राजधानीमा देखियो नयाँ रोग

काठमाडौं उपत्यकामा नयाँ रोग देखिएको छ । यो कस्तो रोग भने कुनै व्यक्तिले एक दिनभन्दा बढी जग्गा राख्दै नराख्ने, बेचिहाल्ने । आज किन्यो भोलि बेच्यो । तर, चुरो कुरो भने बेग्लै रहेछ ।

यी सब काम कागजमा मात्रै हुने । त्यो पनि बिक्री मूल्यमा रु. ३० लाखमात्रै देखाएर । उपत्यकाका सात मालमोत कार्यालयमार्फत् साउनदेखि यता लगभग १०० वटा यस्ता कारोबार भएको स्रोत बताउँछ । जसले राज्यलाई करोडौं चुना लगाएको छ ।

मालपोत कार्यालयमा फोटोकपीको भरमा यसरी हुने किर्ते खेलमा कर्मचारीहरुको हात रहेको छ । जसबाट लेखनदास र दलालसँग मिलेर पूँजीगत लाभकर छल्ने कार्य हुँदै आएको छ । चाबहिल मालपोत कार्यालयमा एउटै केसमार्फत् राज्यलाई ३० लाख घाटा लागेको छ । मालपोत कार्यालयमार्फत् भइरहेको यस्तो कार्यको सूचना मन्त्रालयसम्म पुगेको छ । यसैकारण मन्त्रालयले ती सबैको अभिलेख समेत मागेको हो । तर, किर्ते कागजबाट भएको यस्ता कामको अभिलेख मालपोतका कर्मचारीहरुले बुझाउन सकेका छैनन् ।

राजश्व छलीमार्फत् राज्यको ढुकुटीमा करोडौं चुना लगाउने यस्ता कारोबार झण्डै दिनदिनै मौलाएको स्रोत बताउँछ । तीन वर्षदेखि उपत्यकामै अड्डा जमाएर बसेका मालपोतका यी कर्मचारीलाई जिल्ला खटाउने मन्त्रालयको तयारी थाहा पाएपछि संगठित विद्रोह शुरु हुन लागेको छ । ती स्रोतका अनुसार राजश्व ठगीमा संलग्न भएबापत तुरुन्तै कारबाही नगरिनहुने कर्मचारी संख्या २५ देखि ३० जनाको छ । जसलाई बेलैमा उपचार नगर्ने हो भने उपत्यकामा देखिएको यो रोग अन्यत्र सर्न बेर छैन ।

टिप्पणीहरू