बिहानीले संकेत गर्याे दिनको

बिहानीले संकेत गर्याे दिनको

केपी ओलीलाई विस्थापन गरी प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिमण्डललाई पूर्णता दिन सक्नुभएको छैन । आफ्नै दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, मधेशवादी तथा अन्य सहयोगीसमेतको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्ति दिएपछि नेपाली कांग्रेसभित्र मात्र होइन, नेपाली राजनीतिक बजारमा अनेकौं चर्चा र परिचर्चा भइरहेका छन् ।

कांग्रेस लामो राजनीतिक र संघर्षको इतिहास भएको पार्टी हो । यसको विभिन्न सन्दर्भमा आफ्नै विशिष्ट भूमिका छ । यस अर्थमा यो दलसँग जोडिएका हजारौं व्यक्तिले विभिन्न समयमा जेल–नेल, यातना र दुःख भोगेका छन् । यद्यपि, सत्ताको अवसर र सहज अवस्थामा भने त्यस्ता दुःख भोगेका नेता–कार्यकर्तालाई एमाले, माओवादी र नेपाली कांग्रेसले भुल्ने गरेको देखिन्छ ।

व्यापार–व्यवसायबाट अकुत धन–सम्पत्ति कमाएर चन्दा दिएकै भरमा सांसद र मन्त्रीमा नियुक्ति पाउने हो भने जीवनभर पार्टीमा दुःख गर्नुको कुनै तुक र अर्थ हुन्न । उमेश श्रेष्ठको मन्त्रीमा नियुक्ति कुनै नयाँ होइन । यसअघि पनि विभिन्न दलले पैसाको बलमा ठूला व्यवसायी र चन्दादातालाई नै टिकट बेच्ने र पद सुम्पने गरेका थिए । एमालेमा पनि त्यसप्रकारका थुप्रै घटना देख्न सकिन्छ । कांग्रेसमा त्यो दर अझै बढिरहेको पुराना कार्यकर्ता स्विकार्छन् ।

स्थानीय तहका विभिन्न पदमा पनि ठेकेदार नै उम्मेदवार हुने र विजयी बन्ने अवस्था छ । नेपालको सर्वाधिक धनी कहलिएका विनोद चौधरी नेकपा एमालेबाट सांसद बनेर फेरि कांग्रेसको समानुपातिक सांसद रहिआएका छन् । यसरी अप्ठ्यारो पर्दा र संघर्षको समयमा राजनीतिबाटै आएका जनताका प्रतिनिधि चाहिने तर सप्ठेरो घडीमा चाहिँ अकुत कमाएका व्यवसायी नै प्यारो हुने हो भने राजनीतिमा विश्वासको खडेरी नपर्ला र !

कानुनअनुसार व्यापार व्यवसाय गरी पैसा कमाउनु गलत होइन र हुन्न । त्यो सर्वत्र स्वीकार नै हुन्छ । राष्ट्रको समग्र प्रगति र उन्नतिको लागि रोजगार, सीप, ज्ञान र उद्योग–पेशाको वातावरण अनि निजी क्षेत्रको बजार विस्तार हुनुपर्छ । सोबमोजिम व्यवसायीले पैसा कमाउने कुरालाई अन्यथा भन्न मिल्दैन । तर, तिनै व्यवसायीले फेरि राज्यको राजनीतिक प्रक्रिया र प्रणालीमा पनि हालीमुहाली गर्दै निर्णायक र नीति निर्माणमा पुग्ने कुराचाहिँ जनताको हिसाबमा न्यायपूर्ण बन्न सक्दैन ।

एउटै व्यक्तिले अनेकौं काम, पेशा र व्यवसाय पनि गर्न सक्छन् । कानुनी सीमाभित्र रहेर त्यस्ता कार्य र पेशा गर्न कसैले रोक्ने कुरा पनि भएन । यस मूल्यअनुसार पेशाकर्मी र व्यवसायी पनि राजनीति वा कुनै पेशामा स्वतः आउन सक्ने नै हुन्छन् । तर जताततै र जहिल्यै तिनै मोटाएका र अवसरै–अवसर पाएकालाई मात्र किन पोस्ने भन्ने हो । राजनीतिमा पीडित र लामो जेलजीवन भोगेका त्यागी कार्यकर्तालाई पन्छाएर जहिल्यै अवसर र सहज अवस्थामा त्यस्ता व्यवसायीलाई मात्र पोस्ने गर्दा नेपालको राजनीति र संस्कृति कस्तो बन्न पुग्ला ? प्रश्न कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवाले के गरे भन्ने भन्दा पनि नेपाली राजनीतिमा झांगिएको संस्कार कस्तो हुँदै छ भन्ने हो ।

पूर्वप्रधानमन्त्री केपी ओलीबाट आफ्नो गुट वा समूहलाई मात्र प्रोत्साहन गरियो भन्दै लामो संवैधानिक र राजनीतिक लडाइँ लडी सर्वाेच्चको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले फेरि उहाँको पुरानै गलत प्रकारको शासन र शैलीलाई निरन्तरता दिने हो भने नेपालको राजनीतिमा निराशा मात्र उत्पन्न हुने पक्का छ । यसरी सहज अवस्थामा उमेश श्रेष्ठ र उमेश श्रेष्ठ प्रवृत्तिले मात्र प्राथमिकता पाउने हो भने लोकतन्त्र र लोकतान्त्रिक मूल्य ध्वस्त बन्न पुग्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोहोनी (सुरुवात) नै दाँतमा ढुंगा लाग्ने खालको गर्नुभएको छ । बिहानीले दिनको संकेत गर्छ भनेजस्तै देउवाको निर्णयले दिन राम्रो हुने संकेत गरेको पाइएन ।

टिप्पणीहरू