हिसाब चुक्ता गर्नुपर्ने छ

  • प्रदीप ज्ञवाली, एमाले सचिव

एमालेमा केपी ओलीको कुरा बोल्ने खास मान्छेको रुपमा प्रदीप ज्ञवाली चर्चित छन् । ओलीले पार्टी अध्यक्षको रुपमा सफल हुनका लागि उनलाई केन्द्रीय सचिवालयकै सचिवको जिम्मेवारी दिएका छन् । उनको प्रयोजनचाहिँ विभिन्न राजनीतिक वार्ता, संवादहरुमा अध्यक्षको विश्वासिलो भएर उनकै कुरा आधिकारिक रुपमा बोल्ने हो । अहिलेको राजनीतिक परिदृश्यसँग ज्ञवाली प्रत्यक्ष जोडिएका छन् । सत्तारुढ गठबन्धनसँग भएका प्रत्येक संवादका साक्षी र सहभागी हुन् ।

० एकाएक आइतबारदेखि कांग्रेस पनि संविधान संशोधनपछि मात्र चुनावमा जाने मधेसी मोर्चाको लाइनमा मिसिएको छ । कसरी हेर्नुहुन्छ ?

– हामीले सरकार परिवर्तन हुँदैदेखि यस कुराका गम्भीर दूरगामी असर देखापर्ने छन् भन्दै आएका थियौँ । चुनाव नगरेर प्राप्त उपलब्धीलाई उल्ट्याउने, राजनीतिक रिक्तता, शून्यतातिर धकेल्ने यो सरकारको पहिलादेखिकै मध्ये हो । नेपालको राष्ट्रिय राजनीतिक नेतृत्वले आफ्नो खुट्टामा उभिएर बनाएको संविधान कार्यान्वयन हुन नदिने, संविधान बनाएबापत दण्डित गर्ने मनशायले प्रेरित घटनाक्रमको निरन्तरता भनेर बुझेका थियौँ । आजका घटनाक्रमहरु त्यही दिशातिर अगाडि बढ्दैछन् । यसबीचमा प्रधानमन्त्रीको बोली हदभन्दा बढी गिरेर पिपलपाते हुन पुगेको छ । एमालेलगायतका दलसँग कुरा गर्दा निर्वाचनको मिति ‘आजै घोषणा गर्छु, भोलि नै गरिहाल्छु’ भन्ने । तर, केही घण्टाको अन्तरालमा मधेसी मोर्चासँग गएर संविधान संशोधनबेगर कुनै पनि हालतमा गर्दिनँ भन्ने । यो स्थितिले वर्तमान सत्तागठबन्धन संविधान असफल बनाउने खेलमा लागिरहेको प्रष्ट देखिन्छ ।

० कांग्रेस ‘युटर्न’ भएकोलाई स्वाभाविक मान्ने कि अस्वाभाविक ?

– प्रधानमन्त्री हुनुका नाताले प्रचण्डका अभिव्यक्तिहरुबाट बाहिर देखिँदा निर्वाचन गराउन नचाहेका हुन् कि भन्ने भ्रम परिरहेको थियो । तर, यो गठबन्धनको मुख्य संयोजनकर्ता नै कांग्रेस हो । निश्चय नै कांग्रेसभित्र केही भिन्न स्वर छन् । तर, त्यो कमजोर, व्यक्तिगत तहको र असंगठित छ, नेतृत्व तहलाई गलत निर्णय गर्नबाट रोक्न अपर्याप्त छ । त्यसमाथि निरन्तर वाह्य दबाब पनि छँदैछ । सम्भवतः यो हप्ता दुई–तीनचोटि कांग्रेस नेताहरुको अभिव्यक्ति परिवर्तन हुनुमा वाह्य दबाबको पनि प्रभाव होला ।

० संविधान संशोधन प्रस्ताव पेश हुँदा पनि त्यो असफल हुनसक्छ भन्ने कुरा कांग्रेसले पनि नबुझेको हो कि ?

– प्रधानमन्त्री र देउवाले संसदभित्रको स्थिति बुझ्नुभएको छैन, भन्दिनँ । उहाँहरुकै पार्टीभित्र संविधान संशोधनविरुद्ध थुप्रै सांसद हुनुहुन्छ, कोही खुलेर, कोही नखुलिकनै । यहाँसम्म कि पछिल्लो समय राप्रपाले समेत आफ्नो अडानलाई स्पष्ट पार्दै आएको अवस्था छ । अर्थात्, राजनीतिक, प्राविधिक र गणितीय कुनै पनि हिसाबले संविधान संशोधन हुनसक्ने सम्भावना एक प्रतिशत पनि छैन । यो जान्दाजान्दै संशोधनको जिद्धि गरिरहनुको उद्देश्य भनेको जहाँ बाचा–कबोल गरिएको छ, त्यसप्रतिको बफादारिता वा चाटुकारिता देखाउनु हो । दोस्रो कुरा, मुलुकमा सचेतन तवरले दलहरुबीच राजनीतिक ध्रुवीकरण निम्त्याउने, तिक्ततालाई बढाउने उद्देश्य हो । तेस्रो कुरा, हामी संशोधनको प्रयत्नमा थियौँ भनेर मधेसकेन्द्रित दलहरुको समर्थन लिने काम हो । पारित नहुने संशोधन प्रस्ताव पेश गर्ने जिद्दि गरिरहनु भनेको मुलुकमा द्वन्द्व निम्त्याउन खोज्नुबाहेक अरु केही हुनसक्दैन । निर्वाचनका निम्ति खर्चिनुपर्ने मूल्यवान समय पल–पलमा खेर गइरहेको छ । हुँदाहुँदा जेठमा निर्वाचन हुने स्थिति पनि टरेको छ । अब चुनावका लागि एउटामात्र स्लट वा सिजन बाँकी छ, कात्तिकमा । त्यो समयलाई पनि अप्ठेरोमा पार्ने र रिक्तताभित्र खेल्ने दूराशय यसभित्र लुकेको देखिन्छ ।

० यत्तिको कुरा बुझिसकेपछि एमालेको विरोध किन अल्छीलाग्दो भएको ?

– हामी शान्तिपूर्ण आन्दोलनबाटै दबाबको पक्षमा छौँ । सत्ता गठबन्धन फेरिनका निम्ति सत्तारुद्ध दलबीच तिक्तता, सम्बन्धबिच्छेदको स्थिति हुनुपर्छ । हामी त्यसप्रति रत्तिभर रुचि राख्दैनौँ । निर्वाचनकै पक्षमा छौँ । निर्वाचनको माध्यमबाट बितेका कुराहरुको हिसाब–किताब चुक्ता गर्न चाहन्छौँ । हामीलाई राष्ट्रियताको अडानमा उभिएबापत, गरिवको पक्षमा बजेट ल्याएबापत साँचिएको प्रतिशोधको हिसाब बहुमत प्राप्त गरेर चुक्ता गर्ने पक्षमा छौँ । सत्तारुढहरुको गठबन्धनभित्र खेलेर जाने कुनै उद्देश्य छैन । वर्तमान सरकार इतिहासको भयानक कठघरामा उभिएको छ । थाहा छैन, पुष्पकमल दाहालजी के सोच्नुहुन्छ ? ६ महिनाअघि केपी ओलीका विरुद्ध अविश्वास प्रस्तावको अगुवाई गरेर जथाभावी आक्षेप लगाइएका ती भिडियो क्लिप्सहरु हेरिरहँदा मनमा ग्लानी हुन्छ कि हुँदैन ? तर, इतिहासको यो कालखण्डमा संविधानलाई कार्यान्वयन नगरेर, त्यसलाई असफल बनाउने कुराको एउटा कारक जसरी बन्नुभएको छ, यो गल्तीको सजायँ उहाँलाई जनताले निर्वाचनबाट दिन्छन् । निर्वाचन नगर्ने उहाँहरुका जे–जति प्रपञ्च छन्, त्यो सफल हुँदैन । निर्वाचन स्वभाविक ढंगले भए हुन्छ, नभए दबाबमार्फत गराइन्छ । अनिर्वाचित सत्ता चलाउने ज्ञानेन्द्रको सपना जसरी हिजो असफल भएको थियो,  दोस्रो संविधानसभा विघटन गर्दा माओवादीमा ४० वर्ष शासन चलाउने जुन दिग्भ्रम थिए, अहिलेको भ्रम पनि त्यसरी नै निवारण हुँदै जानेछन् ।

० एमाले महेन्द्रीय राष्ट्रवादको पक्षमा किन ?

– नेपालमा राष्ट्रियताको पक्षपोषण गर्दा योजनाबद्ध ढंगले आक्रमण गर्न खोजिएको छ । कतिपय मिडिया, बुद्धिजीवी र विश्लेषक भनिनेहरुकै योजनाबद्ध, संगठित प्रयत्न देखिन्छ । एमालेको त जम्माजम्मी तीनवटा कुरा हो ।

पहिलो हो– देश सानो होला, अर्थतन्त्र सानो होला, आर्थिक विकासमा पछाडि हौँला । तर, हाम्रो सार्वभौमसत्ता अरु कुनै देशको जत्तिकै समान छ । संयुक्त राष्ट्रसंघमा आबद्ध १९६ देशमध्ये नेपाल उत्तिकै सार्वभौम हो । आफ्नो मुद्दाको छिनोफानो आफैँ गर्न पाउने हक नेपाली जनतालाई छ ।
दोस्रो हो– हामी हाम्रा छिमेकीहरुसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्न चाहन्छौँ । जस्तोखाले भूराजनीतिक अवस्थामा छौँ, हामीलाई एउटा छिमेकीको अडेस लागेर अर्कोलाई चिढ्याउने या लाग्ने छुट छैन । त्यसो गर्नु आत्मघाती हुन्छ ।

तेस्रो हो– राष्ट्रियताको मुख्य आधार जनताबीचको एकता हो । बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसाँस्कृतिक रुपमा बाँधिएको यो राष्ट्रलाई योजनाबद्ध ढंगले बिथोल्न खोजिँदैछ । माओवादीले रोपेको जातीयताको बिऊले प्रत्येक जात जातको राज्य, अर्थात् देश जातिहरुको महासंघ बनाउने प्रचलन उसले भिœयायो । आज मधेसी दलहरु त्यही गर्दैछन् । नेपाल एक राष्ट्रिय राज्य होइन, बहुराष्ट्रिय राज्य हो, तराई र मधेस बिल्कुल अलग अलग इकाई हो भन्ने गलत सोच छ । मधेसीले किन दुःख पाए ? पहाडियाका कारणले । जनजातिले किन दुःख पाए ?

खस–ब्राह्मणका कारणले । यस्तोखाले गलत बहसमा मुलुकलाई अल्मल्याउने काम भइरहेको छ । समस्या छ सामन्तवादमा । जसलाई हामीले अन्त्य गरेका छौँ र संविधानबाट समानताको स्थिति सिर्जना गरेका छौँ । ठीक यही विषयमा प्रहार गर्ने कोसिस भएको छ । र, नेपालको राष्ट्रियतामाथि भित्री र बाहिरी दुबै हिसाबले आक्रमण भइरहेको छ । आफ्नो संविधान आफैँ बनाउन पाउँदैन, कमजोर भएर सधैँभरि अरु देशको अधिनस्थ रहनुपर्छ भन्ने मानसिकताले राष्ट्रियतालाई कमजोर पार्ने प्रयास भएको छ । त्यसको विरुद्ध उभिने कुरालाई तथाकथित ‘महेन्द्रीय राष्ट्रवाद’ का बकवासमार्फत दिग्भ्रमित गर्ने कोसिस भइरहेको छ । तर, पछिल्लो समय एमालेले तराई–मधेसकेन्द्रित कार्यक्रमबाट ती भ्रम चिर्ने काम गरेको छ । यदि अझै प्रष्ट हुनुछ भने फागुन २१ गतेबाट शुरु हुने मेची–महाकाली राष्ट्रिय अभियानले प्रष्ट पार्ने छ । नसुन्ने कानहरुलाई त्यो अभियानले तरंगित पार्ने छ ।

० अहिलेको गतिरोध हटाउने सन्दर्भमा सत्तारुढ गठबन्धनले हिजोआज एमालेलाई कत्तिको खोजी गर्दैछ ?

– कहिले बालुवाटारमा, कहिले सिंहदरबारतिर कर्मकाण्डहरु रचिन्छन् । कहिलेकाँही कांग्रेसले पनि कर्मकाण्डमा निम्त्याउँछ । मीठा–चिप्ला कुरा गर्ने मात्रै हो । हामीसँग हाम्रै अनुकूलको कुरा, अर्कोसँग अरुकै अनुकूलका गरेर उहाँहरु समय गुजार्दै हुनुहुन्छ । हामीसँग जे भनिएको छ, व्यवहार ठीक उल्टो छ ।

० कांग्रेसले के भनेको थियो ?

– कांग्रेसले केही दिनअघि मात्र भनेको थियो कि, निर्वाचनको मिति घोषणा गरौँ । निर्वाचन गर्ने सन्दर्भमा केही अल्झो भए त्यसलाई फुकाएर जाऔँ । तर, अहिले संविधान संशोधनको नाममा समय बर्बाद गर्ने काम नगरौँ । तर, आइतबारको घटनाले उसको मार्गचित्र छर्लङ्ग पारिसकेको छ । उहाँहरुले मधेसी दललाई आँखामा छारो हाल्नुभएको हो कि, प्रतिपक्षीसँग चिटिङ गर्नुभएको हो ? त्यो उहाँहरुले भन्नुपर्छ ।

टिप्पणीहरू