संसद पुनस्र्थापना सम्बन्धी असार २८ गतेको सर्वोच्चको परमादेश सच्चियो

संसद पुनस्र्थापना सम्बन्धी असार २८ गतेको सर्वोच्चको परमादेश सच्चियो

सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते गरेको संसद पुनस्र्थापना सम्बन्धी परमादेशमा संशोधन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणासहित पाँच जना न्यायाधीशको आज बसेको इजलासले उक्त आदेशको पृष्ठ ३४ र ८१ मा आवश्यक संशोधन गरेको हो ।

संशोधित आदेशअनुसार उक्त पृष्ठहरूमा २०७८ जेठ ७ गतेको सट्टा अन्यथा उल्लेख हुन गएको र १९९३ को अप्रिलमा भन्ने शब्दहरूको सट्टा अन्यथा भएकाले सच्चाइएको छ ।

आदेशमा भनिएको छ, ‘उल्लिखित शब्दहरू न्याय प्रशासन ऐन, २०७३ को दफा १८ (३) बमोजिम सामान्य टाइप/मुद्रण त्रुटी सच्चाईएको छ । यो आदेशलाई मिति २०७८ असार २८ मा जारी भएको ठहर आदेशको अभिन्न अंगको रुपमा रहने गरी मिसिल सामेल राख्नु ।’

प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले हालका प्रधानमन्त्री शेरबहादुर देउवालगायत प्रतिनिधिसभाका १ सय ४६ जना सांसदले हालेको रिट निवेदनमाथिको सन्दर्भमा जारी गर्नुभएको परमादेशमा हुन गएको टाइप तथा मुद्रण त्रुटीलाई सच्चाइएको बताइएको छ ।

टिप्पणीहरू