छोराको निम्ति देश छाडेर…

संयोग पनि कस्तो भने ०४६ सालको परिवर्तनताका उनी लण्डन स्कुल अफ इकोनोमिक्समा पढ्दै थिए । अहिले चौथोचोटि बाबु प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा बेलायतको पढाइलाई छोराले निरन्तरता दिँदै छन् । नाम हो, जयवीरसिंह । कांग्रेस सभापति शेरबहादुर देउवाका एक्ला छोरा । लण्डनबाट गाडीमा ६÷७ घण्टाको उत्तरी दूरीमा अवस्थित योर्क युनिभर्सिटीमा म्यानेज्मेन्टतर्फ ग्य्राजुएशन गर्दै छन् । पढाइमा अब्बल र खेलकुदका सोखिन । फुर्सदको समयमा ‘फुटबल खेल्दा’ चोट लागेपछि आमा आरजु राणा भेट्न पुगेकी छन् ।

यता, संसद्का सबै बैठक छाडेर दुई हप्तादेखि ढुक्कै दूतावासमा बसेकी देउवा–पत्नीले यसबीच छोराको के–कस्तो उपचार गरिन् सोको विवरण भने आइसकेको छैन । बेलायतकै इटन कलेजमा पूर्वयुवराज दीपेन्द्रले पनि स्कुल शिक्षा हासिल गरेका हुन् । त्यतिबेलाको केटाकेटी उमेर, बद्मासी ग¥यो भनेर आमा ऐश्वर्य सम्झाई–बुझाई गर्न गएकी थिइन् । हुर्कंदो उमेर, बेलैमा जीवनको एउटा मोड समातिएन भने केटाकेटी बिग्रने खतरा रहन्छ । छोरा परे परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनि राजदूतचाहिँ एमाले कोटाबाट नियुक्त डा. अर्जुन कार्की ।

विभागीय मन्त्रीको हेरविचार नगरे के काम ? अहिले क्यालिफोर्नियाको अक्ला युनिभर्सिटीमा एक वर्षको अग्रिम शुल्क भुक्तानी गरेर राजदूतले मन्त्रीपुत्रलाई भर्ना गरिदिएको चर्चा छ ।

यसबीच, सोमबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई भेटी छिट्टै केन्द्रीय समितिको बैठक बोलाउन दबाब दिएका छन् । आफूनिकट २०÷३० जना केन्द्रीय सदस्य र करिब ८० जना सांसदसँग अलग–अलग छलफलपश्चात् देश गम्भीर संकटतर्फ गएको निष्कर्षसहित पौडेलले चुनाव अलपत्र पर्नु भनेको संविधान कार्यान्वयन नहुनु हो भन्दै बेलैमा समस्या समाधान नगरे अर्कै शासन आउने खतरा औंल्याएको बताइन्छ ।

टिप्पणीहरू