काठमाडौं महानगरपालिकाद्वारा कर नतिर्नेहरुमाथि चेतावनी

काठमाडौं महानगरपालिकाद्वारा कर नतिर्नेहरुमाथि चेतावनी

काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिनभित्र घरजग्गा सम्पत्तिलगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिब २३ वटा ठूला करदाताको कार्यालयस्थलमै पुगेर माइकिङ गर्दै आजबाट तीन दिनभित्र अर्थात् साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो ।

उनीहरुबाट करिब ७० करोड कर असुली गर्न बाँकी रहेको अनुमान गरिएको छ । तोकिएको समयभित्र पनि अटेर गरेर कर नतिरे ती करदाताहरुको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेसहितको कडा कारबाही गर्ने काठमाडौं महानगरपालिकाको राजश्व विभागका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताउनुभयो ।

काठमाडौं महानगरपालिका, राजश्व विभागकोले गत असार ३० गते जारी गरेको सार्वजनिक सूचनामा पटक पटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायु हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लब, युनाटेड वल्र्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, बागमती च्याम्बर, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल क्षयरोग केन्द्र, नेपाल रेडक्रम सोसाइटी, आदर कम्प्लेक्स, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान रहेका छन् ।

त्यसैगरी, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टार मलसमेत गरेर २३ वटा ठूला कर दाताले अटेर गरेपछि तीन दिनभित्र कर असुल गर्न माईकिङ समेत गरेर ताकेता गर्नु परेको महानगरले जनाएको छ । विभागीय प्रमुख अधिकारीले कतिपय करदाताहरुलाई अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदा पनि अटेर गरिरहेको बताउनुभयो ।

राजश्व विभागले सम्पत्ति कर सम्बन्धित वडा कार्यालयबाटै उठाउँदै आएको छ । तर ठूला करदाताहरुले कर नतिर्न अदालत जानेलगायतका काम गरेपछि असुलीको काम आफैँले गर्नु परेको पनि विभागीय प्रमुख अधिकारीले स्पष्ट पार्नुभयो । तत्काल सबै सम्पत्ति कर असुली गर्न समस्या भए वर्ष दिनभित्र तीन वटा किस्तामा दाखिला गर्न पनि राजस्व विभागले करदाताहरुलाई सूचित समेत गरेको छ ।

टिप्पणीहरू