टोपबहादुरहरुको मुध्दा तन्कियो

टोपबहादुरहरुको मुध्दा तन्कियो

माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीसहितले दिएको रिट निवेदन पेशीमा चढेर पनि आजलाई त्यसै थन्किएको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइनेमा परेको हो ।

माओवादी केन्द्रले सांसद पदबाट गरेको कारवाहीका विरुध्द हिजो टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु साह र गौरीशंकर चौधरीले अदालतमा रिट दर्ता गरेका थिए । सांसद पदमा पुनर्वहालीको माग गर्दै परेको रिटमाथि न्यायाधीश कार्कीको इजलासमा सुनुवाई तोकिएको थियो । तर,आज समय अभावका कारण हेर्न नभ्याइनेमा परेको सर्वोच्च स्रोतले जनाएको छ ।

चार पूर्वमाओवादी नेताले आफूहरूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उत्प्रेषणको आदेशबाट सांसद पदमा बहाली माग गरेका छन् । रिटमा आफूहरु नेकपा एमाले प्रवेश नगरेको र हालसम्म माओवादी केन्द्रकै नेता रहेको दावीसमेत गरिएको छ ।

तर,सर्वोच्च अदालतले फागुन २३ गते नेकपाको एकता भंग गरी एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काएपछि उनीहरु एमालेतिर लागेका थिए । त्यसयता उनीहरु लगातार एमालेमै सक्रिय छन् । रायमाझी र भट्ट एमाले स्थायी कमिटी सदस्य हुन् भने साह र चौधरी केन्द्रीय सदस्य छन् । एमालेको पछिल्लो स्थायी कमिटी बैठकमा पनि रायमाझी र भट्ट सहभागी थिए ।

केपी ओली प्रधानमन्त्री हुँदा मन्त्री बन्न एमाले बनेका उनीहरुमाथि ओलीको सत्ता बहिर्गमनपछि सांसद पद जोगाउन दौडधुप गरिरहेको आरोप छ । यसअघि माओवादी केन्द्र अवैधानिक रहेको दाबीसहित उनीहरु निर्वाचन आयोग पनि पुगेका थिए ।

पद चैँ एमालेको स्थायी कमिटी सदस्य,अनि सांसद चाहिँ माओवादीको हुनुपर्ने उनीहरुले अनौठो तर्क अघि सारेका छन् ।

टिप्पणीहरू