सेनापतिलाई भूपूहरूको सोधनी, ‘श्रीमती संघमा ढलिमली गर्नेमाथि कानुन लाग्दैन ?’

सेनापतिलाई भूपूहरूको सोधनी, ‘श्रीमती संघमा ढलिमली गर्नेमाथि कानुन लाग्दैन ?’

नेपाली सेनाको श्रीमती संघमा सँधै रमाएका केही अधिकृत,कर्मचारी तथा अन्य दर्जाका व्यक्तिलाई पछिल्ला चार वटा आर्मी चिफको पालामा समेत निरन्तरता दिइएपछि चर्को गुनासो आएको छ । उनीहरूको एक छत्रले रानीसाहेबहरू दंग र सेनाका अरु कर्मचारी भरङ्ग भएपछि भूतपूर्वहरूले जनआस्थामा एउटा पत्र प्रेषित गरेका छन् ।

आफ्नो पत्रमा उनीहरूले लेखेका छन्,‘पूर्णचन्द्र चिफसाहेबले आफ्नो कार्यकालको शुरुवातमै लामो समय एकै ठाउँ बसेका अधिकृत तथा कर्मचारीहरूलाई हटाएर नयाँ व्यवस्थाको थालनी गर्नुभयो । तर आफ्नै श्रीमती अध्यक्ष रहेको संघमा विगत चार वटा चिफ साहेबहरूको पालादेखि बसेका अधिकृत,कर्मचारी तथा अन्य दर्जाका व्यक्तिहरूलाई चाहिँ किन परिवर्तन गर्नुभएन ? अचम्मको विषय रहेको छ ।

त्यहाँ लामो अवधिदेखि डेरा जमाएर बसेकाहरूले विविध तरिकाबाट चार वटै चिफ साहेबका रानीसाहेबहरूको आँखामा धुलो छरेर हो वा कुनै लाभ पेश गरेर हो त्यहाँ टिक्न सफल भएको ? उनीहरूले लामो समयदेखि श्रीमती संघबाट सञ्चालित सबै व्यवसाय र कार्यक्रममा आफ्ना मान्छे सेटिङ गरेर मोटो लाभ लिइरहेको देखिन्छ । तर, जिम्मेवारहरु आँखा चिम्लिएर बसेका छन् ।

उदाहरणका लागि छत्रमान चिफ साहेबको पालादेखि श्रीमती संघ छिरेका अधिकृत नवराज घिमिरे तथा उनका दाहिने हात सुबेदार गणेशले कमाएको अकुत सम्पत्तिको लेखाजोखा किन गरिँदैन ? के श्रीमती संघ घिमिरे र गणेश नभई नचल्ने हो ? नयाँ चिफ साहेबले औपचारिक पदभार ग्रहण गर्न अझै सवा महिना बाँकी छँदै नयाँ रानी साहेबलाई समेत उनीहरूले आगामी तीन वर्षको निम्ति राम्रैसँग प्रभाव पारिसकेको जानकारी प्राप्त भएको छ ।

श्रीमती संघले सञ्चालन गरेको अस्पताल वरपरको चमेना गृह, भान्छा घर,किराना पसल, स्कूलहरूमा समेत उनीहरूले आजसम्म हालीमुहाली गरिरहेका छन् । आफ्ना मान्छेहरूलाई नै अनेक गरी एकै व्यक्ति (भूतपूर्व हवल्दार तेजबहादुर थापा होटल तथा पाहुना घर सञ्चालक,जसले अनेक भूपूको नाममा टेण्डर हाली आफैँ फाइदा गरिरहेका छन्) लाई चार वटा चिफको कार्यकालमा टेण्डर पारिदिएर मोटो रकम मासिक रुपमा बुझिआएको कुरा जगजाहेर नै छ ।

त्यसको निश्पक्ष छानबिन गर्ने हो भने पत्ता लाग्छ । के त्यो व्यवसाय हामी भूपूहरूले गर्नै नपाउने हो ? एक जना भूपू हवल्दार तेजबहादुर र श्रीमती संघका अधिकृत नवराज घिमिरेले मात्र १२ वर्षसम्म लाभ लिइरहने हो ? नेपाली सेनामा अरु भूपूलाई चाहिँ आफ्नो परिवार पाल्ने यस्तो अवसर दिनुहुन्न ?

पूर्णचन्द्र चिफ साहेबले त्यता ध्यान नदिनु भएको कि देखेर पनि नदेखे झैँ गर्नु भएको हामीले पछिल्लो वर्षमा कुनै भेउ नै पाएनौं । जुनसुकै चिफ साहेबका रानी साहेबहरूलाई सजिलै विश्वासमा लिनसक्ने खुबी भएका यस्ता व्यक्तिहरूले संस्थालाई धमिरा जस्तो गरी खाएका छन् । तर खुलमखुल्ला भएका यस्ता हर्कत बारे कसैले पत्तो नपाएको देखेपछि बाहिर सडकमा गाडामा म.म.बेचेर बस्न बाध्य हामी भूपूहरूको मन कटक्क खाएको छ ।

धेरैजना हाकिमलाई अनौपचारिक रुपमा अनुरोध गर्दा पनि सुनुवाई नभएपछि तपाईंको सञ्चारमाध्यमबाट यो दुःखेसो सार्वजनिक गरेका छौं । कृपया यस विषयमा राम्रोसँग छानबिन गरी दिनुहोला । यो सन्देश कार्यरथी सर,पूर्णचन्द्र चिफ साहेब र नयाँ चिफ साहेबकोमा पुर्याइदिनु होला ।’

पीडित भूतपूर्व सैनिकहरू

टिप्पणीहरू