पारिबाट यस्तो पो आयो प्रस्ताव

भारतीय गुप्तचर निकायले नेपालका सुरक्षा निकायलाई चीनविरुद्ध प्रयोग गर्न विभिन्न कोशिश गरेको पाइएको छ । केही समयअघि विशेष अफर लिएर पश्चिम बंगालबाट भारतीय सेनाका दुई अधिकारी काँकडभिट्टा आएका थिए । इलाका प्रहरी कार्यालय छिरेका तिनले त्यहाँका इञ्चार्ज डिएसपी दुर्गाराज रेग्मीसँग गोप्य भेट गरे । सरुवा भएर आएको लामो समय नभएकाले सीमा क्षेत्रका सबै कुराको भेउसमेत पाइनसकेका रेग्मीसँग चिनजान र गफगाफ भयो । हिन्दी भाषामा पोख्त नभएका रेग्मीले परिचय त गरे तर अरू धेरै कुरा बुझेनन् । खासमा रेग्मीका लागि हिन्दी भाषामा मसलन्द वा केही चाहिएमा सम्भव भए गाडी लिएर आउन भनिएको र त्यसो नभए चाहिनेजति सामान काँकडभिट्टामै ल्याइदिने प्रस्ताव आएको थियो ।

रेग्मी अक्क न बक्क भए । रनभुल्लमा परेका उनले आशय बुझ्न चाहे । त्यसैले पारिवाला बन्धुलाई सोधे– ‘मे तो कुछ भि सम्झा नहीं, आपका मतलव क्या हे साब ?’ तब उताका खुले– ‘हां साब मे सब सम्झाता हुं, हमारे लिए चाइना बोर्डर एरियाका कोही फोटा या भिडियो चाहिए । हम लोगोंको उधर जाके पिक्चर या भिडियो लेना नामुमकिन हे । इसलिए आप चाहे तो किसी तरह से चाइना ओर नेपालके बोर्डर एरियाका कोही पिक्चर या भिडियो दे सक्ते है । हमारे लिए चाइना बोर्डरका कोही सिन चाहिए, चाह वो फोटा हो या भिडियो । मिलेगा तो उधरका चाइनिज सेनाका कोही सिन नहीं तो बोर्डर एरियाका कोही घर या गांव या भूगोलका पिक्चर भी चलेगा ।’

छेउमा भएका एक मानिसको समेत सहयोगमा डिएसपी रेग्मीले हिन्दीमा आएको प्रस्तावको आशय प्रस्टै बुझे । त्यसपछि चिया पिउँदै टुटे फुटेको भाषामा प्रत्युत्तर फर्काए, ‘लेकिन पहले बात चाइनाका बोर्डर इधर नगिचका एरियामे नहीं हे, एसा काममे मेरेको आइडिया भि बिल्कुल नहीं हे । बोर्डर एरियामें एसा काम करना बहुत मुस्किल हे । इसलिए माफ करो साप मैं ये काम नहीं कर सकता हुं ।’

कुरो बिग्रेला कि भने झैं गरी आगन्तुक तुरुन्तै बोले, ‘नहीं नहीं आपने मेरा मतलब सम्झा नहीं, उसके लिए आपको कोही मुस्किल या तकलिफ नहीं होगा । आपका कोही दोस्त या उधर रहनेवाला कोही आदमी होता हे न, उसके मद्दतसे भी ये काम कर सकता हे । खर्चका फिकर मत करो, उसलिए जितना भी चाहिए, हम देगा ।’ ठूलो आणविक परीक्षणको पूर्वसन्ध्यामा भएको भारतको यो प्रस्ताव कम खतरनाक थिएन ।
पैसामा भन्दा क्यारिअरमा विश्वास गर्ने रेग्मी त्यसै पनि काँकडभिट्टाजस्तो हरामी ठाउँमा सरुवा भएकोमा खुशी थिएनन् ।

त्यसमाथि नेपालीलाई छिमेकीविरुद्ध प्रयोग गर्ने रवैया आफैंसँग ठोकिँदा उनी लोभिने कुरै भएन । तर, त्यो चालबाजीलाई कूटनीतिक र घुमाउरो पाराले टार्नु थियो । उनले भरसक नपत्याउँदो पाराले र टार्ने हिसाबले त्यो कामका लागि सक्दो कोसिस गर्ने झुटो आश्वासन दिएर पाहुनालाई फर्काए । छुट्ने बेलामा हेल्लो नम्बरहरू पनि साटासाट गरिएको थियो तर रेग्मीलाई प्रयोग गर्दा अभीष्ट पूरा नहुने ठानेर हुनुपर्छ, उताका साबले सम्पर्क गरेका छैनन् भने दोहो¥याएर भेट्न पनि आएका छैनन् ।   

– अम्बिका भण्डारी

टिप्पणीहरू