यो कथा हामीले नभने दुनियाँलाई के थाहा ?

  • नारायण नेपाल

०३२ सालतिर रसुवाका ४ गाउँ दार्खा, खनायोवास, गुम्दी र सेर्तुङ धादिङमा मिसाइए, तारुका, बुधसिंह, खड्गभञ्ज्याङ र चारघरे नुवाकोटमा र यार्सा, सरमथली, धैबुङ र जिपजिपे रसुवामा मिलाउँदा चारघरेका दयानिधिको जिल्ला पञ्चायत सभापति पद बाँकी रह्यो तर पञ्चायतचाहिँ चट्टै हरायो । उतिबेला सो काण्डबाट पीडित पञ्चले वितण्डा मच्चाएपछि चित बुझाउन जितसिंह खड्कालाई निकै हैरान परेको थियो । ठ्याक्कै ४१ वर्षपछि नुवाकोट जिल्ला विकासले कोरेको नक्शा विदुरबाट सिंहदरबार आइपुगेर तल नफर्कंदै एउटा गाउँपालिका हराएछ, धन्न कसैको गाउँपालिका अध्यक्ष वा मेयर बन्ने सपना टुट्न पाएन ।

स्थानीय निकाय नयाँ बनाउने नाममा यो गाउँ यता, त्यो गाउँ त्यता, यो गाउँपालिकामा यति गाविस, यसको केन्द्र त्यता भन्दै गर्दा बहस  र मुठभेडमा जनता पर्छन्, खरबारीको आगोभन्दा घरबारीको आगोले छिटो पोल्छ, जब जनता आपसी बहस, सहमति–असहमतिमा अल्झिन पुग्छन् तब जनता दलाल र शासक त्यसको फाइदा उठाउँदै सत्ता र स्वार्थ पूरा गर्नेतिर सक्रिय र सफल हुने  गरेका छन् ।

नुवाकोटमा कांग्रेसी झगडाको बीउ आज रोपिएको होइन, हिजो पञ्चभित्र पनि झगडा थियो । पछि पञ्च र  कांग्रेसमा बदलियो । जसले कांगे्रसको प्रजातन्त्रको बीउ रोपे, उनीहरू गुमनाम छन् । जनमोर्चा, कांग्रेस र पञ्चकांग्रेसको बीचमा आरोप÷प्रत्यारोप र लडाइँ चल्ने गरेको थियो । पछिल्लो समय त्यो लडाइँको उत्कर्ष घंैटेकाण्ड र जस्ताकाण्डमा देखिएको छ । दाइ महत र भाइ महतपछि भतिजो र नातिसम्म नपुगी अरूको पालो आउने छैन, नुवाकोटमा । केसी दाइ–भाइको पालो सकिएको छैन, धनञ्जय नरसिंहपछि मात्र हो, अरूले पाउने ।
आज आमने–सामने नुवाकोटे दाजुभाइ लडे पनि राजनीतिको सालनाल भने अन्तैतिर भएको पाइन्छ । दरबार र सम्पदारूपी गाउँ किचलो त्यसैको नमुना हो । जिविस तोडफोडबाहेक आन्दोलनकारी भौतिक हमलामा उत्रेको देखिँदैन तैपनि किन ठोकठाक पारेर उत्तेजित बनाउँछ सरकार ? गठबन्धन दलका मन्त्री र सांसद आन्दोलनको अगुवा भएर पनि देखिएका छन् । भूकम्पपीडित जनताले फाटेको त्रिपालमुनि रात बिताएर तीन हिउँद–वर्षा पचाए, आज तिनै जनतालाई सडक तताउन लगाइएको छ । तिनैमाथि पुलिसको लाठी, टियर ग्यास र रबरका गोली बर्साइएको छ । माओवादी केन्द्रलाई शिखण्डी बनाएर महतको सेखी झार्ने योजना केसीहरूको देखियो । महत जिल्लामा २ क्षेत्र बनाउने र केसी तीन बनाउने छिर्केखेलमा छन् । महत, केसी कहाँ–कहाँ क–कसलाई गाउँ, नगर प्रमुख बनाउने भन्दै कित्ता नापेर काटिरहेछन् अनि गाउँ सदस्यसम्म हात नलाग्नेहरू बतासे समितिको नाममा बुर्कुसी मारिरहेछन् ।

गणेश पण्डित, शारदारमण नेपाल, चन्द्रकान्ता पौडेलहरूले हालेको जग नै हो आजको माओवादी र एमाले । हिजो अमेरिका गएको आरोपमा गणेश पण्डितलाई आन्दोलनबाट लखेट्नेहरू, गाईको अनुहार परेको गोरु ब्याउला र खाउँला भन्दै धाउँदै छन् । अनुहार त गाई–गोरुको उस्तै हो तर ब्याउने नब्याउने कुरा मुख हेरेर थाहा हुन्न नि कमरेड ? संगठित सदस्यको २० प्रतिशत मात्र भोट आफ्नो पार्टीलाई खसाल्न सक्ने नेताले के सोच्दै छन् ? हिजो उनले कम्युनिष्टको किल्लै सावित गरेका थिए त † मुरलीटारमा पञ्चको रामधुलाइ खाने कांग्रेसीजन जनयुद्धताका बेतिन जंगलमा काटिने अनि डाँडागाउँमा एकै चिहान हुनेहरूको पीडा कसले सुन्ने ? कम्युनिष्ट पार्टी स्थापना गर्ने अर्जुन भण्डारीको परिवार राजनीतिको पनि सुन्न चाहँदैन, तिनलाई उत्साहित कसले बनाउने हो ? जनयुद्धमा सपरिवार झिटी–गुन्टा पोको पारेर हिँडेका हितबहादुरको परिवारलाई उनकै राजनीतिप्रति मतलव छैन भने केसीको घोडचढीमा सवार भएर महत जित्न सक्ने नेताको सपना कसरी साकार होला ? । बिचरा कमरेड केसीबा गलेको २४ घण्टासम्म पनि सडकमा टिक्न सकेनन् र तादीको बगरमा पछारिएपछि मात्र होश खुलेको छ ।

पहिला ललितमान, हिजो बुद्धिमान र आज बहादुरसिंहहरूको चहलपहल छ आन्दोलनमा वर्ग हो कि जात खोज्ने हो, सधँै वर्गीय कुरा प्रधान ठान्ने निर्मल लामाले सिकाएको गुरुमन्त्र त्यही हो त ? बर्सुन्चेतका हरिबहादुर घले कतारको जेलमा फाँसीको दिन कुरेर बाँचेका छन् । कल्याणपुरको सानुकान्छा अफगानिस्ताको तालिबानी एम्बुसमा परेर मरेको  छ । हिजो बम्बईको कोठीमा मात्र बेचिने मैच्याङहरू आज संसारभर बेचिएका छन् । यो कुराले किन पोल्दैन हामीलाई ? चार जना चोर समात्दा २ जना नुवाकोटे पर्छ, अफगानिस्तानको तालिबानी एम्बुसमा नुवाकोटे नै मर्छ, अरब–कोरियाको कुनै हिसाब छैन, कति जिउँदै आउँछ, कति उतै मर्छ ।

परदेसिएकाहरूको कहालिलाग्दो कहानी खै कसले सुन्छ यहाँ ? राणाकालदेखि आजसम्म मन्त्रिमण्डलमा कहिल्यै खाली छैन नुवाकोटे नेताको तर उस्तै बेहाल छ जनताको, किन ?
जो सत्तामा पुगे यिनीहरूले न देश बनाए न जिल्ला नै बनाए, बने त आफू र कविलास च्यांग्रे महतको सन्तानले कसरी अकल्पनीय आर्थिक उन्नति गरेर अर्बपति भए ? राउतबेसीका केसीका भाइपिच्छे महल र पजेरो जोडे ? हजुरबाले थापेको घट्टको आम्दानी मात्रै फल्दाफुल्दा यस्तो हुने भए सयांै घटेराका सन्तान आज किन गरिब ? हाम्रा भाइ–भतिजा अरबको वाफमा उम्लिँदा पनि एकसरो राम्रो लगाउन र एकछाक मीठो खान सक्दैनन् नुवाकोटे । जति वटा गाउँ र नगरपालिका बनाए पनि हिजैका मुखिया र ठालु प्रधानपञ्चले झंै लुट्ने हुन यिनले हामीलाई । चाहे बहुदल होस् या पञ्चायत र लोकतन्त्र उनैको हालीमुहाली छ । उनै मन्त्री हुन्छन् । उनै मालिक, हामी सधैँ उनैका हली । नरभूपालको बाबुछोरालाई २ पटक हराउने पुर्खा पनि त थिए, हामी दास मात्र त होइनन् नि !

कुनै बेला माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीले प्रचण्ड–बाबुरामबारे भनेका थिए, ‘यिनीहरू  मत्ता हात्ती हुन् जो मिल्दा पनि जुधे पनि माडिने तोरीबारी नै हो ।’ ठीक त्यस्तै छ, केसी–महतको मिलाप र विलापको ताल । यिनीहरू मिले, जुधे र जे गरे पनि जिविसको फाइलदेखि ढिकुरेको आलुबारीसम्म सखाप, मिले उही ताल जनतालाई सास्ती । यो महत–केसी जँुगाको लडाइँमा जनतासँग के सम्बन्ध ! सत्ता संसदीय, सत्ता सञ्चालक मालिक पुरानै भएपछि गाविसको भूगोल ठूलो र सानो बनाउनेमा जनतालाई के अर्थ छ ! ९ वडाको गाविस हुँदा र ५ गाविसको गाउँपालिका हुँदा जनतालाई के फाइदा ? राज्यलाई कर्मचारी कम भए पुग्ला वा अफिसहरू अलि धेरै राख्न पाइएला तर जनतालाई सत्ता सञ्चालनमा के स्वाद ?

स्थानीय निकाय पुनःसंरचनाको हल्ला नयाँ ठूलो गाउँ बनाएर जनता लुट्ने र पुरानै सत्ता सञ्चालन गर्ने खेल हो । सार कुरा त कुन वर्गको सत्ता संरचना बनाउने भन्ने हुँदो रहेछ । महत–केसीले मच्चाएको पुनःसंरचनाको स्यालहुइँयापछिल्तिर नकुदेर श्रमिक जनताले आफ्नो जनताको सत्ता पुनर्निर्माण प्रक्रियालाई तीव्रता दिनुपर्छ ।

जतिबेला देश प्रसव वेदनामा छट्पटाउँदै हुन्छ उतिबेलादेखि नै पश्चिम १ तिर नमुना आन्दोलनको प्रक्षेपण गर्दै डमी प्रदर्शन हुने गरेको छ । पहिलो संसद्बाट रुष्ट दरबारिया षड्यन्त्रको सिकार पश्चिम १ नम्बरको किसान आन्दोलन भयो । पञ्चायतको उत्तरार्धमा पञ्चले कांगे्रसलाई मुरलीटारमा रामधुलाइ पारेका थिए । कुनै समय शान्ति र स्थायित्वको कुरा गर्नेहरू सत्तामा हाबी हुन्छन्, त्यसपछि आफंै सरकारमा सहभागी भएर अराजकता र वितण्डता मच्चाउने गरेका छन् । ०१७ सालको पश्चिम १ काण्डले पञ्चायत उदायो, मुरलीटार काण्डले बहुदल उदायो । आज जुन नाममा सरकारवादी पार्टीले जनता जुधाउने आगो सल्काउँदै छ, विस्तारै त्यो डढेलोले देश जलाउने निश्चत छ ।

टिप्पणीहरू