दार्चुला घटनाको विरोधमा काठमाडौँमा आन्दोलन घोषणा

दार्चुला घटनाको विरोधमा काठमाडौँमा आन्दोलन घोषणा

महाकाली नदी तरेर भारत जाने क्रममा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको विरोधमा आन्दोलन चर्किने भएको छ । भारतीय पक्षले तुइन काटेका कारण धामी नदीमा खसेको भन्दै विभिन्न राजनीतिक दल र उनीहरु सम्बद्ध संघ संगठनले आन्दोलन घोषणा गरेका हुन् ।

भारतीय एसएसबीले तुइनको डोरी चुडाइदिदाँ नदीमा खसेर धामी बेपत्ता भएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीले धामीको न्यायका लागि आन्दोलनको घोषणा गरेको हो।

विज्ञप्तिमा घटनाको बिषयमा आवश्यक छानबिन गरी दोषीमाथि कारवाहीको माग गरिएको छ । प्रवत्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा आज देशब्यापी विरोध प्रदर्शन तथा १८ गते विरोधसभा गर्ने उल्लेख छ ।यस्तै, नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल)ले पनि दार्चुला घटनाको छानविन गर्न माग गरेको छ । आज वाईसिएलले घटनाको भर्त्सना गर्नुका साथै दोषीमाथि कारवाहीको माग गरेको हो ।

अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाद्वारा जारी विज्ञप्तिमा भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको छानबिन गरिनुपर्ने बताइएको छ । साथै बेपत्ता धामीको परिवारलाई क्षतिपूर्ति दिनसमेत माग गरिएको छ ।

त्यसैगरी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पनि विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको छ । मोर्चाले विभिन्न समाचार माध्यममा भारतीय सुरक्षा बलले ज्यादती गरेको बताइए पनि त्यसको सत्य तथ्य छानविन हुनुपर्ने बताएको छ । अध्यक्ष सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा घटनाको अविलम्ब छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरिएको छ ।

टिप्पणीहरू