विश्वविद्यालयमा बेथिति, विवादको जड राजनीति

विश्वविद्यालयमा बेथिति, विवादको जड राजनीति

मध्यपश्चिम विश्वविद्यालय विगत केही दिनदेखि तनावग्रस्त छ । विद्यार्थी, प्राध्यापक र विश्वविद्यालय प्रशासनबीच समझदारी नहुँदा तनाव बढेको हो । जसको कारण अहिले शैक्षिक, प्रशासनिक क्षेत्र र उपकुलपति निवास प्रहरीको सुरक्षा घेरामा छ ।

वि.स. २०६९ सालमा स्थापित विश्वविद्यालयमा पटक–पटक तीन जना उपकुलपति फेरिए पनि विवाद सल्टिने छाँट छैन । हालका उपकुलपति प्रा.डा. नन्दबहादुर सिहंको शैलिका कारण विवाद उत्कर्षमा पुगेको विद्यार्थी र प्राध्यापकहरु बताउँछन् । एकेडेमिक क्षेत्रको अब्बल संस्थाको रुपमा विकास गर्न खोज्दा असफल बनाउन खोजिएको आरोप उपकुलपति सिंहको छ ।

केहि दिनदेखि ४ ठूला विद्यार्थी संगठनले संयुक्तरुपमा १८ बुँदे माग राखेर आन्दोलन गरिरहेका छन् । जसमध्ये मुख्य दुईवटा माग अनलाइन प्रणालीबाट परिक्षा र शैक्षिक शुल्क मिनाह गरिनुपर्ने रहेको विश्वविद्यालयको उच्च स्तरीय समस्या समाधान समितिका संयोजक डा.लीलाधर तिवारी बताउँछन् ।

विश्वविद्यालयका तर्फबाट विद्यार्थीका मुख्य २ वटा माग समाधान गर्न नसकिने संयोजक तिवारीको आशय छ । ‘विद्यार्थीले अनलाइन परिक्षाको माग गरेका छन् । अहिलेको अवस्थामा त्यो सम्भव देखिएन ।’ बिहिबार उपकुलपति कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा तिवारीले भने, ‘सतप्रतिशत शुल्क मिनाह गरेर विश्वविद्यालय सञ्चालन गर्न सकिने कुरै भएन ।’

विद्यार्थीका मागबमोजिम पटक–पटक बसेको वार्ताबाट पनि समाधान नहुँदा आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच असमझदारी देखिएको हो ।

परीक्षा स्थगित
आन्दोलनकै कारण गत शुक्रवारदेखि हुने विभिन्न संकायका परीक्षा स्थगित गरिएका छन् । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित भएको हो ।

परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदीले मानविकी र सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय,विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकायअन्तर्गतका स्नातक तह आठौँ सेमेष्टरको मौका परीक्षा शुक्रबारदेखि प्रारम्भ हुनुपर्नेमा विशेष प्रतिकूल परिस्थितिका कारण सञ्चालन हुन नसकेको बताए ।

अनिश्चितकालका लागि तालाबन्दी
नेपाल राष्ट्रिय प्राध्यापक संगठनले १५ बुँदे माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय अनिश्चित कालका लागि तालाबन्दी गरेको छ । विश्वविद्यालयमा नयाँ पदाधिकारी नियुुक्त भएदेखि नै आफन्तको भर्ती केन्द्र बनाउने काम भएको प्राध्यापक संगठनको आरोप छ ।

राष्ट्रिय प्राध्यापक संगठनले बर्खास्त इन्जिनियरिङ संकायका एमई कार्यक्रम निर्देशक स्थायी उपप्राध्यापक विश्वनाथप्रसाद साहको कार्वाही फिर्ता गर्नुपर्ने, एकपक्षीय राजनीतिक नियुक्ति खारेज गरिनुपर्ने,इन्जिनियरिङ संकायमा ल्याबको स्थापना गरिनुपर्ने,करार विज्ञापनमार्फत प्राध्यापक,सह–प्राध्यापक, उपप्राध्यापक,तथा कर्मचारी गरी ३६ जना आफू निकट छनौट गर्ने विज्ञापन खारेज हुनुपर्नेलगायतका माग राख्दै विश्वविद्यालय अनिश्चितकालसम्म लागि तालाबन्दी गरिएको राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष सिंहराज गुरुङ्गले बताए ।

टिप्पणीहरू