केपीले यसर्थ गर्नुभयो यस्तो काम

केपीले यसर्थ गर्नुभयो यस्तो काम

विभिन्न मन्त्रालयअन्तर्गत रहेका महत्वपूर्ण विभागमाथि केपी ओलीको नजर किन परेको रहेछ ? कतिपयले अनुमान गरेका थिए– ती विभागहरूको प्रभावकारी कार्यसम्पादन निम्ति उहाँले त्यस्तो गर्नुभयो । तर, कुरा अर्कै छ ।

ओलीले सरकार गठन गर्दैमा कतिपय निकटस्थलाई विभिन्न अभियोगबाट बचाउन र कतिपयलाई तर्साउनका लागि महत्वपूर्ण विभागमा आँखा लगाउनुभएको कुरा अहिले ती–ती विभागका हाकिमहरूले बताउन थालेका छन् । जस्तो कि, नेपाल इञ्जिनियरिङ कलेज भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने महेश बस्नेतनिकट हुन् । उनीमाथि लागेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पठाएको ७२ करोडको मुद्दा झण्डै एक महिना भयो, अहिलेसम्म विशेष सरकारी वकिलको कार्यालयले घर्रामा थन्क्याएर राखेको छ । व्यापारी अजेयराज सुमार्गीको मुद्दालाई पनि अगाडि बढ्न दिइएन । अनि, किसान श्रेष्ठ, प्रेमबहादुर आले, धनबहादुर बुढाजस्ता व्यापारिक पृष्ठभूमिका सांसदहरूलाई आफूतिरै राख्न राजस्व अनुसन्धान विभाग देखाएर निरन्तर तर्साउने काम भयो । उनीहरूले ओली बहिर्गमनसँगै उनको साथ छाडेका छन् ।

विनोद चौधरीलाई घरि एमाले, घरि कांग्रेस भएर पनि किन सांसद भइरहनुप¥यो ? जिपछिरिङ लामा, हरिनारायण रौनियार ‘पप्पु’, मोती दुगड, दिवाकर गोल्छाहरू सांसद बन्न जति पनि खर्चन तयार हुनुको कारण के हो ? व्यापारी हुन्, कर त छलिहाल्छन् । त्यही भएर एकातिर ती कारवाहीको डरले माननीय बन्छन् भने केपी ओलीजस्ता शासकले तिनलाई तर्साउन सकिनेजति निकाय आफूमातहत राख्छन् ।

यसरी हिजो अरुलाई तर्साउन, थर्काउन र ठाउँमा राख्न आफैँद्वारा गरिएका कामले अब आफैँलाई खाला भन्ने पिर ओलीमा छ । उहाँसँग भेट्न जाने एमाले नेताहरूसँग भन्ने गर्नुभएको छ, ‘आज मलाई दुःख दिनेहरूले भोलि माधव नेपाललाई पनि त दुःख देलान् †’ उहाँलाई सबभन्दा बढी डर छ, ललिता निवास प्रकरणको । उक्त मुद्दासम्बन्धी फाइल अख्तियारमा सुरक्षित छ । अब त्यो फाइल खोलेर विष्णु पौडेलहरूलाई दुःख दिइन सक्नेतर्फ ओलीले इंगित गर्नुभएको हो । त्यस्तै, यति प्रकरण र गत वर्ष कोभिड संक्रमणको समयमा अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गर्ने क्रममा ओम्नी इन्टरप्राइजेजका नाममा भएको घोटालासम्बन्धी फाइल खोलेर दुःख दिन सक्ने भन्दै उहाँ सशंकित हुनुभएको छ । केही दिनअघि उहाँलाई भेट्न बालकोट पुगेका नेताहरूलाई भन्नुभयो, ‘ओम्नी प्रकरणमा मैले गरेको त हैन, तर आज मलाई गर्नेले भोलि माधव नेपाललाई पनि के बाँकी राख्लान् ?’

टिप्पणीहरू