साँस्कृतिकमा काण्डैकाण्डका सलह

डान्सबार रेस्टुराँको धन्दा चलाउनेलाई लगेर साँस्कृतिक फाँटमा राखिँदा त्यो पार्टीको साँस्कृतिक विभाग कस्तो होला ? के हाम्रा राजनीतिक दलका साँस्कृतिक फाँट कला, साहित्य, संस्कृति बुझेको मान्छे नभेटेर हो ? अनेक काण्ड लागेर चरित्रमा ‘दाग’ लागेकाहरूलाई त्यहाँ लगेर थन्क्याइएको ? होइन भने माओवादी केन्द्रमा ‘यौनकाण्ड’को आरोप लागेका चेतन सापकोटा, गणेश भण्डारी साँस्कृतिक फाँटमा क्रियाशील छन् ? दीपक मनांगेको पैसा ल्याएर चक्रीय ब्याजमा लगानी गरी अरू कलाकारलाई बिल्लीबाठ पार्ने राजकुमार राईहरूले कांग्रेसको साँस्कृतिक फाँटमा बसेर ‘तर’ मात्र मारेनन् । मीनेन्द्र रिजालहरूको चाकरी गरी–गरी चलचित्र विकास बोर्डको अध्यक्ष पड्काए । कांग्रेस निकटका कलाकर्मी भन्छन्, ‘बोर्डमा रहुञ्जेल मात्र हो यिनी कांग्रेस बन्ने ।’ उनको मूल अर्थात् दीपक मनाङे राप्रपा नेपालमा प्रवेश गरेका कारण राईले समेत राप्रपामै जाने चाँजोपाँजो मिलाइसकेका छन् ।  

उता, बाबुराम भट्टराईको नयाँ शक्तिमा समेत यस्तै काण्डवालका कारण बबाल मच्चिएको छ । त्यहाँको साँस्कृतिक फाँटमा प्रदीप देवानहरू सक्रिय छन् । दार्जिलिङमा जन्मेर, उदयपुरको नागरिकता लिएका उनी शुरुमा गीता रानाको स्कुल ग्यालेक्सीमा चालक थिए । शिक्षकसम्म भए । यो पेशाले पनि सन्तुष्ट भएनन् । अहिले सर्वनाम थिएटर रहेको ठाउँभन्दा केही पर डान्सबार रेस्टुराँ चलाए । यो पेशामा आम्दानी मनग्य हुने देखेपछि बानेश्वरमा समेत यो पेशालाई विस्तार गरे ।

प्रदीप अब खाँटी माओवादी मात्र भएनन् । पछाडि साँस्कृतिक फाँटकै नेतृत्व पड्काउन पुगे । त्यही समय उनलाई सिधै साँस्कृतिक फाँटमा नियुक्ति दिइँदा माओवादीमै क्रियाशील रहेका साँस्कृतिककर्मीले चर्काे विरोध जनाए । तर, विरोधको स्वर जति चर्काे भए पनि केही लागेन । पछि बाबुराम भट्टराई प्रधानमन्त्री बने । भट्टराईको सल्लाहकार पड्काउन सफल भए । भट्टराईले नयाँ शक्ति जन्माएपछि साँस्कृतिक विभागमा सक्रिय रहन थाले । अहिले यिनै देवानका कारण बबाल मच्चिएको छ । कहिले राजधानीमै रहेको एउटा रेडियो सञ्चालकको श्रीमतीसँग त कहिले पूर्वको राई थरका गायकको श्रीमतीसँगको हिमचिमले चर्चा र विवादमा तानिएका प्रदीपकै कारण नयाँ शक्तिको साँस्कृतिक फाँट गन्हाएको चर्चा नयाँ शक्तिवालाले गर्न थालेका छन् । 

टिप्पणीहरू