कोलभित्र बालुवा : पेल्दा फाट्यो तलुवा

  • जीवराज भट्टराई

हाम्रा गाउँघरतिर केही वर्ष अघिसम्म कोलको चलन थियो र कोलसँग जोडिएका अनेक किस्सा, उखानटुक्का र कथाकुथुंग्री पनि त्यत्तिकै प्रचलनमा थिए । यसैमध्येको एउटा ‘कोल पेलेर कहीँ पुगिँदैन’ भन्ने पनि थियो । गाउँघरमा कोल हरायो र व्यक्ति विशेषका लागि यो उखानको प्रयोग पनि हराउँदै गयो । तर, मुलुकका निम्ति भने झन् बढी सान्दर्भिक बन्दै गइरहेको छ । कोल पेल्दा खुब मच्चीमच्ची हिँडिन्छ, कहीँ नपुगेर जहाँको तहीँ भइन्छ यदि कोलमा सही चिज हालेर पेलिएको छ भने त्यसको परिणाम तेलको मात्रामा हेर्न सकिन्छ । हामी त अहिले कोलमा तोरी होइन, बालुवा राखेर पेल्न व्यस्त भएको नियतिबाट गुज्रिरहेका छौं । गन्तव्य छैन, तेल पनि छैन ।

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको व्यस्तता हेर्दा लाग्छ, साँच्चै हामी केही न केही गर्न हतारिएका छौं तर परिणाम कोल पेल्दा हिँडेर थाकेजस्तो मात्र । सामान्यतः राजनीतिको मियोमा समाजका यावत कुराको थिति बाँधियो भने बल्ल गन्तव्य उन्मुख अग्रगति प्राप्त हुने हो । तर, हामीकहाँ त जोई न जुँगा मोही न पोते कोसा खाँदै सुसेल्दै भनेजस्तो न राजनीतिको मियो न थितिबित । अनि कताको गन्तव्य, कताको गति † भरेको खर्च र सिकाएको बुद्धिले अप्ठ्यारोमा काम दिन्न भनेको साँच्चै रहेछ कि !

अघिल्लो साता मुम्बई जाने क्रममा खाडी मुलुकतिर हिँडेका एक हुल युवाले विमानस्थलको प्रतीक्षा कक्षमा आपसमा कुरा गर्दै मुलुकको राजनीतिक नेतृत्वप्रति व्यक्त गरेको आक्रोश कम्ती तार्किक र यथार्थपरक लागेन । मुलुकमा विकास छैन र विकास बजेट पनि पटक्कै खर्च हुन सक्दैन । यसो हुनुमा खाडी र मलेसियामा पाखुरा बजार्न दिनहुँ बिदेसिने युवाको दोष ?

अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा पंक्तिबद्ध मान्छेलाई हेर्नुस् त नेपालको आजको तस्बिरको एक भाग  त्यहीँ सपाट देखिन्छ । वृद्ध बा–आमा र तरुनी श्रीमतीसँग बिछोडको पीडा, चर्को ब्याजमा काढेको ऋणको चिन्ता र अगाडिको अनिश्चित यात्राले ती युवालाई कसरी असमयमै बूढो बनाइरहेको देखिन्छ † काँधमा कुम्ले झोला, खुट्टामा गोल्डस्टार जुत्ता, हाम्रो राजमार्ग वरिपरिका बुट्यानजस्तै लाग्ने फुस्रा कपाल मुन्तिरको खपटे अनुहारमा महिनौंदेखि निद्राबाट टाढिएजस्तो लाग्ने गढेका आँखा । अझ यही हुलिया नै उनीहरूका निम्ति विमानस्थलदेखि विभानभित्रका सुकिलामुकिला कर्मचारीले हेप्ने कारण बनेको देखिन्छ ।

आजको यो स्थितिका निम्ति राज्य कहाँ–कहाँ चुकेको छ ! अधिकांश नेपाली जन्मिँदै अभाव र गरिबीको भुमरीमा फस्नुपर्ने, बालबालिकाका निम्ति उचित शिक्षा–दीक्षाको व्यवस्था हुन नसक्ने, दैनिक १५ घण्टासम्म कडा परिश्रम गरेर मलेसियामा कमाइने मासिक २० हजार रुपैयाँ स्वदेशमै हात लाग्न अवसर नपाइने यो स्थिति किन आयो ? प्रत्येक वर्ष खर्च हुन नसकेर फ्रिज हुने विकास बजेट, मुलुकको अविकसित अवस्था र जस्तोसुकै कठिन परिश्रम गर्न पनि तयार भएर बिदेसिने ती युवाबीच किन तालमेल हुन सक्दैन ? अन्तिममा यो पनि भनौं— दैनिक झण्डै १५ सय हाराहारीमा विदेश आऊ–जाऊ गर्ने नेपालीलाई आफ्नै मुलुकको हवाईजहाजमा बोकेर यति ठूलो धनराशि बाहिरिनबाट रोक्ने प्रयास अहिलेसम्म किन गर्न सकिएन ? के यो नालायकीको पराकाष्ठा होइन ?

सिंगो मुलुकको परिचय जे हो आममुलुकबासीको परिचय पनि त्यही नै हो । नेपाल र नेपालीको परिचय एउटा र केही सुकिला मुकिलाको परिचय अर्कै हुन्छ भन्नु आत्मघाती भ्रम मात्र हो । बैंसमा त स्याल पनि घोर्ले हुन्छ भनेजस्तो सत्तामा रहँदाका भ्रमबाट उन्मादित भइरहने गल्ती कहिलेसम्म दोहो¥याइरहने ? जनताले ‘खान पाएनौं सरकार !’ भन्दा ‘दूधभात भए नि खाओ न †’ भन्ने राणाको जवाफ हुन्थ्यो रे भन्ने कुरालाई भोलिका निम्ति आजको कर्मले मेटाउने कि अझ बलियो बनाएर राख्ने हो ?

समग्र महाभारत युद्धका एकल योजनाकार स्वयं श्रीकृष्ण थिए । तैपनि, त्यति ठूलो लडाइँ नसिद्धिञ्जेलसम्म कसैलाई पनि आफ्नो भूमिकाबाहेक अरू केही थाहा थिएन । युद्ध अवधिभर सबैले निसंकोच आ–आफ्नो भूमिका निर्वाह गरे । जब युद्धको परिणाम आयो तब कसको भूमिका कस्तो भनेर मूल्यांकन हुन थाल्यो र आजसम्म पनि भइरहेको छ । सबै समयले महाभारतकै युद्ध त गराउँदैन तर समयको गति र चरित्र भने एउटै हो । एकपटक सोचौं— महाभारतमा श्रीकृष्णले सबै पात्रलाई एक÷एकवटा भूमिका दिएजस्तै आज हामीलाई कसैले कोलमा बालुवा हालेर पेलिरहने भूमिका ठेकिदिएको त छैन ?

यी दिन भनेका मूल विषयबाट विषयान्तर भएपछि उत्पन्न अन्योलजन्य यात्राका दिन हुन् । राजनीतिका आधारभूत उद्देश्यबाट आजसम्म आइपुग्दा सबै ठूला पार्टी विचलित हुन पुगे । यसलाई दलकोे पूर्णरुपेण युटर्न भन्नुपर्ने हुन्छ । यसै बीचमा कता–कताबाट कोलमा हालिएको संघीयता नामको बालुवाको स्वामित्व ठूला दलले पूर्ण परिचयविहीनताकै अवस्थामा ग्रहण गर्न पुगे । यसै सेरोफेरोमा औपचारिक रूपमा ०६३ देखि शुरु भएको संघीयता नामको बालुवा पेल्ने काममा १० वर्षसम्म मरिमेटेर हामी लखतरान भइसकेका छौं र झण्डै–झण्डै अब न एक थोपा तेलको आस, न गन्तव्यसम्म पुग्ने सासको अवस्थामा पुगिसकेका छौं ।

हुन पनि कस्तो आपत—कोलमा बालुवा छ है भन्न पनि नहुने । जनताले कुरा बुझेको धेरै भइसक्यो । रोल्पा र दाङ अनि कपिलवस्तु र अर्घाखाँचीका जनतालाई सोध्यो भने हामी छुट्टिन चाहन्छौं भन्ने मान्छे चामलमा बियाँ भेट्टाए जति पनि भेटिने छैन । किनभने यसरी छुट्ट्याएर अलग–अलग प्रदेश बनाउँदैमा यहाँका जनताको गरिबी, पछौटेपन र अशिक्षा हट्दैन । तर, लैनचौरको डिनर बैठकले भन्छ, ‘होइन, तिनीहरूलाई कुनै हालतमा पनि सँगै राख्न हुँदैन ।’ कति उन्नत स्तरको लोकतान्त्रिक अभ्यास हाम्रो !

यहाँसम्म आइपुग्दा मनमा त सबैलाई लागेकै होला— ठेकिदिएको भूमिका निर्वाह गर्ने नाममा संघीयता नामको बालुवा पेल्ने काम अब गरिरहनुहुँदैन । ढिलै भए पनि पछिल्ला दिनमा केही नेतागणले साँचो कुरा बोल्ने साहस गरेको देख्दा यो निरर्थक उपक्रमको अन्त्य हुने झिनो आशा गर्न सकिन्छ । कहिलेकाहीँ जनता अघि–अघि र नेतृत्व पछि–पछि हुने दिन पनि आउँछ भनेको सायद यही होला । ठूला दलका नेतालाई अब जनताले एउटै आग्रह गर्नुपर्छ कि संघीयताका विषयमा जनमत लिने क्रममा सबैभन्दा पहिले आफ्नै पार्टीभित्र गोप्य मतदान गराउनुहोस् त त्यसबेला तपार्इंको आफ्नै मत कता हुनेछ पक्ष कि विपक्षमा ?

टिप्पणीहरू