कानूनी झमेलाले माधव खेमालाई मन्त्री बन्न कठिनाइ

कानूनी झमेलाले माधव खेमालाई मन्त्री बन्न कठिनाइ

नेकपा एमालेको माधव नेपाल समूह सरकारमा सहभागी नहुने भएको छ । एमालेमै रहेर सरकारमा जान कानुनी कठिनाई हुने भएकाले सो समूह अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने निर्णयमा पुगेको हो ।

सरकारमा सहभागितालाई लिएर नेपाल समूहमा दुईथरी धारणा आइरहेको छ । कार्यदलमा रहेका स्थायी कमिटीका नेताहरु पार्टी एकता प्रक्रिया अघि बढिरहेकाले सरकारमा जान नहुने अडानमा छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका २२ सांसदसहित तेस्रो तहका अधिकांश नेताहरु छुट्टै पार्टी बनाएर सरकारमा जानुपर्ने बताइरहेका छन् ।

त्यसबारे छलफल गर्न बसेको हिजोको बैठकमा पनि अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव राखेका थिए । तर,वरिष्ठ नेता नेपालले भने समूहगत रुपमा सरकारमा जाँदा कानुनी र नैतिक रुपमा अप्ठेरो पर्नेतर्फ सचेत गराउनुभएको बताइन्छ । छलफलमा सहभागी एक नेताका अनुसार अधिकांश नेताले अलग पार्टी बनाएर सरकारमा जानुपर्ने धारणा राखेका थिए ।

बताइएअनुसार अध्यक्ष केपी ओलीनिकट मानिएका र पछिल्लो समय नेपाल खेमामा आएका प्रेम आले,किसान श्रेष्ठलगायतका नेताहरु सरकारमा जान तयार छन् । हिजोको बैठकमा पनि उनीहरुले तत्काल नयाँ पार्टी गठन गरेर सरकारमा जानुपर्ने धारणा राखेका थिए ।

उनीहरुलाई नेता नेपालले ब्यक्तिगत रुपमा जान सुझाव दिनुभएको ती नेताले जानकारी दिए । ‘उहाँ (नेपाल)ले अहिले समूहका रुपमा जान मिल्दैन, व्यक्तिगत रुपमा तपाईंहरु जान चाहनुहुन्छ भने निर्णय गर्न सक्नुहुन्छ भन्नुभयो’,उनले भने ।

छलफलमा सरकारमा गए सांसद पद जानेबारे पनि कुरा उठेको थियो । केही नेताले सरकारमा जाँदा अध्यक्ष ओलीले सांसद पद खाइदिन सक्ने कुरा उठाएपछि अधिकांशले दुई पटक प्रतिनिधिसभा विघटन हुँदा माया मारेको सांसद पद गए पनि डराउन नहुनेमा जोड दिएका थिए । सरकारमा गएर पार्टीका पक्षमा शक्ति आर्जन गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

यसअघि मन्त्रीको चर्चा गरिएका राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाबारे पनि कुनै निर्णय नभएको नेपाल पक्षले जनाएको छ । स्वतन्त्र हैसियतमा चुनाव जितेका देवकोटालाई मन्त्री बनाउँदा पार्टीको अनुशासन आकर्षित नहुने हुँदा उनको सम्भावनाबारे चर्चा चलेको थियो ।

हालको सत्ता गठवन्धनका दलहरुको सहयोगमा नेपाल समूहका तर्फबाट उम्मेदवार बनेका देवकोटाले तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई हराएर सांसद जितेका हुन् । उनलाई स्वतन्त्र सांसदकै हैसियतमा मन्त्री बनाउनेबारे यसअघि छलफल चलेको बताइएको थियो ।

यता,नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि सत्ता गठवन्धनले उसलाई बाहिरै राखेर आजै मन्त्रिपरिषद विस्तारको तयारी गरेको छ । त्यसका लागि काँग्रेस,माओवादी केन्द्र र जसपाबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको बताइएको छ । चर्चाअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय,माओवादी र जसपाले समान सात-सात मन्त्रालय लिने सहमति गरेका छन् ।

नेपाल समूहलाई राजनीतिक र संवैधानिक नियुक्तिमा समेट्ने गरी सहमति जुटेको बताइएको छ।

टिप्पणीहरू