के हो सामाजिक अभियन्ता, कसरी हुन्छ कमाइ ?

के हो सामाजिक अभियन्ता, कसरी हुन्छ कमाइ ?

– साहस न्यौपाने

नेपालमा सामाजिक अभियन्ता बन्ने होडबाजी छ । सामान्यतया : समाजको अगुवा वा समाजमा असल काम गरेर सकारात्मक सन्देश प्रवाह गर्ने मान्छेको रूपमा सामाजिक अभियन्ता परिभाषित छ । तर, वर्षाको च्याउसरी उम्रिएका त्यस्ताको कारण समाजमा झन असामाजिक क्रियाकलाप बढेको मात्र छैन नकारात्मक चेतनाको बिजारोपणसमेत भएको छ ।

सामाजिक अभियन्ता बन्नु आफैँमा कठिन काम हो । यो अन्तर्मनको आदेश हो, जवरजस्त गरिने कर्म होइन । समाजमा पपुलर बन्नका लागि गरिने देखासिकी अभियन्ताको परिभाषाभन्दा निकै परको विषय हो । सच्चा अभियन्ताले आफ्ना निजी इच्छा, चाहना र आकांक्षालाई प्राथमिकताबाट निकालेर अरूको सेवामा समर्पित हुने प्रण गरेको हुन्छ । त्यसैले आफ्नो असल कर्मद्वारा समाजको उत्प्रेरणा बनेर नागरिकलाई सकारात्मक सन्देश प्रवाह गर्नु साँच्चैको अभियन्ता बन्नु हो ।

तर, अहिले नेपाली समाजमा अभियन्ताको परिभाषा नै बदलिएको छ । निस्वार्थ भावले असल कर्म गरेर समाजको उत्प्रेरक बन्नु अभियन्ता होइन । अचेल सामाजिक अभियन्ता बन्न सजिलो छ । सडकमा उभिएर आफूलाई मन नपरेको मान्छेलाई गाली गर्न सके अभियन्ता बनिन्छ । अभियन्ता कमाइको माध्यम हो र समाजमा हिरोइज्म प्रस्तुत गर्ने सुनौलो मौका पनि हो । उग्र कुरा गरेर केही हजार समर्थक बटुल्न सके अभियन्ताका रूपमा स्थापित हुन सकिन्छ ।

त्यसो त, समाजमा राम्रो काम गरेर साँच्चैको सामाजिक अभियन्ता बनेकाहरू पनि प्रशस्तै छन् । उनीहरू सबैप्रति उच्च सम्मान नै छ । तर, अधिकांश भने चर्चामा आउनका लागि अभियन्ताको बर्को लगाएर दौडिएका छन् । हाम्रोजस्तो निम्नपुँजीवादी चेतना भएको समाजमा त्यस्ता उग्र भाषणले क्षणिक वाहवाही त पाइएला तर अन्तत : त्यसले समाजलाई नराम्रोसँग बिथोल्ने खतरा हुन्छ । त्यसैले सच्चा अभियन्ताले गरेका असल कर्मलाई नै छायामा पार्ने गरी मौलाएका कथित अभियन्ताका कारण अहिले सबै अभियन्तामाथि प्रश्न उठिरहेको छ ।

अरूलाई नैतिकता र सदाचारको प्रश्न उठाउने त्यस्ता अभियन्ता आफैँ चैं कति पानीमाथिको ओभानो छन् त ? उनीहरू यति धेरै विवादित छन् कि, विवादित नभएसम्म अभियन्ता नै बन्न मिल्दैन जस्तो मानक स्थापित भैसकेको छ । कथित अभियन्ताहरूमाथि अहिले उठेको सबैभन्दा ठूलो प्रश्न हो– आर्थिक पारदर्शिता । दैनिक १२ घण्टा काम गर्दासमेत दुर्ई छाक टार्न धौधौ हुने हाम्रो समाजमा उनीहरूले अपनाएको उच्च जीवनशैली कसरी सम्भव छ ? रोजी–रोजी निजी गाडी चढ्न, ठुल्ठूला अभियान चलाउन, राहत र सहयोगका नाममा देश दौडाह गर्न, हेलिकप्टर चढेर पूर्व–पश्चिम पुग्न आवश्यक आर्थिक स्रोत कसरी जुटेको छ ? आम्दानीको स्रोत के हो ?

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने अधिकांशले नियमित कमाइ हुने कुनै पेशा वा व्यवसाय गरेको देखिँदैन । सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलाले त आफ्नो बैंक खाता र श्रीसम्पत्तिसमेत नभएको बताएकी छन् । राष्ट्रसेवक कर्मचारीलाई ड्युटीमा रहेका बेला गालीगलौज गरेको अभियोगमा मुद्दा खेपिरहेकी उनले अदालतमै यस्तो बयान दिएकी हुन् । बयानमा उनले आफूसँग कुनै पैतृक सम्पत्ति नभएको र आफ्नो नाममा हक लाग्ने चल–अचल सम्पत्ति नभएको बताएकी छन् ।

ज्वालालाई लिखतसम्बन्धी कसुर, अभद्र व्यवहार र जातीय तथा सामाजिक भेदभावको अभियोगमा मुद्दा लागेको थियो । जिल्ला अदालत काठमाडौँले अस्ति असार २९ गते तारेखमा छोडेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको छ । उनले इजलासमै आफू सामाजिक अभियन्ता भएको दाबी गरेकी थिइन् ।

अर्का अभियन्ता भनिने ज्ञानेन्द्र शाहीले पनि आफूसँग कुनै निजी सम्पत्ति नभएको दाबी गर्ने गरेका छन् । शाहीको हाइफाई जीवनशैलीप्रति धेरैले प्रश्न उठाइरहेका छन् । केही समयअघि एक अन्तर्वार्तामा शाहीले आफ्नो नाममा कत्ति पनि सम्पत्ति नभएको र साथी तथा परिवारको सहयोगले काठमाडौँमा बाँचिरहेको दाबी गरेका थिए ।

सामाजिक अभियन्ता भनिएकाहरू यति विवादित छन् कि केही समयपहिले शाही सुर्खेतमा स्थानीयबाट कुटिएका थिए । मध्यराति मादक पदार्थ सेवन गरेर होहल्ला गरेको भन्दै स्थानीयले शाहीको टोलीमाथि आक्रमण गरेको थियो । यद्यपि शाहीले मादक पदार्थ सेवनको आरोप अस्वीकार गरेका छन् । शाहीले गलत गरेका थिए वा थिएनन् फरक विषय भयो, तर आफूलाई समाजको अगुवा दाबी गर्नेहरू आफैँ बारम्बार मुद्दा, मामिला र प्रहरी हिरासतमा पुगेपछि त्यसले दिने सन्देश के होला ?

अर्का अभियन्ता भनिएका सञ्चारकर्मी रवि लामिछाने पनि विवादरहित छैनन् । पत्रकारिताको मूल्य, मान्यता र आदर्शविपरित टेलिभिजनमा उग्र अभिव्यक्ति दिने गरेको उनीमाथि आरोप लाग्ने गरेको छ । आफ्नै सहकर्मीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उनले मुद्दा मामिला पनि व्यहोर्नुपरेको थियो ।

पुण्य गौतम, हेमराज थापाहरूले पनि आफूलाई अभियन्ता नै भन्ने गरेका छन् । युट्युबमा उग्र कुरा गरेर चर्चामा आएका उनीहरू झगडा, कुटपिटका घटनामा बारम्बार जोडिएका हुन्छन् ।

अब प्रश्न उठ्छ, जो आफूलाई समाजको रोल मोडल दाबी गर्छ, ऊ आफैं यसरी विवादित हुँदा समाजले के सिक्ला ? राजनीतिक दलका नेतालाई आर्थिक पारदर्शिता र सदाचारको पाठ सिकाउने उनीहरू आफैं चैं पारदर्शी हुनु पर्छ कि पर्दैन ? कि कथित अभियन्ताको ट्याग लागेपछि जे पनि गर्न छुट हुन्छ भन्ने दाबी हो ? अर्को कुरा अरूबाट मागेर कहिलेसम्म अभियन्ताको जिन्दगी चल्छ ? के सामाजिक अभियन्तालाई कमाई खाने भाँडो र लाभदायक व्यवसाय बनाउन खोजेको हो ?

टिप्पणीहरू