प्रदेश प्रमुख पुग्नासाथ मन्त्रीहरु पदमुक्त

प्रदेश प्रमुख पुग्नासाथ मन्त्रीहरु पदमुक्त

लुम्बिनीका नयाँ प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गरेकै दिन जसपाका तीन सांसद निलम्बनको पत्र सभामुखको टेबलमा पुगेको छ । सोहिबमोजिम जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त भएका छन् । पार्टी निर्णयविपरित एमाले नेतृत्वको सरकारमा सहभागी भएका सांसदहरु सन्तोषकुमार पाण्डेय,विजयबहादुर यादव र कल्पना पाण्डेय आज पदमुक्त भएका हुन् ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले आज जारी गरेको सूचनाअनुसार जसपा केन्द्रीय कार्यकारिणी समिति र लुम्बिनी प्रदेश संसदीय दलले गरेको कारवाहीको निर्णयसम्बन्धी पत्र प्राप्त भएकाले त्यसैका आधारमा उनीहरु पदमुक्त भएका हुन् ।यसअघि जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको निर्णयका आधारमा १४ वैशाखमा पनि उनीहरु पदमुक्त भएका थिए । पार्टीले गरेको कारवाहीको निर्णय निर्णयविरुध्द उनीहरु सर्वोच्च अदालत पुगे । सर्वोच्चले ३ जेठमा उनीहरुलाई पुनर्बहाली गरिदियो ।

सर्वोच्चबाट पद थमौती पाएका उनीहरुले त्यसपछि पनि दलको ह्वीप उल्लङ्घन गरेपछि जसपाले पुन: कारवाही गरेको हो । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै यादवको अध्यक्षतामा बसेको बैठकले सुमन शर्माबाहेकका तीन जना सांसदलाई कारवाही गर्ने निर्णय गर्दै प्रदेशसभालाई जानकारी गराएको हो ।

उनीहरुमाथि पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको र नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्देशन (ह्वीप) उल्लङ्घन गरेकाले कारवाही गरिएको जसपाले बताएको छ ।

‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ (३) र जसपा संसदीय दलको विधानको धारा ५१ बमोजिम ५ दिने लिखित स्पष्टिकरण सोध्ने निर्णयअनुसार चारै जनालाई पत्र पठाउँदा प्रदेशसभा सदस्य माननीय सुमन शर्मा रायमाझीले केन्द्रीय कार्यालयमा सशरीर उपस्थित भई आत्मालोचनासहित पार्टी मूल धारमा बस्ने लिखित प्रतिवद्धता व्यक्त गर्नु भएबाट केन्द्रीय कार्यकारिणी समिति सन्तुष्ट भएको र उहाँको हकमा कारवाही नगर्नुपर्ने निर्णयसहित बाँकी तीन जना प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जसपाको लुम्बिनी प्रदेशसभा संसदीय दलमार्फत कार्यन्वयनका लागि पठाउने निर्णयको पत्र प्राप्त हुन आएकोमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा (२) तथा प्रदेशसभा नियमावलीको नियम १९१ बमोजिम हाल प्रदेशसभाको बैठक चालू नरहेकाले माननीय सभामुखज्यूले यो सूचना सचिवालयको सूचना पाटीमा टाँस्न लगाउनुभएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, सचिव पुनद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद छन् । जसमा एमालेको सरकारलाई समर्थन गर्दै मन्त्री बनेका चारमध्ये शर्मा मूल पार्टीमा फर्किसकेकी छन् भने अन्य शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् । सरकारलाई समर्थन गरेका जसपाका तीन सांसद पदमुक्त भएसँगै पोखरेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ ।

टिप्पणीहरू