मातेर ज्यान मार्नेलाई त्यत्तिकै छाड्ने श्रीमान ?

मातेर ज्यान मार्नेलाई त्यत्तिकै छाड्ने श्रीमान ?

माग दावी एउटा,फैसला अर्कै भएपछि कानूनको नौ सिंग हुन्छ भन्ने कहावत सत्य देखिएको छ । कृष्णप्रसाद उपाध्यायको जाहेरीका आधारमा नेपाल सरकारवादी भएको सवारी ज्यान मुद्दाका अपराधी रुपन्देही साँस्कृतिक नगरपालिका ५ लुम्बिनीका ४२ वर्षीय प्रविन्द्रराज शाक्य असार २३ गते जेलमुक्त भएर पीडित परिवारलाई गिज्याउँदै हिंडेपछि यस्तो कहावत चरितार्थ भएको हो ।

उनले चलाएको बा १९ च २०६८ नम्बरको कारले ठक्कर दिंदा रुपन्देही शुध्दोधन गाउँपालिका २ का २४ वर्षीय महेन्द्र मरासिनीको मृत्यु भएको थियो । शाक्यले मुद्दा कमजोर बनाउन मृतकका बुबा खुमराज उपाध्यायलाई प्रलोभनमा ल्याई क्षतिपूर्ति दिएपछि माग एउटा,फैसला अर्को आउने वातावरण तयार भएको अनुमान लगाइँदैछ ।

गत माघ १६ गते भएको सो दुर्घटना र लाशजाँच मुचुल्का अनि जाहेरी,वयान तथा घटना विवरणका आधारमा उनविरुध्द नेपाल सरकारीवादी भएको सवारी ज्यान मुद्दा २०७७ सालको मुद्दा नं. ०७७ सिआइ ०२३३ मा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १४२ विपरित १६१ (२) बमोजिमको कसुर गरेको अभियोगसहित अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिमको माग दावी गरिएको थियो । तर रुपन्देही जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (३) को कसुर ठहर गर्दै सोही ऐन बमोजिम ६ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना हुने ठहर सुनाएपछि यो प्रश्न उठेको होे ।

सो ऐनको दफा १४२ मा ‘मादक पदार्थ तथा अन्य लागू पदार्थ सेवन गर्न नहुने,सवारी चलाउँदा चालकले मादक वा अन्य पदार्थ सेवन गर्न हुँदैन’ भन्ने उल्लेख छ । शाक्यले वयानमा घरेलु मदिरा सेवन गरी आफैले चलाएको कारले ठक्कर दिएर महेन्द्र मरासिनीको मृत्यु भएको स्वीकार गरेका थिए । मादक पदार्थ सेवन परिक्षणको प्रतिवेदनमा समेत The examine has consumed alcohol but not under influences of it. भन्ने उल्लेख छ ।

मादक पदार्थ सेवन गरेको तर यसको प्रभावमा नरहेको भन्ने प्रतिवेदनकैं आधार मान्दा पनि उनले दफा १४२ विरुद्धको अपराध गरेको अवस्था विद्यमान देखिने राय पीडितहरुले दिएका छन् । उनलाई प्रहरीले मादक पदार्थको गन्धे भएको अवस्थामा घटनास्थलबाटै पक्राउ गरेको थियो । प्रतिवेदनमा कति मात्रा सेवन गर्दा प्रभावमा आउने वा नआउने त्यसको निर्क्यौल भने गरेको पाइन्न ।

त्यसैगरी उनीविरुद्ध माग दावी गरिएको दफा १६१ (२)मा पनि ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिंदादेखिदैं पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरवाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसलाई त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरुप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्र अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख सम्म जरिवाना हुने’ व्यवस्था छ ।

असार २३ गते भएको फैसलामा भने ‘जम्मा ६ महिना ६ दिन न्यायिक हिरासतमा बसेको र निजलाई लागेको कैद असूल भई सकेको देखिंदा लगत कसी असूल जनाउनु र जरिवानाको हकमा निज न्यायिक हिरासतमा बसेको बढी अवधि दिन ६ को रु. ३००।०० ले हुने जम्मा रु. १८००।०० उक्त निजलाई लागेको जरिवाना कट्टा गरी बाँकी रु. २००।०० आजै दाखिला गरे….थुनामुक्त गरिदिनु’ उल्लेख छ ।

बलराम लम्साल श्रीमानको यो फैसलाले सवारी दुर्घटना गरी हत्या गर्नेहरु हौसिने वातावरण तयार हुन सक्ने भएकोले मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा १३४ बमोजिम उच्च अदालत तुल्सीपुर बुटवलमा पुनरावेदन गर्ने तयारी भइरहेको जनाइएको छ । स्रोतका अनुसार शाक्य भने पुनरावेदन जानबाट रोक्ने तयारीमा जे पनि गर्न तयार रहेको बताउँदै हिंडेका छन् ।

उता पीडितहरु चाहिँ बलराम श्रीमान प्रभावमा परेर अनुचित फैसला गरेविरुध्द न्याय परिषद (दर्ता नम्बर २/०७८/४/७) गुहार्न पुगेका छन् ।

टिप्पणीहरू