उपकुलपतिको निवासमा राती ढुङ्गा हानेर आक्रमण

उपकुलपतिको निवासमा राती ढुङ्गा हानेर आक्रमण

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा.नन्दबहादुर सिंहको निवासमा ढुंगामुढा भएको छ । हिजो साँझ पौने ६ बजे निजी निवास र परीक्षा व्यवस्थापन कार्यालयमा ढुंगामुढा भएको बताइएको छ ।

उपकुलपतिको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको हो । विज्ञप्तिमा विश्वविद्यालयलाई ध्वस्त पार्ने गिरोहले उपकुलपतिको निवासमा ढुंगामुढा प्रहार गरी झ्यालका सिसा तोडफोड गरेको बताइएको छ ।

कोभिड-१९ को जोखिमपूर्ण अवस्थामा पनि विद्यार्थीको पठनपाठन र परीक्षाप्रति जिम्मेवार हुँदाहुँदै अप्रत्यासित र अकल्पनीय रुपमा गुण्डागर्दी तथा छापामार शैलीमा उपकुलपतिको निवासमा भएको आक्रमणको घटना जघन्य अपराधको पराकाष्ठा भएको विश्वविद्यालयको ठहर छ । विज्ञप्तिमा घटनामा संलग्नलाई सशक्त कारवाहीको माग गरिएको छ ।विश्वविद्यालयले कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अपमान हुनेगरी विश्वविद्यालय ध्वस्त पार्न खोजिएको आरोप पनि लगाएको छ । उपकुलपति प्रा. डा. सिंहले कुलपति देउवाको सम्मानमा आँच आउने गरी अभिव्यक्ति दिएको भन्ने आरोपको विज्ञप्तिमा खण्डन गरिएको छ । उपकुलपति सिंहलाई बद्नाम गराउन आपराधिक गिरोहले सिंहको एनिमेटेड अडियो बनाएर प्रचार गरेको भन्दै भर्त्सना गरिएको छ ।

‘प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यूप्रति अपमान हुने गरी विश्वविद्यालय ध्वस्त पार्ने एउटा गिरोहले फेरि विश्वविद्यालय कब्जा गरी मोज गर्न सकिन्छ कि भन्ने उध्देश्यले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले व्यक्त गरेको भनिएको कुलपति प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा आँच आउने गरी बनाइएको एनिमेटेड अडियोप्रति घोर भर्त्सना गर्दै त्यसमा संलग्न अपराधीलाई सशक्त कारवाहीको माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा झन्डै ६ महिनादेखि प्राध्यापक र विद्यार्थीहरु आन्दोलनमा छन् । विद्यार्थीहरुले एक हप्तादेखि अनिश्चितकालिन तालाबन्दी गरेका छन् । उपकुलपति प्रा. डा. सिंहमाथि राजनीतिक पूर्वाग्रह र स्वेच्छाचारी रुपमा विश्वविद्यालयलाई सञ्चालन गरेको आरोप लाग्ने गरेको छ ।

उपकुलपति कार्यालयले भने विश्वविद्यालयसँग सरोकार रहेका सम्पूर्ण समस्याहरुको समाधान वार्ता र संवादबाटै गर्न दृढ संकल्पित रहेको बताएको छ । त्यसका लागि उच्चस्तरीय समस्या समाधान समितिले संवादको प्रक्रिया अघि बढाइरहेको सन्दर्भमा उपकुलपतिको निवासमा ढुंगामुढा प्रहार हुनु दु:खद भएको विज्ञप्तिमा बताइएको छ ।

जापानको टोक्यो विश्वविद्यालयबाट विद्यावारिधी गरेका उपकुलपति सिंह क्षमता, सामर्थ्य र विध्वता हुँदाहुँदै पनि आफ्नो कार्यशैलीका कारण विवादित हुने गरेको आरोप छ । उनलाई डेढ वर्षअघि केपी ओली सरकारले भिसी नियुक्त गरेको हो । सिंहले केपी ओलीको भक्त बनेर माथिल्लो पद हात पारेको कर्णालीमा चर्चा पनि हुने गरेको छ ।

https://fb.watch/72d_UqzLms/

टिप्पणीहरू