दूधदानी भर्सेज स्तनदानी « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

दूधदानी भर्सेज स्तनदानी

प्रकाशित मिति :  २७ माघ २०७३, बिहीबार ०९:०७


  • वैकुण्ठ ढकाल

दृश्य १

‘फिनिस्ड’ भइसक्यो र पनि तानिरहेछ, हेर्नु न ? दूधदानी रित्तिइसक्दा पनि काखको शिशु रुन छाडेन । बसका यात्रु सबै शिशु रोएतिर फर्कन थाले, पछाडिको सिटमा बसेकाहरू पनि कान ठाडो पार्न थाले । खेलौनादेखि जे–जे देखाएर बालक (बालिका)को मन बुझेन, रुवाइ रोकिएन । अन्ततः टाइट टिसर्टबाट स्तन निकालिन् र पान गराइन्, डाँको छाडेर रोएको बच्चा शान्त भयो । मुहारमा कान्ति भरियो ।

(पुरानो बसपार्कबाट कलंकी फर्कंदै गर्दा काखेबालकसहित दुई महिला र एक पुरुष त्रिपुरेश्वरबाट चढे, सायद भाटभटेनीमा सपिङ सकेर निस्किएका थिए । काखमा बालक लिने बच्चाको आमाजस्ती लागेको थिएन, रित्तो दूधदानी चुसाउनेलाई कसरी आमा हो भन्ठान्नु ? तर स्तनदानीबाट स्तन नै निकालेर चुसाएपछि आमा नै हो भन्ने पक्का भयो ।)

दृश्य २

पार्टीमा जान रातो कुर्ता सुरुवालमा सजिएकी, ड्रेससेन्स र मेकअपमा साह्रै कन्सन लाग्ने महिला सानो बालकसहित बस चढिन् । महिला सिटमा बसिरहेकी केटीले ठाउँ छाडिदिइन् । सायद दिदी होलिन्, आमाको काखमा भएको भाइलाई चाउचाउ खुवाइन् । चाउचाउमै आउने मसला र खुर्सानी पनि मिसाइएको थियो होला । बालक रोयो, आमाले तत्कालै स्तन निकालेर चुसाइन्, बालक चुप । दिदीले चाउचाउ खुवाइन्, फेरि बालक रोयो, आमाले दूध चुसाइन् ।

(दिउँसोको समय कलंकी–कालिमाटी–त्रिपुरेश्वर–पुरानो बसपार्कको बाटोमा सवारी जाम नभएको भेट्ने सम्भावना कमै हुन्छ । त्यो दिन पनि जाम भयो, आमा र सन्तानको दृश्य हेर्न र सुन्न परिरह्यो ।)

दृश्यमा आएका दुबै महिला सुन्दर थिए तर शरीर औसतभन्दा मोटा, काखेबालक भने साह्रै लिखुरे (नसे) ।

सायद दुबै महिला स्तनपान गराउँदा शारीरिक सुन्दरता गुम्ने डरले ग्रस्त थिए । तर, शिशुलाई स्तनपान नगराउने महिलामा शरीर भद्दा हुने उनीहरूलाई कसले बताइदेओस्, जसलाई बच्चाको स्वास्थ्यभन्दा आफ्नो सुन्दरता प्यारो हुन्छ ।

गाउँघरतिरका आमा–हजुरआमाहरूले काखे बच्चा भएकाहरूलाई भन्थे, हेर त यसलाई छोरा÷छोरीले चुसेर हाड र छाला मात्रै बाँकी राखेछन् । मतलव बच्चा मोटा र आमाहरू नसे थिए । यसले साँच्चै स्तनपानले शरीर छरितो नै बनाउँदो रहेछ भन्ने पुष्टि भयो । शरीर जिरो फिगर बनाउने चाहना हुने शहरिया आमाहरूले दूधदानीको विकल्प छाडेर आफ्नै दूध चुसाए सहज हुनेरहेछ । यसले दूधदानी र स्तनदानी दुबै छान्ने झन्झटबाट महिला मुक्त हुन सक्ने देखियो ।

‘आधुनिक’आमाहरू स्तनदानी(ब्रा) किन्न पूरै बजार फन्को लगाउन समय पाउँछन् । तर, आफ्ना शिशुलाई स्तनपान गराउने समय हँुदैन । स्तनपान गराउन व्यस्तता छेक्नेलाई स्तनदानी किन्न प्रशस्त समय कहाँबाट आउँछ सोध्न् मन लाग्छ ।

व्यस्त दैनिकी र स्तनपानको महŒवलाई नजरअन्दाज गर्दा गर्भावस्थामा वृद्धि भएको तौल घटाउन नसकेर शरीरको आकार पहिलाभन्दा भद्दा हुने क्रम बढ्दै गएको छ । स्तनपानले थाहै नपाई क्यालोरी घटाएर शरीर मेन्टेन गराउँछ तर शुरुमा स्तनपान गराउन अप्ठ्यारो मान्ने सुत्केरी तौल घटाउन नसकेपछि डान्स सेन्टर, हेल्थ क्लब र मर्निङवाक धाउने क्रम पनि बढ्दै छ ।

स्तनपानले महिलाको शरीर सन्तुलित राख्नुका साथै रक्तअल्पता र पाठेघरको मुखमा हुने क्यान्सरको जोखिमसमेत घटाउने चिकित्सक बताउँछन् । बच्चालाई दूध खुवाउँदा उत्पादन हुने अक्सिटोसिन हर्माेनले पाठेघरलाई कसिलो बनाएर रक्तस्राव कम गराउँछ ।

आमाको दूधमा भएको आइरनमध्ये ९० प्रतिशतसम्म बच्चाको शरीरले लिन सक्छ । अन्य दूधमा भएका आइरन शरीरले लिन (सोस्न) सक्दैन । बच्चा दुई वर्ष पुग्दा उसको ९० प्रतिशत मस्तिष्कको विकास हुन्छ । त्यही अवस्थामा पोषण नपुगेपछि बच्चा जीवनभर सक्षम बन्न सक्दैन । सही तरिकाले स्तनपान नगराउँदा बच्चा बिरामी हुने र मृत्यु दरसमेत घट्छ । विधिपूर्वक स्तनपान गराएका बच्चामा नगराएकामा भन्दा ३० प्रतिशत बिरामीको खतरा  घट्नेछ ।

नेपालमा प्रत्येक वर्ष करिब सात लाख शिशु जन्मन्छन् । पछिल्लो नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण प्रतिवेदनअनुसार सुदूरपश्चिम क्षेत्रका झण्डै ५५ प्रतिशत महिलाले जन्मेको एक घण्टाभित्र बच्चालाई स्तनपान गराउँछन् भने र मध्यमाञ्चल क्षेत्रका ३४ प्रतिशतले मात्रै यो समयभित्र स्तनपान गराउँछन् । भौगोलिक आधारमा सबैभन्दा बढी हिमाली क्षेत्रका ५१.३ प्रतिशत, पहाडी क्षेत्रका ४७.१ र तराई क्षेत्रका ४१.६ प्रतिशतले मात्रै जन्मेको एक घण्टाभित्र स्तनपान गराउँछन् ।

नेपालमा शिशु जन्मेको एक दिनभित्र स्तनपान गराउनेको संख्या ८५ प्रतिशत छ । स्तनपानअघि नवजात शिशुलाई घ्यू, मह, चिनी चटाउने चलन २५ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । बच्चालाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाएमा धेरै रोगबाट बचाउन सकिन्छ ।

स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि गरेका नवराज सुब्बाले आफ्नो निजी वेबसाइटमा स्तनपानको १०१ फाइदा उल्लेख गरेका छन्– आमाको दूध बच्चाका लागि अमृतसमान हो । यो बच्चाका लागि सबैभन्दा सुपाच्य हुन्छ । आमाको दूध शिशुका लागि सर्वोत्तम आहार हो । आमाको पहेंलो बिगौती दूध शिशुका लागि पहिलो खोप हो । यसले विभिन्न रोगबाट बचाउँछ । स्तनपानले बच्चाको शारीरिक, मानसिक विकास राम्ररी गराउँछ । बच्चालाई स्तनपान गराउँदा गर्भान्तरमा मद्दत पुग्छ । यसले आमाको स्तन क्यान्सर हुने दर कम गराउँछ । शिशु अवस्थामा आमाको दूध नखाएको छोरीलाई स्तन क्यान्सर हुने सम्भावना बढी रहन्छ । बच्चा जन्माउनासाथ दूध चुसाएमा आमाको पाठेघर सामान्य अवस्थामा फर्कन मद्दत पुग्छ । आमालाई दूध खाने बच्चाको आइक्यू स्तर बढी हुन्छ । यसैगरी, अन्य फाइदामा, आमाको दूध जतिसुकै बेला विनाझन्झट खुवाउन सकिन्छ । स्तनपान गराएमा बच्चाको म्युकोनियम अर्थात गर्भावस्थाको आन्द्रे दिशा निस्कन सहयोग पुग्छ । यसले आमाको डिम्बाशयको क्यान्सर कम गर्छ । आमाको अनावश्यक तौल हुनबाट रोक्छ । आन्द्राको रोग क्रोन्स रोगबाट बचाउँछ । बोतलको दूध खाने बच्चालाई भविष्यमा मधुमेह रोग हुन सम्भावना बढी हुन्छ । स्तनपान गराउने मधुमेह लागेकी महिलाले कम इन्सुलिन लिए पुग्छ । स्तनपान गराउँदा महिलालाई इण्डोमेट्रियोसिस रोगबाट बचाउँछ । बच्चाले आमाको दूध चुस्न थालेपछि आमाको रक्तस्राव कम हुन्छ । आमाको दूधभन्दा अन्य दूध पिउने बच्चालाई एलर्जी हुने सम्भावना बढी हुन्छ । आमाको दूधले दम रोग लाग्ने दर कम गराउँछ ।

स्तनपानले झाडापखालाबाट बचाउँछ । फर्मुला दूधको प्रयोगले कानको संक्रमण दर बढाउँछ । फर्मुला दूधले सिड्स रोग दर बढाउँछ । स्तनपानले बच्चालाई ब्याक्टेरियल मेनिन्जाइटिसबाट बचाउँछ । स्तनपानले बच्चाको श्वासप्रश्वास रोग दर कम गर्छ, आमाको दूधले बच्चाको आँखाको संक्रमण दर कम गराउँछ । उच्च रक्तचाप कम गर्छ । संसारमा आमाको दूधको कुनै पनि नक्कल सम्भव छैन । अन्य दूध खाने बच्चाको नेप्किन प्रयोग दर बढी हुन्छ । स्तनपान गर्ने बच्चाको शरीर सुगन्धमय हुन्छ । स्तनपान गराउँदा बच्चालाई प्राप्त आमाको छातीको उष्णताले चिसोबाट बचाउँछ । आमाको दूधलाई विश्व स्वास्थ्य संगठन र बालरोग विशेषज्ञको विश्वसंघले पनि सिफारिस गरेका छन् ।

स्तनपानले गर्ने फाइदा अनेक छन् तर किन आमाहरू दूधदानी र बजारका दूध किन्न दौडन्छन् ? बेलायतका महिला आफ्नो बच्चालाई स्तनपान गराउने मामिलामा निकै पछाडि रहेको एक अध्ययनले देखाएको छ । बेलायतमा स्तनपानको दर ०.५ प्रतिशत छ । त्यहाँ एक वर्ष नपुगेका २ सय बालबालिकामध्ये एक जनाले मात्र स्तनपान गर्न पाउँछन् ।

नेपालका ‘आधुनिक महिला’ पनि बेलायतको बाटोमा हिँड्न लागेका त हैनन् ? शंका पो लाग्न थाल्यो ।


प्रतिक्रिया दिनुहोस !