कर्णालीमा एचआईभी एड्स भुसको आगो झैँ भयावह बन्दै

कर्णालीमा एचआईभी एड्स भुसको आगो झैँ भयावह बन्दै

कर्णाली प्रदेशमा प्राणघातक यौन रोग भुसको आगो झैँ फैलिएको छ । प्रदेशमा करिब ६ सय एचआईभी संक्रमित रहेको सरकारी दाबी छ । पाँच जिल्लामा रहेका ५ सय ९१ जना एचआइभी संक्रमित अहिले नियमित उपचारमा छन् ।

केही वर्षयता कर्णालीमा एचआईभी संक्रमितहरूको संख्या बढ्दै गएको हो । कर्णाली प्रदेशका सबैभन्दा धेरै एचआइभी संक्रमितहरू सुर्खेतमा छन् भने अन्य पाँच वटा जिल्लामा भने एचआईभी संक्रमित शून्य देखिन्छ ।

सुर्खेतमा २ सय ९५ एचआईभी संक्रमित देखिँदा दैलेखमा १ सय ९२, रुकुम पश्चिममा ४८, कालिकोटमा ३७ र सल्यानमा १९ जना संक्रमित छन् । संक्रमित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको बताइन्छ ।

एचआईभी संक्रमितहरू नखुल्ने भएकाले संख्या यो भन्दा बढी हुन सक्ने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कृष्ठरोग अधिकृत पदम केसीले जानकारी दिनुभएको छ । अहिले पनि संक्रमितहरू समाजमा अपहेलित हुने डरले नखुल्ने गरेकाले संक्रमण भित्रभित्रै फैलिएको उहाँले बताउनुभयो ।

यसैबीच एचआईभी संक्रमितहरूले कोरोना माहामारीको समयमा थप समस्या झेल्नु परेको गुनासो गरेका छन् । किड्स नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको आप्रवासी तथा उनीहरूका दम्पत्ति केन्द्रित एचआईभी कार्यक्रमका सहभागीहरूले गुनासो गरेका हुन् ।

सहभागीहरूले एचआईभी संक्रमण सामान्य समस्या रहेको भन्ने स्थानीयको चेतनाको अभावका कारण आफूहरूलाई समस्या परेको उल्लेख गरेका छन् । उनीहरूले कोरोना महामारीमा निकै कष्टकर दिन बिताउनुपरेको भन्दै राज्यपक्षबाटै अपहेलित हुनुपर्ने अवस्था आएको समेत जानकारी गराए ।

कार्यक्रममा नवकिरण प्लसका संयोजक देवेन्द्र पाठकले कर्णालीको भौगोलिक विकटताले सबै क्षेत्रका संक्रमितलाई औषधि उपचार पुर्याउन निकै समस्या भएको वास्तविकता पनि जानकारी गराए ।

संयोजक पाठकले अहिले पनि एचआईभी परीक्षणको प्रयोगशाला प्रभावकारी नहुँदा परीक्षणको निम्ति बाहिर पठाउनुपर्ने बाध्यता रहेकोतर्फ सरकारी निकायको ध्यानाकर्षण गराएका छन् । ‘संक्रमितहरू समाजको डरले खुल्न नमान्दा एचआईभी संक्रमितको संख्या यकिन गर्न कठिनाई हुने गरेको छ,’ पाठकले भने ।

यसैबीच कर्णालीमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला केही समयमै सञ्चालनमा आउने बताइएको छ । कार्यालयका निमित्त प्रमुख ओम आचार्यले प्रयोगशाला सञ्चालनमा आएपछि सो क्षेत्रका नागरिकले परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने उल्लेख गरे । यसअघि प्रयोगशाला सञ्चालनमा नआउँदा एचआईभी भए नभएको यकिन गर्न बाहिर पठाउने गरिएकाले अब उक्त समस्या हट्ने प्रमुख आचार्यको दाबी छ ।

यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले एचआईभी संक्रमितको सेवा सुविधा र औषधिजन्य सामग्रीको कहिले पनि अपुग नहुने प्रतिबद्धता जनाएका छन् ।

टिप्पणीहरू