एमसीसीविरुद्ध र्याली,तिनैले मागे सुरक्षा

एमसीसीविरुद्ध र्याली,तिनैले मागे सुरक्षा

अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध अहिले भर्खर ललितपुरमा मोटरसाइकल जुलुस निकालिएको छ । आज बिहान लगनखेल बसपार्कबाट राष्ट्रवादी केन्द्र नेपाल,आर्क– ५,ललितपुर र ललितपुर जिल्लावासी परिवारको संयुक्त आयोजनामा र्याली निकालिएको हो ।

राष्ट्रघाती एमसीसी षड्यन्त्रका विरुध्द राष्ट्रवादी आवाज भन्दै निकालिएको र्यालीमा झण्डै ७० वटा मोटरसाइकलको सहभागिता थियो । जिल्ला संयोजक भुवन संगमको नेतृत्वमा भएको र्याली लगनखेल बसपार्कबाट जावलाखेल, एकान्तकुना,सानेपा,कुपण्डोल, पुल्चोक,मंगलबजार,च्यासल, बालकुमारी,ग्वार्काे,सातदोबाटो, महालक्ष्मीस्थान हुँदै पुनः लगनखेल पुगेर कोणभामामा परिणत भएको थियो ।प्रदर्शनकारीले राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर,कथित आर्थिक सहयोग खारेज गर,इण्डोप्यासिफिक रणनीति विफल पारौं,राष्ट्रिय राजनीतिको विजारोपण गरौं,दलीय दलाल चाहिँदैन,राष्ट्रियता बेच्न पाईंदैन जस्ता नारा लगाएका थिए ।

यसैबीच असंवैधानिक एमसीसी सम्झौताविरुद्ध सडकमा जान सुरक्षा चाहिएकाले आवश्यक सुरक्षा प्रबन्धको लागि अभियन्ताहरुले माग गरेका छन् । तारा बरालको फेसबुक पेजमा असंवैधानिक एमसीसी विरुद्ध सडकमा जान सुरक्षा चाहिएकोले आज दिउँसो १ बजे प्रहरी प्रधान कार्यालयमा निवेदन पेश गर्ने उल्लेख छ ।

बरालको फेसबुकमा लेखिएको छ, ‘जो जतिले यो सूचना देख्नु भएको छ, उपस्थित भइदिनुहोला, आयोजक नेपाली जनता हुनेछन्, कुनै पार्टीको नाममा हुने छैन ।’

टिप्पणीहरू