केपी ओलीको नाममा अखिल-नेविसंघ कुटाकुट,क्याम्पसमा जुलुश

केपी ओलीको नाममा अखिल-नेविसंघ कुटाकुट,क्याम्पसमा जुलुश

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोधमा फेसबुक स्ट्याटस रङ्गाएको भन्दै हिजो पब्लिक युथ क्याम्पसमा भएको नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको झगडामा आफू पक्षका नेता समातिएको विषयलाई लिएर अस्कल क्याम्पसमा प्रदर्शन भएको छ ।

आज अनेरास्ववियु अस्कल क्याम्पस ईकाइले पब्लिक युथ ईकाइका विद्यार्थी नेता निराजन शाहीको रिहाइको माग गर्दै काठमाण्डौँको लैनचौरस्थित अस्कल क्याम्पस अगाडि नाराबाजीसहित प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले नेविसंघले सत्ताको आडमा प्रहरीसङ्ग मिलेर नेता शाहीलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन् । अनेरास्ववियु अस्कल क्याम्पस ईकाइ संयोजक कमल जोशीको नेतृत्वमा मध्याहन्न पौने १२ बजेको समयमा भएको प्रदर्शनमा विद्यार्थीहरुले अनेरास्ववियु जिन्दावाद,नालायक देउवा सरकार मूर्दावाद,झुट्टा मुद्दा खारेज गर, प्रहरी दमन मूर्दावादजस्ता नारा लगाएका छन् ।

हिजो काठमाण्डौँ महानगरपालिका १७ क्षेत्रपाटी धोबिचौरस्थित पब्लिक युथ क्याम्पसमा झगडा पर्दा नेपाल विद्यार्थी संघका नेता बलराम उप्रेती गम्भिर घाइते भएका थिए ।
नेविसंघ पब्लिक युथ क्याम्पस ईकाई कमिटीका सदस्य तथा विद्यार्थी नेता उप्रेतीले आफ्नो फेसबुक स्टाटसमा एमाले अध्यक्ष केपी ओलीबारे नराम्रो कमेन्ट गरेको भन्दै अनेरास्ववियुका नेता निराजन शाही र उनीवीच बिहान करिब १० बजेको समयमा झगडा भएको थियो ।

झगडाबाट घाइते भएका उप्रेतीलाई तत्काल वीर हस्पिटल ट्रमा सेन्टर लगियो भने अनेरास्ववियुका नेता शाहीलाई सोह्रखुट्टे प्रहरीले नियन्त्रणमा लिएको थियो ।

टिप्पणीहरू