उनलाई किन रातारात लगियो उता ?

गुणराज भण्डारी अर्थ मन्त्रालयभित्र उपप्रधानमन्त्री कृष्णबहादुर महराको निजी सचिवको भूमिकामा थिए । तर, त्यहाँ माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनको युनिट अध्यक्ष हुँदाहुँदै एयरपोर्ट भन्सारमा पु¥याइयो । आखिर सुन छिराउने बेला जो तैनाथ हुनु थियो ।

महिना दिनअगाडि ३४ किलो सुन विमानस्थलबाट बाहिरिँदा भण्डारी ड्युटीमै थिए । त्यो घटनाको अध्ययन गर्न भन्सार विभागले उपमहानिर्देशक सुमन दाहालको नेतृत्वमा टोली नै खटाएको छ । तर, छानबिनको दायरामा रहेका भण्डारीलाई चाहिँ त्यहाँबाट रातारात राजश्व अनुसन्धान विभागमा पठाइएको छ । जो राजश्व छलीको अनुसन्धानको घेरामा छन्, तिनैलाई राजश्व चुहावट अनुसन्धानको जिम्मा दिइएको छ । योभन्दा उदेकलाग्दो के हुन्छ ? त्यति मात्र होइन, भन्सारको छानबिन टोली र प्रहरीले त्यसबेला एयरपोर्टको ड्युटीमा को–को थिए भनेर नामको सूची माग्दा उनको नाम सधैं छुटाइन्छ । किन त्यसो हुन्छ भने नारायण सापकोटा त्रिभुवन विमानस्थलको भन्सार प्रमुख छन् । उनी कहिले एमाले त कहिले माओवादी बन्ने पात्र हुन् ।

तथ्य कसरी लुकाउन खोजिँदैछ भने त्यो दिन भण्डारीले हाजिर गरेका थिए । २० देखि २५ गतेसम्मको ड्युटी चार्टमा टेकबहादुर अर्याल र टंक पौडेल गरी दुईजना उपसचिव र यिनको मातहतमा खटिएकाहरुमा अफिसर गुणराजसँगै अस्थायी बहिदारबाट सेवामा छिरेर त्रिवि विमानस्थलमै निरन्तर रहेकी मानकुमारी केसी, पर्शुराम दाहाल, प्रमोद सापकोटा, लालबहादुर गुरुङ, वेद बुढाथोकी, केशव नेपाल, पोष्टराज बाँस्तोला, आशिष पौडेल थिए । तर, तथ्यांक अधिकृत श्रीनाराण यादवमात्र अहिले थुनामा छन् । यसरी आफ्नालाई च्याप्ने, अरुलाई फसाउने गरेपछि कसरी स्वतन्त्र कर्मचारीले काम गर्ने ? के कुनै दलको झण्डा नबोक्नेले अब जागिर छाड्नैपर्ने हो या मन्त्री फेरिएपिच्छे दल बदल्ने जस्तो अति लुच्चा व्यवहार देखाउनै पर्ने भो ? अब, स्वाभिमानी र इमान्दारको दिन सकिएकै हो त ?

– उद्धव केसी

टिप्पणीहरू