होटल व्यवसायी दम्पत्तिको राजमार्गमा निधन

होटल व्यवसायी दम्पत्तिको राजमार्गमा निधन

झापामा होटल व्यवसाय सञ्चालन गर्दै आएको एक दम्पत्तिको हिजो राति भएको सवारी दुर्घटनामा ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक ४, चियाबगान सडक खण्डमा हिजो राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार होटल व्यवसायी दम्पत्तिको निधन भएको हो ।

प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा विपरित दिशाबाट आएको ना ७ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा उनीहरुको निधन भएको हो । ट्रकको ठक्करबाट झापाको कन्काई नगरपालिका ३ का ४३ बर्षीय पूर्णबहादुर बिष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा बिष्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभएको छ ।

थापाका अनुसार गम्भीर घाइते बिष्ट दम्पतीलाई उपचारार्थ लाइफ लाइन अस्पताल दमक पठाइएको थियो । तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । हाल मृतक दुबै जनाको शव सोही अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

सुरुङ्गामा होटल हेभन सञ्चाल गर्दै आएका बिष्ट दम्पत्तिलाई ठक्कर दिएर ट्रक पश्चिमतर्फ भागेको थियो । तर ट्रक र त्यसका चालक विराटनगर ४ का अन्दाजी ४८ वर्षीय सुजन थापालाई ताराबारीको चेक पोइन्टले नियन्त्रणमा लिएको प्रवक्ता थापाले बताउनुभएको छ ।

टिप्पणीहरू