सुन चढाएर शिवजी भए त सन्तुष्ट ?

सुन चढाएर शिवजी भए त सन्तुष्ट ?

केपी ओलीले जनताको जीवनस्तर उकास्न के–के काम गर्नुभयो, त्यसबारे कुनै तथ्य र आँकडा छैन । तर, पशुपतिको शिवलिंगमा जलहारी जोडेर ‘भगवान’ चाहिँ खुशी पार्न भ्याउनुभयो ।

यसरी जनता खुशी पार्नुहोला भनी निर्वाचित दुई तिहाइको प्रधानमन्त्री भगवान रिझाउँदै साढे तीन वर्षमै विश्वासको पाउन नसक्ने स्थितिमा पुग्नुभयो । आर्थिक मामिलामा पारदर्शिता कायम नभएको अरु क्षेत्र मात्रै हैन, ‘भगवान’ कै मामिलामा पनि कति खर्च भयो भन्ने पूर्ण विवरण अद्यावधिक छैन । जस्तो, जलहारी बिच्छ्याउन प्रयोग भएका कालिगढलाई कसले ज्याला दिए ? यो विषय आजसम्म अनुत्तरित छ । तिनले कति–कति पाए ? यो पनि गोप्य राखिएको छ ।

जलहारीका लागि आवश्यक सुन किन्न सरकारी कोषसँगै पशुपति क्षेत्र विकास कोषको गरी असी करोड रकम खर्च भयो । तर, बाँकी खर्च दाताबाट जुटाउने भनिएकोमा त्यो कामका लागि कुन दाताले कति रकम दिए ? ती रकममध्ये कहाँ–कहाँ, कति–कति खर्च भए ? यी कुरा गोप्य छन् ।

त्यसमाथि शिवलिंगको सबभन्दा बढी पूजा हुने महिना साउन हो । प्रत्येक सोमबार शिवको आराधना गरिने यो महिना पशुपति मन्दिरका सबै ढोका बन्द छन् । शिवरात्रिलाई लक्ष्य गरेर जलहारी बिच्छ्याइए पनि जलहारीको खास काम भने अहिलेको मौसममा बढी हुन्छ । एक त साउनको महिना त्यसै पनि ‘शिवको महिना’ हो, त्यसमाथि सुनको छानोले शिवलिंगको रक्षा गर्नुपर्ने बेला ! जलहारीमा काँटी ठोकी भ्याइएको छैन । अख्तियारले पनि काम सकेको हैन ।

टिप्पणीहरू