जसपाले खोज्यो बराबरी हिस्सा « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

जसपाले खोज्यो बराबरी हिस्सा

प्रकाशित मिति :  १४ श्रावण २०७८, बिहीबार १९:३२


जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समितिका सदस्यहरुले सरकारमा काँग्रेस र माओवादी केन्द्र बराबरको हिस्सेदारी दाबी गर्न शीर्ष नेतालाई सुझाव दिएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो पटक बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनौपचारिक छलफलका क्रममा केही नेताले यस्तो सुझाव दिएका हुन् ।

सरकारमा जाने औपचारिक निर्णय गरिसकेको जसपाले मन्त्रालयको संख्या र पार्टीकातर्फबाट सरकारमा जानेको नामबारे ठोस निर्णय भने गरेको छैन । जसपा बैठकमा एमालेको माधव नेपाल समूह सरकारमा सहभागी हुने अवस्था आए अहिले दाबी गरेको सात मन्त्रालयको अडानबाट पछि हट्नेबारे पनि छलफल भएको बताइएको छ । मन्त्रिपरिषदमा प्रधानमन्त्रीबाहेक काँग्रेस, माओवादी र जसपाले बराबर हैसियत पाउने गरि गठवन्धनको बैठकमा प्रस्ताव राख्न नेतृत्वलाई सुझाव दिएको वैठकमा सहभागी एक नेताले जानकारी दिए ।

तीन दिनसम्म चलेको बैठकले गठवन्धनका अन्य दलसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाउन र मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएको छ । बैठकले संगठन सुद्धिकरणको चार महिना अभियान चलाउने निर्णय पनि गरेको छ । त्यस्तै, पार्टीभित्र उत्पन्न समस्या र अनुशासन उल्लङ्घनका घटनाको छानविन गर्न ५ सदस्सीय कार्यदल गठन गर्ने निर्णय पनि वैठकले गरेको छ ।

कार्यकारिणी सदस्य नवराज सुवेदीको संयोजकत्वमा गठित कार्यदलमा दुर्गा सोब, गोविन्द चौधरीलगायतका नेता रहेका छन् । त्यस्तै, जसपा वैठकले महन्थ ठाकुर खेमाका १४ जना कार्यकारिणी सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ । त्यसैगरी, तत्कालीन विजयकुमार गच्छेदार नेतृत्वको पार्टीबाट बिद्रोह गरि छुट्टै दल बनाएको समूहसँग पार्टी एकीकरण गर्ने निर्णय पनि गरेको छ ।

एकतामा सहभागी शिवलाल थापालाई समेटेर ३६ सदस्सीय कार्यकारिणी समिति कायम गर्ने जसपा बैठकको निर्णय छ । बैठकले शनिबार संसदीय दलको नेता चयन गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस !