न मिल्न सक्नुभो, न निल्न सक्नुभो

न मिल्न सक्नुभो, न निल्न सक्नुभो

‘तपाईंले कि मिल्न सक्नुपथ्र्यो, कि निल्न सक्नुपथ्र्यो । अहिले पनि तपाईंसँग मिल्ने मौका छ, तर निल्ने हैसियतमा हुनुहुन्न ।’

माधवपक्षीय नेता सुरेन्द्र पाण्डेहरूले बालकोट पुगेर केही दिनअघि यस्तो सुझाव दिएका छन् । उनीहरूको भनाइ छ– ‘आफ्नासँग मिल्न सक्नुभएन, अरुसँग मिल्ने बाटो बनाइदिनुभयो । याद गर्नुस् त, बालकोटबाट बालुवाटार कसरी जानुभएको थियो † दुई तिहाई प्राप्त संसदीय दलको नेताका रुपमा शीतलनिवास पुगेर प्रधानमन्त्रीको शपथ लिनुभएको तपाईं आज बालुवाटारबाट बालकोट फर्किंदा कुन अवस्थामा आउनुभयो ? दुई तिहाई गुमाएर एक तिहाइको मत पनि नपाउने अवस्था भयो कि भएन ? निल्ने सिद्धान्त लिँदै नलिनुस्, त्यो भनेको क्षणिक हुन्छ । मिल्ने सिद्धान्त लिनुपर्छ । मिल्ने भनेको लङ टर्म हुन्छ । सत्ता चलाउँदा मिल्नुभएन, विरोधी जति सबैलाई एकठाउँ पु¥याइदिनुभयो र सत्ता कब्जाजस्तो गर्नुभयो । सबै अड्डा अदालत, पुलिस, प्रशासन, सेना मेरो हातमा छ जस्तो कुरा गर्नुभयो । सबै कुरा आफैं ओगटेर पछिल्लो पुस्ताको भाग्य र भविष्य किन कोल्याप्स गरिदिनुहुन्छ ?’

कुरा सुनेर केही गम्भीरजस्तो देखिनुभएका ओलीले भन्नुभयो, ‘त्यही पनि अब हुने चुनावमा हामी दुई तिहाई ल्याइहाल्छौं ।’ उहाँले आफू पार्टी एकतानिम्ति लचिलो भएको सन्देश माधव नेपाललाई पु¥याउन पनि भन्नुभएको थियो । ‘१० बुँदे मानिहालेँ, अब माधवलाई दोस्रो अध्यक्ष दिनु परे पनि दिन्छु’ ओलीले भन्नुभयो । ती नेताले ओलीलाई भने, ‘आफू बहुमत सांसदको समर्थनमा दलको नेता हुने, अर्को नेताले बहुमत देखाउँछु भन्दा षड्यन्त्र देख्ने तपाईंको बानीले तपाईंलाई नै हानी गरेको छ ।’ एक्लाएक्लै कुरा गर्दै, बैठकमा बोलाउँदै गर्न थालेपछि नेताहरुले अध्यक्षलाई जवाफ फर्काए, ‘हामी एक्लाएक्लै आएर के हुन्छ ? त्यसले त परिणाम नै दिँदैन । वामदेवजी त्यत्रो तामझामसहित बालुवाटार आएको होइन फेरि फर्किन्न भन्दै ? उहाँ आएर तपाईंलाई के फाइदा भयो ? त्यसपछि तपाईंको शैली देखेर फेरि उहाँ बैठकमा आउन छोड्नुभो । त्यसकारण व्यक्तिको कुरा नगर्नुस्, पार्टीभित्र असहमत पक्षलाई कसरी साथमा लिने, त्यो कुरा गर्नुस् । त्यसनिम्ति जिम्मेवारी बाँडफाँडलगायत के–के छन्, खुला दिमागले सोच्नुहोस्, अर्को उपाय छैन ।’

हुन पनि कस्तो थियो भने, सरकार निर्माणको पूर्वार्धमा नेकपामा केपी, प्रचण्ड र माधव फरक–फरक शक्तिकेन्द्र थिए । केपी र प्रचण्ड मिलेर गर्दा सबै काम बन्यो । यसमा माधव हुनुहुन्न थियो । तर, अर्को चरणमा केपी–प्रचण्डबीच झगडा परेपछि बल्ल माधव–प्रचण्ड मिलन सम्भव भयो । त्यसैले वास्तविकता के हो भने, न केपी ओलीले पार्टीमा निर्णय गरेर संसद् विघटन गर्नुभएको थियो न त माधव नेपालहरूले फ्लोर क्रस पार्टीको निर्णयमा गर्नुभएको हो । अनि, न माधवहरूले ओलीमाथिको कारवाही फिर्ता लिनुभयो, न ओलीले माधवहरूलाई पटक–पटक गर्नुभएको कारवाहीलाई टिकाइरहन सक्नुभयो ।

टिप्पणीहरू