जसपामा कार्वाही गर्ने र मन्त्री छान्ने यिनलाई जिम्मा

जसपामा कार्वाही गर्ने र मन्त्री छान्ने यिनलाई जिम्मा

जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी समितिका सदस्यहरुले सरकारमा काँग्रेस र माओवादी केन्द्र बराबरको हिस्सेदारी दाबी गर्न शीर्ष नेतालाई सुझाव दिएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो पटक बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनौपचारिक छलफलका क्रममा केही नेताले यस्तो सुझाव दिएका हुन् ।

सरकारमा जाने औपचारिक निर्णय गरिसकेको जसपाले मन्त्रालयको संख्या र पार्टीका तर्फबाट सरकारमा जानेको नामबारे ठोस निर्णय भने गरेको छैन । जसपा बैठकमा एमालेको माधव नेपाल समूह सरकारमा सहभागी हुने अवस्था आए अहिले दाबी गरेको सात मन्त्रालयको अडानबाट पछि हट्नेबारे पनि छलफल भएको बताइएको छ ।

मन्त्रिपरिषदमा प्रधानमन्त्रीबाहेक काँग्रेस,माओवादी र जसपाले बराबर हैसियत पाउने गरी गठवन्धनको बैठकमा प्रस्ताव राख्न नेतृत्वलाई सुझाव दिएको सहभागी एक नेताले जानकारी दिए । तीन दिनसम्म चलेको बैठकले गठवन्धनका अन्य दलसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाउन र मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादव,संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएको छ ।

बैठकले संगठन शुध्दिकरणको चार महिने अभियान चलाउने निर्णय पनि गरेको छ । त्यस्तै,पार्टीभित्र उत्पन्न समस्या र अनुशासन उल्लङ्घनका घटनाको छानविन गर्न ५ सदस्यीय कार्यदल गठन भएको छ । कार्यकारिणी सदस्य नवराज सुवेदीको संयोजकत्वमा गठित कार्यदलमा दुर्गा सोब, गोविन्द चौधरीलगायतका नेता रहेका छन् ।

त्यस्तै,जसपा बैठकले महन्थ ठाकुर खेमाका १४ जना कार्यकारिणी सदस्यलाई पार्टीबाट निश्कासन गरेको छ । त्यसैगरी,तत्कालीन विजयकुमार गच्छेदार नेतृत्वको पार्टीबाट बिद्रोह गरी छुट्टै दल बनाएको समूहसँग पार्टी एकीकरण गर्ने निर्णय पनि भएको छ । एकतामा सहभागी शिवलाल थापालाई समेटेर ३६ सदस्यीय कार्यकारिणी समिति कायम गर्ने जसपा बैठकको निर्णय छ ।

बैठकले शनिबार संसदीय दलको नेता चयन गर्ने छ ।

टिप्पणीहरू