अहिले त कहाँ सुन्न पाइन्छ र यस्तो आख्यान ! « Jana Aastha News Online
Logo
९ जेष्ठ २०७९, सोमबार
|  Mon May 23 2022
Logo
९ जेष्ठ २०७९, सोमबार
|  Mon May 23 2022

अहिले त कहाँ सुन्न पाइन्छ र यस्तो आख्यान !

प्रकाशित मिति :  २७ माघ २०७३, बिहीबार ०८:५४


भारतको कन्नौज, कालाचुरी, दिल्ली, अजमेर, मालवा, बंगाल, गुजरात, मालखेड, मैसुरलगायत दर्जनौं क्षेत्रमा राजपुतले शासन चलाइसकेका थिए । राजपुत वास्तवमा राजपुत्रको अपभ्रंश हो । कालान्तरमा यिनीहरुलाई प्राचीन क्षेत्रीहरुको वंशज मान्न थालियो । राजपुत–राज्यमध्येको अजमेरमा चौहान जातिका राजपुतको शासन थियो । राजा विग्रहराज प्रसिद्ध कवि, संस्कृत भाषाका प्रेमी र आश्रयदाता थिए । उनले सन् ११५१ मा दिल्लीमाथि विजय प्राप्त गरे र त्यहाँका राजा अनंगपालकी छोरी कपुरदेवीको बिहे आफ्नो भाइ सोमेश्वरसँग गरिदिए । कपुरदेवीले सन् ११६३ मा गुजरातको पाटनपटनमा पुत्र जन्माइन् । सोमेश्वरले छोराको नामकरणको जिम्मा राजपुरोहितलाई दिए । पुरोहितले भाग्यफल हेरेर नाउँ राखिदिए– पृथ्वीराज । पछि कपुरदेवी अर्का एक छोरा (हरिराज) र छोरी पृथाको पनि आमा बनिन् ।

सोमेश्वर पत्नी र छोराछोरीको साथमा अजमेर बस्न गए । त्यसबेला पृथ्वीराजको उमेर पाँच वर्ष थियो । त्यहींको सरस्वती कण्ठाभरण विद्यापीठमा उनको अध्ययन शुरु भयो । युद्धकला र शास्त्रविद्या सिके । राजकवि सोमदेवबाट राज्यमा प्रचलित ६ वटा भाषा संस्कृत, प्राकृत, मागधी, पैशाची, शौरसेनी र अपभ्रंश भाषा सिके । साथै मीमांशा, वेदान्त, गणित, पुराण, इतिहास, सैन्यविज्ञान र चिकित्साशास्त्रमा पारंगत बने । संगीत र चित्रकला, अश्व र गज नियन्त्रण, धनुर्विद्या तथा शब्दभेदी वाण चलाउन जाने । यसबीच सन् ११७८ मा सोमेश्वरको निधन भयो । १५ वर्षीय पृथ्वीराज गद्दीमा बसे । राजमाता कपुरदेवी छोराको संरक्षिका बनी शासन चलाउन थालिन् । त्यसबेलासम्ममा पृथ्वीराजका पाँच रानी भइसकेका थिए । ११ वर्षकै उमेरमा पहिलो बिहे जम्मावती पडिहारी, १२ वर्षको उमेरमा पंवारी इच्छनी, १३ मा अजिया, १४ मा जालन्धरी र १५ मा गुजरीसँग गरेका थिए । राजा भइसकेपछि १६ वर्षको उमेरमा चन्द्रावती, १७ मा यादवी पद्मावती, १८ मा यादवी शशिब्रता र कछवाही, २० मा पुडिरानी, २१ मा हंसावती, २२ मा इन्द्रावतीसँग बिहे गरे ।

पृथ्वीराज अल्पवयश्क भएको फाइदा उठाउँदै सामन्तीहरुले ठाउँठाउँमा विद्रोह गरे । राजा विग्रहराजका छोरा नागार्जुन चौहानले छिमेकी तीन राज्यको सहयोग लिई विद्रोह गरे । विद्रोह दमन गरेपछि नागार्जुनलाई सहयोग गर्ने राज्यलाई पाठ सिकाउने भन्दै विजय अभियान चलाए । राजा हुँदा ७० हजार घोडचढी सैनिक थियो, राज्यविस्तार गर्ने क्रममा यसलाई बढाएर दुई लाख पु¥याए । हात्तीको संख्या पाँच सय पु¥याए । पैदल सैनिकको संख्या पनि ६ गुणा बढाए । राज्य विस्तार गरी राजस्थान, हरियाणा, मध्यप्रदेश र उत्तरप्रदेशको केही भागसम्म फैलाए । दिल्ली र अजमेर दुवैलाई राजधानी बनाए । त्यसबेला अफगानिस्तानमा मोहम्मद गोरीको शासन थियो ।

गोरी वंश तजाक (ताजकिस्तानका) थिए । इरान हुँदै अफगानिस्तानको गोरमाथि कब्जा जमाउँदासम्म बौद्ध धर्मावलम्बी थिए । पछि सुन्नी इस्लाम धर्मावलम्बी बने । यसै वंशका सुल्तान अलाउद्दिनले गजनीलाई ध्वस्त पारे । उनैका भतिजा गयासुद्दिनले गजनीमाथि नियन्त्रण जमाए र भाइ मोहम्मद गोरी उर्फ मुइजाद्दिनलाई शासक बनाएका थिए । गोरीले साम्राज्य विस्तार गरेर सम्पूर्ण अफगानिस्तान, पूर्वी इरान, वर्तमान पाकिस्तान, बंगलादेशसम्म पु¥याए । उत्तरी भारतमाथि आँखा गाडे । अनहलवाडामाथि आक्रमण गरेपछि राजपुतहरुबीच सनसनी फैलियो । पृथ्वीराजले गोरीलाई रोक्ने प्रण लिए । उनी गाईको मासु खाने मुसलमानलाई राज्य र धर्म फैलाउन दिन चाहँदैनथे ।

गोरीले गुजरातमा आक्रमण गर्न पृथ्वीराजसँग सहयोग मागे तर सहयोग नपाएपछि नराम्रोसित पराजित बने । युद्ध हारेको दोष पृथ्वीराजलाई दिए । दुवै परम शत्रु बनेपछि गोरीले १६ पटक आक्रमण गरे र पराजित बने । हरेकपटक पृथ्वीराजले गोरीलाई बन्दी बनाउँदै छाड्ने गरे । गोरीजस्ता शक्तिशाली राजालाई पटकपटक हराउन सफल भएपछि पृथ्वीराजको महŒवाकांक्षा बढ्यो । राजस्थानको स–साना राज्य र बुँदेलखण्ड जितेपछि गुजरातमाथि आक्रमण गरे । गोरीलाई पराजित गर्न सफल भीम (द्वितीय) ले पृथ्वीराजलाई पनि हराए । त्यसबेला कन्नोजमा जयचन्द्रको शासन थियो । उनी राठौर जातिका राजपुत थिए । पृथ्वीराजको राज्यविस्तारबाट असन्तुष्ट थिए । इष्र्या गर्थे । पृथ्वीराजको वीरताको गाथा जयचन्द्रकी छोरी संयोगिताले जहिले सुनिन्, त्यसैबेलादेखि प्रेम गर्न थालिन् । त्यसो त जयचन्द्रका अरु छोरीहरु शशीभ्रता र पद्मावतीले पनि पृथ्वीराजलाई प्रेम गर्न थालेका थिए तर तिनीहरुमध्ये संयोगिता बिछट्ट राम्री थिइन् ।

एकदिन चित्रकार पन्नाराय दिल्लीबाट कन्नोज पुगे । उनीसित दिल्लीका विभिन्न तस्बिर र पृथ्वीराजका पनि फोटा थिए । साथीहरुले यो कुराको जानकारी दिएपछि संयोगिता पन्नारायसित मिल्न हतारिइन् । तर पन्नारायले दिल्लीका अन्य फोटोहरु पनि देखाइरहेपछि संयोगिता आफैंले पृथ्वीराजको फोटो देखाउन आग्रह गरिन् । पन्नारायले पृथ्वीराजको जुन चित्र देखाए, त्यो देखेपछि मोहित भइन् । आग्रह गरेर फोटो आफैंले राखिन् । पन्नारायले उनको पनि चित्र उतारे र दिल्ली फर्केर पृथ्वीराजलाई देखाए ।

पृथ्वीराज पनि दंग परे । संयोगिताले प्रेमिल शब्दहरु उतारेर एकपछि अर्को पत्र पठाउन थालेपछि पृथ्वीराज संयोगितालाई भेट्न आतुर बने तर जयचन्द्र प्रेमी–प्रेमिकाबीच पर्खाल बनेर उभिए । छोरीलाई पाठ सिकाउने र पृथ्वीराजलाई अपमानित गर्ने हेतुले सन् ११८५ मा स्वयंवर उत्सव आयोजना गरे । छिमेकी राज्यका सबै राजकुमारलाई आमन्त्रण गरे, पृथ्वीराज बाहेक । हेप्ने मनशायले द्वारपालको रुपमा पृथ्वीराजको मूर्ति ढोकानिर ठड्याए । पृथ्वीराजले पनि कार्यक्रमको जानकारी पाइसकेका थिए । स्वयंवरको दिन संयोगिता हातमा फूलको माला लिएर लाइन लागेका राजकुमारहरुलाई हेर्दै अघि बढिन् । पृथ्वीराजलाई नदेखेर निराश बनिन् । अन्त्यमा ढोकानिर पृथ्वीराजको मूर्ति देखिन् र त्यसमै बरमाला लगाइदिइन् । यो देखेर सभाकक्षमा होहल्ला मच्चियो । जयचन्द्र क्रोधित बने । छोरीलाई मार्छु भन्दै तरबार लिएर अघि बढे । तर, ठीक त्यसैबेला मूर्तिपछाडि लुकेर बसेका पृथ्वीराज प्रकट भए । संयोगितालाई तानेर बाहिरिए । घोडा चढेर दिल्लीतर्फ भागे ।

क्रोधित जयचन्द्रले पृथ्वीराजलाई परास्त गर्न गोरीसँग मित्रता गाँसे । गोरीले आक्रमण थालेपछि पृथ्वीराजले कन्नोजसँग सहायता मागे तर जयचन्द्र मद्दत गर्न तयार भएनन् । यसका बाबजुद पृथ्वीराजले गोरीलाई पटक–पटक परास्त गरे । गोरीलाई जीवनदान दिए ।

त्यसबेलासम्ममा (सन् ११९०) गोरीले सम्पूर्ण पञ्जाबलाई नियन्त्रणमा पारिसकेका थिए र भटिण्डाबाट राजकाज चलाउँदै थिए । पृथ्वीराजले सेना अघि बढाएपछि तराइनमा युद्ध भयो । गोरीतर्फ ठूलो नोक्सानी भयो । उनी आफैं सख्त घाइते भए । पृथ्वीराजले सात करोड बराबरको धनसम्पत्ति लुटेर सैनिकलाई बाँडिदिए । जयचन्द्र यसबाट झन् तिर्मिराए । पृथ्वीराजसँग बदला लिन गोरीलाई सैन्य सहायता दिए । जयचन्द्रको सहयोगले गोरीको सैन्य क्षमता दोब्बर बढ्यो । सन् ११९२ मा तराइनमा दोस्रो युद्ध भयो । जयचन्द्रको गद्दारीका कारण पृथ्वीराज पराजित भए । उनलाई गोरीले बन्दी बनाए । पृथ्वीराजको पराजयबाट दिल्ली, अजमेर, पञ्जाब सबै गोरीको अधिनमा गयो । दुई वर्षपछि गोरीले कन्नोज पनि जिते । जयचन्द्र मारिए । भारतमा इस्लामिक शासन स्थापना गरी कुतुबुद्दिन ऐवकलाई गभर्नर नियुक्त गरे । पृथ्वीराजलाई लिएर अफगानिस्तान प्रस्थान गरे ।

गोरीले पनि संयोगिताको सुन्दरताको बखान सुनेका थिए । पृथ्वीराजलाई बन्दीगृहमा कोचेपछि उनलाई आफ्नो रानी बनाउन लालायित बने । संयोगितालाई जीवितै पक्रेर अफगानिस्तान ल्याउन कुतुबुद्दिनलाई आदेश दिए । लालकिल्लाभित्र दिल्ली दरबारमा बसिरहेका संयोगिता र नन्द पृथाले आ–आफ्ना लोग्नेले युद्धमा वीरगति प्राप्त गरेको सूचना पाए । लालकिल्ला त्यसबेला लालकोटको नाउँले प्रसिद्ध थियो । इस्लामिक आक्रमणकारीहरू कुनै पनि बेला लालकोट प्रवेश गर्नसक्ने र तिनीहरुबाट हुनसक्ने बलात्कारलगायत दानवीय कुकृत्यलाई सम्झेर संयोगिताहरु आतंकित बने । शत्रुको हातमा पर्नु, उनीहरुद्वारा शीलभंग गराउनु र यौनदासी बन्नुभन्दा मर्नु जाती ठाने ।

दरबारका रानी तथा अन्य स्त्री र सैनिक अधिकृतहरुका श्रीमती सामुहिक आत्महत्या ‘जौहर’ गर्ने निर्णयमा पुगे । संयोगिताले ‘जौहर’ को तयारीका लागि आदेश दिइन् । र, संयोगिता, पृथालगायत त्यहाँभित्र रहेका सम्पूर्ण स्त्रीले आगोमा हामफालेर ज्यान दिए । उता, कुतुबुद्दिन लालकोटलाई घेर्न पुगे । किल्लाको चारैतर्फ ठूलो खाल्डो दखेर रोकिए । खाल्डोमा पानी भएकाले नाघ्न अप्ठेरो भयो । कुतुबुद्दिनले पक्राउ गरेका सबै नागरिकलाई मारेर खाल्डो पुर्न आदेश दिए । नागरिक मुलाझंै काटिए । नागरिकको लाशबाट खाल्डो पुरिएपछि तिनैमा टेकेर हात्ती (गजसेना) अघि बढ्यो । हात्ती पनि रक्ताम्य बने तर किल्लाको ढोका फोर्न सकेनन् । केही सैनिकले पर्खाल चढेर भित्र जान कोशिश गरे तर किल्लाभित्र रहेका पृथ्वीराजका सेनाले बाण चलाएर मारे । अन्त्यमा जयचन्द्रका छोरा धीरचन्द्रलाई ढोकामा उभिन लगाइयो । हात्तीले उनको शरीरमा हान्यो । धीरचन्द्रको शरीर ढोकामै टाँसियो र ढोका लड्यो । सैनिक भित्र पसेर संयोगिता र पृथालाई खोज्न थाले तर त्यतिञ्जेलसम्म सबै खरानी बनिसकेका थिए । यद्यपि कतिपयले संयोगितालाई गोरीले पछि ‘मल्लिका’ बनाएको, पृथ्वीराजकै अगाडि दुईपटक बलात्कार गरेको उल्लेख गरेका छन् तर धेरै इतिहासकारहरु संयोगिताले ‘जौहर’ गरेको विश्वास गर्छन् ।

उता अफगानिस्तानको गजनीमा बन्दी बनाइएका पृथ्वीराजलाई एकदिन गोरीको अगाडि प्रस्तुत गराइयो । पृथ्वीराजले गोरीलाई काँचै खाइदिउँला जत्तिकै आँखा तरेर हेरे । गोरीले दृष्टि झुकाउन भने तर पृथ्वीराजले आफूलाई राजबन्दीको रुपमा व्यवहार गर्न भन्दै कराए, ‘राजपुतहरु मरेपछि मात्र परेला झुकाउँछन् ।’ जवाफ सुनेर गोरी क्रोधित बने र फलामको रड तताएर पृथ्वीराजको आँखा डढाइदिन आदेश दिए । अन्धा बनाइसकेपछि पृथ्वीराजलाई पटकपटक दरबारमा उपस्थित गराइन्थ्यो । अपमानित र शारीरिक यातना दिइन्थ्यो । यसबीच तराइनको युद्धमा पृथ्वीराजसँगै पक्राउ परेका कवि चाँद बार्डाइलाई पनि एउटै कोठामा राख्न ल्याए । पृथ्वीराजले दिनहुँ आफूलाई अपमानित गर्ने गोरीसँग बदला लिन चाहेको बताए । एकदिन गोरीले दरबारको चोकमा वाण चलाउने खेल आयोजना गरे । बार्डाइले प्रतियोगितामा पृथ्वीराज पनि भाग लिन इच्छुक रहेको बताए । अन्धा पृथ्वीराजले कसरी बाण चलाउँछन् भनेर गोरीले खिल्ली उडाए र पनि सहभागी गराउन राजी भए ।

प्रतियोगितामा जब पृथ्वीराजको पालो आयो, उनले वाण चलाउने आदेश आफूलाई सुल्तान गोरी स्वयंले दिनुपर्ने अडान राखे । गोरीले शंका गरी यस्तो किन भनी सोध्दा आफूले अरुको आदेश पालना नगर्ने बताए । आवाज आएको भरमै वाण चलाउन सिपालू पृथ्वीराजले गोरी कहाँनिर बसेका छन्, भेउ पाउन सकेनन् तर बार्डाइले कविता पाठ गरेजस्तै गरेर भन्न थाले, ‘चार वाणस्, चौविस गज, अंगुल आस्ता प्रमाण, ता उपर सुल्तान है, अब मत चुको चौहान !’ (अर्थात् चौबिस गज पर सुल्तान बसेका छन्, निशाना नचुकाउ चौहान) । गोरीले वाण हान्ने आदेश दिनेबित्तिकै फनक्क फर्केर पृथ्वीराजले आदेश आएको दिशामा निशाना साँधी बाण प्रहार गरे । गोरी तत्काल मारिए । लगत्तै गोरीका सैनिकहरुले केही गरुन्, यसअघि नै बार्डाइले पृथ्वीराजलाई र पृथ्वीराजले बार्डाइलाई मारे । हुन त पृथ्वीराजको यो अन्त्यलाई नपत्याउने इतिहासकारहरु धेरै छन् । उनीहरु अफगानिस्तानमा लगेर बन्दी बनाइएलगत्तै गोरीको आदेशमा उनलाई मारिएको दाबी गर्छन् ।

गोरीको मृत्यु भएपछि कुतुबुद्दिन ऐवक आफैं भारतको शासक बने । उनी दास थिए । उनीपछि आराम सुल्तान, इल्तुतमिश र त्यसपछि रजिया सुल्तानाले दिल्लीको सिंहासन सम्हालिन् ।


प्रतिक्रिया दिनुहोस !