ठग्न पनि कला चाहिन्छ नि गुरु !

  • राजेन्द्र स्थापित

मार्क अकलोमको जन्म लण्डनको बामले नामक बस्तीमा भयो । बाबु ब्रायन ठूला पूँजीपति नभए पनि सम्पन्न थिए । ब्रायनकी पत्नी डायना सुन्दर । मार्क पनि सुन्दर, आकर्षक र मृदुभाषी । सानैमा अरुलाई प्रभावित पार्नसक्ने क्षमता । शुरुशुरुमा मार्कले पढाइमा ध्यान दिए तर पछि धनप्रति आकर्षित हुन थाले । ससेक्सस्थित इष्ट कलेजमा पढ्दै गर्दा पुँजीपति बन्ने, वैभव र विलासीपूर्ण जीवन बिताउने लालसा बढ्यो ।
१६ वर्षको हुँदा बिमा अभिकर्ता बाबुको अमेरिकन एक्सप्रेस कार्ड चोरे । १ सय २० पटक दुरुपयोग गरे ।

११ हजार २ सय ५० पौण्ड निकालेर बाबुलाई ठगे । हक्की खेल्दै गरेका साथीहरुलाई लिएर ग्राण्ड होटल पुगे । स्याम्पेन पिए । निजी जेट भाडामा लिएर घुमाए । ह्यारोड्समा किनमेल गराए । डोम पेरिगोनमा लगेर प्रथम श्रेणीको खाना खुवाए । त्यहाँबाट नाइट क्लब लगे, जहाँ नर्तकीहरु एक–एक गरी लगाइराखेको लुगा खोलेर नांगिन्थे । त्यसदिन उनीलगायत साथीहरुले जीवनमै पहिलोपटक उच्चस्तरको जीवनशैली कस्तो हुँदो रहेछ, अनुभव गरे ।
बाउलाई ठगेर केही दिन ऐशआरामको  जीवन बिताएपछि मार्कलाई न पढ्न मन लाग्यो, न काम गर्न । संसारलाई ठगेर रातारात धनी बन्ने सोच्न थाले । नक्कली योजनाहरु बनाउन थाले । यस्तो योजना बनाए, जसमार्फत साधारण मानिस पनि दुई–चार दिनमै धनी बन्न सकुन् । साधारण र सोझा बेलायती उनको जालमा नराम्रोसँग फस्दै गए । धनी बन्ने सपना बाँड्थे ।

पूर्ण आत्मविश्वासका साथ योजनाहरु अघि सार्थे । प्रायः योजना पुँजी नियोजन सम्बद्ध हुन्थ्यो । पहिलो जाल कलेजकै दुई शिक्षकमाथि फ्याँके । रातारात अर्बपति हुने सपना देखाएपछि मन्त्रमुग्ध भएका शिक्षक मार्कको नक्कली स्किममा १८ हजार पौण्ड लगाउन राजी भए । मार्कले सो रकम खल्तीमा राखे र अर्काे शिकार खोज्न थाले । उनको सबैभन्दा ठूलो हतियार वाकपटुता थियो । यसैलाई कुशलतापूर्वक प्रयोग गरेर धेरैलाई नक्कली कम्पनीमा लगानी गर्न लगाए । कम्पनीका जुनियर पार्टनर आफ्नै बाबु ब्रायनलाई बनाएका थिए । बित्त निवेशको चर्चा र विश्लेषण मार्क यति सशक्त तरिकाले गर्थे कि जोसुकै आँखा चिम्लेर उनको कम्पनीमा लगानी गर्न तयार हुन्थे ।

पछि आफूलाई शेयर बजारको दलाल बताउन थाले । वार्षिक दुई लाख पौण्ड तलब पाउने धमास दिँदै गए । यद्यपि न उनीसित पुँजी थियो न कहिल्यै शेयरबजार टेकेका थिए । तैपनि शेयर बजारमा प्रयोग हुने शब्दावली यति कुशल ढंगले प्रयोग गर्थे कि ठुल्ठूला अनुभवी र चतुर पुँजीपति र व्यापारी पनि जालमा नराम्रोसित फस्न पुग्थे । दलाल बताएर पनि दश लाख पौण्ड कमाए । एउटा निजी जेट कम्पनीलाई नक्कली योजनामा लगानी गर्न लगाएर ३४ हजार पौण्ड कमाए । लिट्स कम्पनीबाट चार लाखको बन्धकपत्र प्राप्त गरे । यो व्यापारमा टम लिसन नाउँको व्यापारीलाई पार्टनर बनाए । ६० हजार पौण्ड तलबको आश्वासन दिए । पारिश्रमिकको अलावा व्यापारबाट हुने मुनाफाको एक तिहाई अंश दिने वचन दिए । दुई–चार महिनाभित्रै दश लाख पौण्डभन्दा बढी आम्दानी हुने र २० वर्षको हुँदा नहुँदै ऐशआरामको जिन्दगी बिताउन क्यामेन द्विप जाने सपना देखाए । टम सजिलै मार्कले बिछ्याएको जालमा फसे । आमा–बाबुलाई छाडेर मार्कसँगै बस्न आइपुगे । दुवै दिनहुँ नाइट क्लब जान थाले । मनोरञ्जनको व्यवस्था गरिदिएर ठुल्ठूला व्यापारीलाई अँठ्याउन थाले ।

टमका अनुसार मार्क जब घरबाट निस्कन्थे, उनको खल्ती ५०–५० पौण्डको नोटले भरिएको हुन्थ्यो । पैसा पानीसरह बगाउँथे । रात्रिक्लबमा जाँदा एकपटक त्यस क्षेत्रका डचेज (राजकुमारी) सँग भेट भयो र मार्क उनैसँग नाच्न थाले । त्यसदिन उनले कति रकम धुलोसरह उडाए, टम त्यो देखेर छक्क परे । टम भन्थे, ‘धनी व्यापारी मार्कको मृदुभाषी स्वभाव र बैंक तथा वित्तसम्बन्धी जानकारीबाट तुरुन्तै प्रभावित हुन्थे र योजनालाई गलत भन्नै नसक्ने हुन्थे । रइसको जीवनस्तर जिउँथे । वातानुकूलित गाडी चढ्थे, ठूला होटलको मदिरालयमा घण्टौं बसी स्याम्पेन पिएर आफूलाई ठूलो हस्तीका रुपमा प्रस्तुत गर्थे, उनको यो जीवनस्तर देखेपछि अरु व्यापारी उनको योजनामा सहभागी हुन तयार हुन्थे ।’

मार्क फोनमार्फत शेयर बजारको स्थिति बुझ्थे, त्यसैको आधारमा चलाखी गरी धनी र व्यापारीसँग किनबेचको सम्झौता गर्थे । लगानी गरेको रकममा ३८ प्रतिशत नाफाको प्रलोभन दिन्थे । लगानीको रकम सिधै लक्जम्बर्गस्थित आफ्नो खातामा जम्मा गर्न भन्थे । यसबीच मार्कल्याण्ड नाउँको धनी मानिसलाई विश्वासमा लिए । बैंकबाट दश हजार पौण्ड झिकेर आफ्नो नक्कली योजनामा लगानी गर्न लगाए । त्यसैगरी रोज आइल्सलाई पनि आफ्नो खातामा ८ हजार पौण्ड जम्मा गर्न लगाए ।

त्यसपछि पूर्वप्रधानमन्त्री मार्गरेट थैचरको घरनजिकको बंगला पाँच लाख ५० हजार पौण्डमा खरिद गर्न बिल्डर्स सोसाइटीसँग कुराकानी गरे । बिल्डर्स ट्राइहोम्स पाँच कोठायुक्त उक्त बंगला खरिद गर्न पाँच लाख दिन तयार भयो । मार्कले पेश्कीको रुपमा ५० हजार पौण्ड आफ्नो खातामा जम्मा गर्न लगाए । जुन रकम कहिल्यै फर्काएनन् । यसका निम्ति वार्षिक दुई लाख तलब पाउने ग्यारेण्टीपत्र बुझाएका थिए । यही स्किममा अर्को एउटा कम्पनीले पनि चार लाख लगानी गर्न सहमति देखाएको थियो । कम्पनीले मार्कलाई नभेटिकनै । एउटा गाडी बिक्रेताले १० हजार ५ सय पौण्डको जाली चेक लिएर मार्कलाई बिएमडब्लु कार लान दियो । फोन बिक्रेता जेम्स पेजले पनि उनले दिएको पाँच हजार पौण्डको नक्कली चेक सहर्ष स्वीकारे । पछि ठगिएको थाहा पाए । तैपनि भने, ‘उनी साँच्चै निकै प्रतिभाशाली थिए, यस्तै हो भने छिट्टै अर्बपति बन्नेछन् ।’

मार्कले व्यापारी हेनवुडलाई जालमा फसाउन खोजे । हेनवुडलाई उनीप्रति शंका जाग्यो । तर केही नभनी सँगै जेट विमानबाट मेडेरा घुम्न जान तयार भए । यसका लागि दुवैले जेट भाडामा लिए । भाडा तिर्न लगाएपछि मार्कको पछाडि जासुस छाडे । छानबिनमा मार्क ठूला ठग भएको र उनले धेरैलाई ठगिसकेको पत्ता लागेपछि हेनवुडले मार्कको गाडी कब्जा गरे र पाँच हजार पौण्डको चेकमा हस्ताक्षर गराउन बाबु ब्रायनको घर पुगे । मुद्दा प्रहरीसम्म पुग्यो । प्रहरीले डलविचस्थित घरमा छापा मारेर मार्कलाई पक्राउ ग¥यो । प्रहरीको सामु केटाकेटीजस्तो व्यवहार गरे । एउटै प्रश्नको जवाफ कहिले हो भनेर त कहिले होइन भनेर दिए । बल्ल पछि १० लाख पौण्ड ठग्ने योजना बनाएको स्वीकारे । आमाबाबुको घर छाडेर हिँडेपछि ठगेको पैसाकै भरमा ३० लाख ५० हजार पौण्डमा घर किनेका थिए ।

रुप र धनमा लोभिएर २२ वर्षीया युवतीद्वय जिलियन र मैण्डी उनको सहायक बन्न पुगेका थिए । मैण्डीले तीन महिनासम्म डलविचस्थित बंगलामा सँगै बिताइन् । एउटा मदिरालयमा मस्तसँग स्याम्पेन पिउँदै गरेको देखेपछि मैण्डी मार्कप्रति भुतुक्क बनेकी थिइन् । अर्की युवती जिलियनले पनि मार्कसँग एउटै छतमुनि पाँच महिना बिताइन् । मार्क दुवै सुन्दरीमाथि धन खर्च गर्थे । वातानुकूलित गाडीमा राखेर घुमाउँथे । एकपटक मोज गर्ने मनसायले जिलियनलाई ब्राइटनस्थित ग्राण्ड होटलमा लिएर गए । एक हजार दुई सय पौण्डको बिल भुक्तानी गरेपछि एउटा जेट विमान भाडामा लिए र मैण्डीसँग क्यानरी द्विप र पेरिस घुम्न गए । उनी दुवैलाई नाइट क्लब लिएर जान्थे । दुवैलाई प्रयोग गरेर त्यहाँ आउने व्यापारीलाई लुट्थे ।

बाउ र शिक्षकलाई ठग्न नछुटाउने मार्कले गर्लफ्रेण्डलाई नठग्ने कुरै भएन । एकपटक जिलियनलाई नाटक देखाउन लगे । शानदारको होटलमा खाना खाए र मदिरा पिए । नाट्यघरको टिकट पनि लिए तर जब भुक्तानी गर्ने समय आयो, ब्याग छुटेको बहाना बनाएर जिलियनलाई तिर्न लगाए । जिलियनले चुपचाप आठ सय पौण्ड तिरिन् । त्यसैगरी मैण्डीबाट पनि तीन हजार पौण्ड ठगे । मार्क प्रेमिकाहरुसँग झूठ बोल्थे । आफ्नो उमेर २३ वर्ष बताउँथे । प्रेमिकाहरु भने मार्कले उमेर लुकाएको ठान्थे । ३० को हुनुपर्छ भन्ठान्थे जबकि मार्कको उमेर त्यसबेला १६ वर्ष थियो । यतिखेर ४८ वर्षको भइसकेकी जिलियन सम्झन्छिन्, ‘मार्क सोचेर–सम्झेर बोल्थे । रइसको जीवनशैली जिउँथे । रवाफिलो व्यवहार देखाउँथे । लाग्थ्यो, त्योबेलाका बादशाह उनै हुन् ।’ मैण्डी पनि त्यस्तै भन्छिन्, ‘उनी ठग हुन् भनी कहिल्यै शंका गरिनँ । किनकि उनी मलाई ठूलो होटलमा लगेर खुवाउँथे, रक्सी पिलाउँथे । एकपटक त १ हजार २ सय पौण्डको बिल चुकाए ।’

पक्राउ परेपछि भने मार्कलाई देखेर सबै हैरान भए । १६ वर्षका नाबालिग किशोरले ६ महिनाभित्र देखाएका कर्तुत र ठगेरै करोडपति बनेको खबर थाहा पाएपछि लण्डनवासी सन् १९९१ को जुन ४ मा इनर लण्डन क्राउन कोर्टबाहिर जम्मा भए, उनै नाबालिग ठगलाई हेर्न । ६ महिनाभित्र आफूले ठगेको काण्डको सूची अदालतसमक्ष प्रस्तुत गर्दैछन् भन्ने हल्ला फैलिएपछि नागरिक एकत्रित भए । न्यायाधीशले आशनग्रहण गरेलगत्तै प्रहरीले मार्कलाई अदालतमा प्रवेश गराए । उपस्थित सबैले हैरान बन्दै उनलाई हेरे ।

अनुहारमा जुँगाको रेखीसमेत नपलाएको युवकले ठुल्ठूला पुँजीपतिलाई ठगे भनेर कसैले अनुमान गर्न सकेनन् । कारबाही शुरु गर्न न्यायाधीशले संकेत गर्नेबित्तिकै सरकारी वकिल डेभिड फिसरले अभियोगपत्र सुनाउँदै भने, ‘श्रीमान्समक्ष उभिएको नाबालकको नाउँ मार्क अकलोम हो । उसले दर्जनौंलाई ठगेको सुन्नु भो भने तपाईंहरु सबै चकित बन्नुहुनेछ । आश्चर्यको कुरा त यो छ कि यो महाठगले ठग्ने काइदा कसैसित सिकेको थिएन । अहिले पनि स्कुले छात्र नै हो । योसित न धन छ न कहिल्यै शेयर बजारमा पाइलै टेकेको छ । यसको बाबजुद शेयर बजारको दलाल बनेर दर्जनौंलाई ठग्न सफल भयो । ठूलो बंगला खरिद गरेर पुँजीपति–व्यापारीसरह ठाँटसँग जीवन जियो । आफ्नो सम्पर्कमा आउने कसैलाई ठग्न छाडेन । आफ्नै बाबु र शिक्षकलाई पनि छाडेन भने बाँकी अरुको कुरै छाडौं ।’

उपस्थित सबैजना मार्कलाई ट्वाँ परेर हेर्दै गरेको देखेपछि फिसरले फेरि भने, ‘यसको अनुहार यति सोझो र भलाद्मी खालको छ कि मैले बताउने अपराध गरेको होला भनी कसैले पत्याउने छैनन् । त्यसैले सबैले उसैको मुखबाट सुन्नुस् ।’ मार्कले अपराध स्वीकार्दै भने, ‘हो, मैले रोमान्स गर्न दुईटी किशोरीलाई सहायक बनाएको हुँ । यिनीहरुमाथि दैनिक दुई हजार डलर खर्च गर्थें । ठगीमा प्रयोग गर्थें, मोजमस्ती पनि गर्थें । फिसरले लगाएको १ सय १९ ठगी काण्डमध्ये पाँचवटालाई स्वीकार्छु । बाँकीको पनि छानबिन होस् ।’

अदालतले मार्कलाई चार वर्ष जेल सजायँ दियो । सन् १९९४ मा रिहा भएपछि पुनः नाइट क्लब जान थाले, जहाँ सिर्पासँग भेट भयो । दुवैले बिहे गरे । बिहेको प्रमाणपत्रमा फेरि पनि ढाँटेर पेशामा लेख्न लगाए– वकिल । सिर्पा शीघ्र एक छोरा र एक छोरीको आमा बनिन् । त्यसपछि पनि ठग्न छाडेनन् । बाथ नगरवासी ५५ वर्षीया क्यारोलिन वुडलाई गुप्तचर संस्था एमआई– ७ को एजेन्ट र स्विस बैंकमा कार्यरत भनेर ८ लाख ५० हजार पौण्ड ठगे । महिनौं दिनसम्म मोजमस्ती पनि गरे । विश्वास जिते । दुई बच्चाकी आमा क्यारोलिनले जीवनभर कमाएर बचत गरिराखेको श्रीसम्पत्ति मार्कलाई सुम्पिदिइन् । रकम हात परेपछि मार्क लापत्ता भए । यसैगरी इयान मार्कल्याण्डबाट १८ हजार, फ्रान्क अबाग्नालेबाट ८ लाख, एकजना मोडलबाट ५० हजार डलर ठगे ।

पछिल्लो समय आफ्नो सक्कली नाउँले कहिल्यै प्रस्तुत भएनन् । मार्क रोज रोड्रिगेज, जर्ज केनेडी, जैक मोस, मार्क कन्वे, मार्क सौन्दर्स, मार्क रोसी आदि छद्म नाउँ राख्दै ठग्दै गए । उनी आफू कहिले बैंकर, रियल स्टेटका मालिक, इभेन्ट म्यानेजर, स्त्री रोग विशेषज्ञ, गुप्तचरको रुपमा प्रस्तुत हुन्थे । बेलायती गृह मन्त्रालयले उनको नाउँमा पुनः वारेन्ट जारी गरेपछि सन् १९९८ मा स्पेन भागे । लगत्तै जालसाजीको आरोपमा पक्राउ परे । दुई वर्ष जेल बसे । जेल बसाइकै क्रममा योगा शिक्षिका मारिया योलाण्डा रोज रोड्रिगेजसँग प्रेम गरे । रिहालगत्तै स्पेनमा लापत्ता भए । पाँच फुट १० इन्च अग्ला, न दुब्लो, न मोटो शरीरका धनी, खैरो कपाल र हरियो आँखा भएका मार्कले लगातार ठगी काण्ड मच्चाउँदै गएपछि बेलायतले प्रहरीको खोजीमा रहेका १० अपराधीको सूचीमा उनलाई दर्ज ग¥यो भने स्पेनको नेशनल क्राइम एजेन्सीले पनि खतरनाक ठगको रुपमा सूचीकृत ग¥यो । गत सालको जुन १६ मा उनको विरुद्ध युरोपेली वारेन्ट नै जारी भयो ।

स्पेनमै तीनपटक पक्राउ परिसकेका र ४३ वर्ष उमेरका उनी यतिखेर पनि स्पेनमै लुकेर बसेको र पछिल्लो श्रीमती योलाण्डा पनि साथमै रहेको प्रहरीको अनुमान छ । बेलायतको जेलबाट रिहा भइसकेपछि मात्र कम्तीमा ५० जना महिलालाई अस्मिता र धन लुटेर मूर्ख बनाएको प्रहरीको रिपोर्टमा छ । बीचमा एकपटक पुनः बेलायत छिरेका उनी सन् २०१३ मा स्पेनतर्फ गएका थिए ।

टिप्पणीहरू