यसको ज्वलन्त उदाहरण नेपाल प्रहरी  नेतृत्व र दुई नम्बरमा रहेका अधिकारी तथा सशस्त्र प्रहरीभित्रको तिक्त सम्बन्धले नै देखाउँछ ।

तीन दशकअगाडि नेपाल प्रहरीको महाराजगञ्जस्थित तालिम केन्द्रबाट बिहानी अभ्यासको क्रममा दौडँदा जुत्ताको तुना फुस्किएर लाइनबाट बाहिर निस्की तुना बाँध्दै गरेका बेला एउटा बच्चा स्कुलको ड्रेसमा रुँदै थियो, एउटी महिलाले उसलाई जबर्जस्ती तान्दै लगिराखेकी थिइन् तर बच्चा झन् रोइरह्यो । ती महिलाले जुत्ताको तुना बान्दै गरेको प्रहरीको तालिमेलाई देखाउँदै भनिन्, ‘नपढ् न नपढ्, तँ पढिनस् भने ऊ त्यस्तै हुन्छस् ।’ अनपढ भनी इशाराले देखाएको तालिमे उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेर इन्स्पेक्टरको कडा परीक्षा उत्तीर्ण गरी कालान्तरमा सशस्त्र प्रहरी प्रमुख भए ती अर्थात् दुर्जकुमार राई ।

प्रहरीको नेतृत्व चयनमा राजनीतिक नेतृत्वले जहिले पनि खेल्ने गरेको पाइन्छ, जसले गर्दा आत्मविश्वास, उच्च मनोबल, निष्पक्षतामा ह्रास आएको देखिन्छ । धेरै पर जानै पर्दैन, हालका प्रहरी प्रमुखले स्वतन्त्र ढंगबाट काम गर्न पाउनुभयो कि भएन ? जब–जब राजनीतिक नेतृत्वले खेल्न थाल्छ, प्रहरी नेतृत्व र अन्य अधिकारीको भविष्य सुनिश्चित हुँदैन, स्थापित प्रणालीले काम गर्दैन, तब उनीहरू आफ्नै सुरक्षाका लागि दौडधुप शुरु गर्नतिर लाग्छन् । यस्तै भएको थियो– ०६५ सालतिर, वामदेव गौतम गृहमन्त्री थिए, ३० वर्ष पुगेको प्रहरी नेतृत्व र एआइजीको म्याद थप हुने नहुने द्विविधाकै कारण एकजना एआइजी काम देखाउने नाममा तत्कालीन काठमाडौं जिल्ला प्रहरी प्रमुखले गर्ने क्यासिनो निरीक्षण भ्याउन पुगेका थिए । तर, जति काम देखाए पनि तिनको म्याद थपिएन । स्थिति कस्तोसम्म आयो भने, ३० वर्ष नोकरी अवधि पुगेकाहरू अवकाश पाएर घर गए तर ३२ वर्ष पुगेकाले आइजीको नेतृत्व ग्रहण गरे ।

अहिलेका प्रहरी अधिकृतको कार्यशैली, निडरता, स्वच्छता जति उच्चस्तरीय देखिन्छ, तर जति–जति उच्चस्तरमा पुग्दै गयो, विस्तारै–विस्तारै खस्किँदै गएको पाइन्छ । यसको एउटै कारण नेतृत्वमा पुग्न र स्थापित हुन कुनै प्रणाली नबन्नु, यसको पालना गरे मात्रै हुन्छ तर यहाँ त नीति छैन, नेताको पछि लाग्नुपर्ने बाध्यता छ, त्यसले गर्दा श्यामभक्त थापा, ओमविक्रम राणाहरू नेतृत्वमा स्थापित हुन पुगे, श्यामभक्त थापा नेपाली सेनाको बिदाइ र स्वागतमा एअरपोर्ट पुग्ने भए, ओमविक्रमको पालामा सुडानकाण्ड घट्यो ।

अरूलाई खुशी पार्ने नाममा आफ्ना (प्रहरी) लाई बेवास्ता गर्न पुगे । नेपालको प्रहरी बलियो होस् भनेर अन्य कुनै निकायले चाहँदैनन्, झन् राजनीतिक वृत्त त कमजोर प्रहरीमै खेल्न रुचाउँछ । ‘मैले देखेको दरबारमा’ तत्कालीन राजाका प्रमुख सैनिक सचिव विवेक शाहले अच्युतकृष्ण खरेल आइजिपी हुँदा म्यानमारमा राजदूत नियुक्तिलाई लिएर ‘प्रहरी ज्यादै शक्तिशाली भएर गएको’ उल्लेख गरेका छन् । नेपाल प्रहरीका तत्कालीन दुई जना एआइजी अच्युतकृष्ण खरेल र धु्रवबहादुर प्रधान कार्यकुशलता, नेतृत्व, मनोबल आदि सबै क्षेत्रमा सबल मानिन्थे तर अहिले देखिएजस्तै राजनीतिक खेल र नेतृत्वको प्रतिस्पर्धामा दुवैलाई जुधाउने कार्य हुँदा उनीहरू योग्यता र क्षमता प्रदर्शन गर्नसमेत नपाई बीचमै भाँचिन पुगे । यिनीहरूलाई ‘आदर्श’ मानेर हिँड्ने प्रहरी अधिकृत थुप्रै थिए । तर अहिले त्यो स्तरको मनोबलमा हिँड्न सक्ने उच्च प्रहरी अधिकृत कमै पाइन्छन् । परिस्थिति नै यस्तै सिर्जना भएको छ कि कहीँ न कहीँ सम्झौता गर्न बाध्य हुनैपर्ने ।

आइजिपी भनेको प्रहरीको मियो हो, जसको वरपर सबै कुरा घुम्छन् । तर, त्यो कमजोर भयो भने, त्यसमा स्थायित्व भइदिएन भने मियोअनुसार गोरु होइन कि, गोरुअनुसार मियो घुम्न थाल्छ । त्यसो हुनेबित्तिकै कसैको पनि हित हुँदैन । यति हुनेबित्तिकै नेतृत्व कमजोर हुन पुग्छ । प्रहरी नेतृत्व कमजोर हुनेबित्तिकै सम्पूर्ण प्रहरी कमजोर हुन्छ, यसबाट समग्र शान्ति सुरक्षा बिथोलिन्छ, जसबाट न जनता सुरक्षित हुन्छन् न त राजनीतिक नेतृत्व नै ! आइजिपी भनेको ‘करिस्मेटिक’ नेतृत्व कला भएको हुनुपर्छ, ७२ हजार प्रहरीले हृदयदेखि सम्मान र पिछा गर्ने खालको ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नेतृत्वका आकांक्षी सबल, सक्षम र प्रतिस्पर्धी तवरका छन् जसले प्रहरीलाई नेतृत्व दिन सक्छन् । तर, नेतृत्व करिस्मेटिक तथा डायनामिक नै हुनुपर्छ । नेतृत्वमा रहेको उच्च मनोबल, निष्पक्षता, अडान लिन सक्ने क्षमताले नै तलको प्रहरी परिचालित हुन्छन् । त्यस सँगसँगै संघीयताको कार्यान्वयन हुने हुँदा अब आउने नेतृत्व निष्कलंक, निष्पक्ष, डायनामिक, अडान लिन सक्ने र परिस्थितिअनुसार चल्न सक्ने किसिमको हुनु जरुरी छ । जसका लागि छिटोभन्दा छिटो, आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर नेतृत्व चयन गर्नु आवश्यक भइसकेको छ ।

टिप्पणीहरू