मन्त्रीको भागबण्डा मिल्यो, बूढानिलकण्ठ र बालकुमारीमा बैठक बस्दै

मन्त्रीको भागबण्डा मिल्यो, बूढानिलकण्ठ र बालकुमारीमा बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । आज बसेको सत्तारुढ गठवन्धनको बैठकमा मन्त्री भागबण्डाबारे सहमति जुटेसँगै मन्त्रिपरिषदलाई पूर्णता: दिन लागिएको हो ।

बताइएअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी र जसपाले ७-७ मन्त्रालय लिने गरी गठवन्धनका नेताहरुले सहमति गरेका हुन् । मन्त्रिमण्डल विस्तारबारे सहमति भएपछि काँग्रेस र जसपाले आन्तरिक बैठक बोलाएका छन् ।

काँग्रेसले प्रधानमन्त्री तथा सभापति देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएको छ भने पार्टी कार्यालय बालकुमारीमा जसपा कार्यकारिणी समितिको बैठक बस्दैछ । सत्ता गठवन्धनको अर्को प्रमुख दल माओवादी केन्द्रले भने मन्त्री छनोटको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि नै दिइसकेको छ ।

यता,सत्ता गठवन्धनको अर्को दल एमालेको माधव नेपाल समूह भने तत्काल सरकारमा सहभागी नहुने भएको छ । सरकारमा जानेबारे सो समूहभित्रै दुईथरि धारणा आएपछि तत्काल सरकारमा नजाने भएको हो । नेपाल समूहका नेता तथा सांसद विरोध खतिवडाले तत्काल सरकारमा नजाने जानकारी दिनुभयो ।

नेपाल समूह सरकारमा सहभागी नहुने भएपछि सरकारी तथा संवैधानिक नियुक्तिमा उसलाई अधिकतम अवसर दिन गठवन्धनका दलहरु सहमत भएको बुझिएको छ । यसअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले बरिष्ठ नेता माधव नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आउनुभएको थियो ।

टिप्पणीहरू