कहिले आउला चोकमा भेटिने दिन ?

एउटा मान्छेसँगको भेटले कति फरक पार्दो रहेछ जिन्दगीमा ! राति निदाउन निकै गाह्रो भयो । बिछ्यौनामा पल्टेको दुई तीन घण्टा बढी भइसक्यो मरिगए, निद्रा लागेको छैन । जति कोसिस गरे पनि मरिगए निद्रा लाग्दैन । तर, आँखा चिम्लिएर लामो–लामो सास फेर्दै घरी यता घरी उता कोल्टो परेर सुतेका छन्, उनी । चारैतिर चकमन्न छ । जुनकिरीको ‘किर–किर’आवाज मात्रै । यदाकदा कुुकुर भुकिरहेको सुनिन्छ । सुनसान रातमा एक्लै छन्, तीन तलामाथि । दिनभरि कार्यालयको कामधन्दाले थाकेका छन् ।

ओछ्यानमा पल्टेको तीन घडी बढी भइसक्यो निद्रादेवीले बोलाउने छाँटकाँट छैन । आँखा चिम्लेर जति निदाउन कोसिस गरे पनि उनकै तस्बिर झलझली आउन थालेको छ । ओंठमा गुलाबी मुस्कान, आँखामा आकाशी सपना, मुहारमा चाँदनी चमक, स्याउरंगी गाला अनि हाँस्दा मोती खसाल्ने हिँउजस्तै सेताम्य दन्तलहर । उनी यस्तै थिइन् । वर्णन गरिसाध्य छैन । किशोरवस्था पार गरेर २० वर्षमा टेकेका छन्, भोजपुर कुलुङ गाउँका सरोज राईले ।

दुई दिदी–बहिनीसहित परिवारमा एक्लो छोरा । बुबा–आमाको सपना पूरा गर्न काठमाडौं आएका । कपनमा बस्न थालेकोे तीन वर्ष बढी भइसकेको छ । आरआर क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययन । आहा ! मनै फुरुंग पार्ने सुन्दरता । भनौं सुन्दरताकी खानी । प्रकृतिले कसरी यस्तो बनायो कि उनलाई जति हेरे पनि हेरुँहेरुँ लागिरहने । तुम्लिङटारमा पहिलो भेटघाट भएको । दुवै जनाको गन्तव्यस्थल काठमाडौं (कलंकी चोक) । पहिलो पटक गाडीमा यात्राको बेला देखेका । ड्राइभर अगाडिको सिटमा चालकसँगै बसेका थियौं,’ भन्छन्, ‘चालकले आफ्नै तालमा गाडी हाँक्न थाले, बोलचाल भएको थिएन । उनी घरी–घरी मतिर हेर्थिन् । म पनि त्यसरी नै हेर्दै थिएँ । तर, मलाई भने कता–कता मनमा प्रेमको टुसा पलाउन थालेको अनुभूति हुन थालिसकेको थियो । हेराहेर चलिरहह्यो ।’

घचक्क, एक्कासि बस रोकियो । उनले चिच्याउँदै टाँसिन आइपुगिन् । ढुंगा खोच्दा देउता मिल्यो । थुक्क साला ! हेरेर बाइक कुदाउँदैन । अकालमै दैवको प्यारो होलास् भन्दै मुर्मुरिएँ । यससँगै गाडीको गति बढ्न थाल्यो । उनको शरीर अलग्गिसकेको थियो । मुसुक्क मुस्कुराउँदै ‘सरी ! मैले जानी–जानी गरेको होइन । अन्यथा नलिनुहोला ।’ यस्तो सुरिलो आवाज कताबाट आएको चालै पाइनँ । खाल्डाखुल्डी परेको कच्ची सडकमा गाडीभित्र सवार सबै यात्रु उफ्रँदै थिए । धुलो–धुँवा हेरिनसक्नु । हावा हल्का चलिरहेको ।

बायाँ झ्यालबाट हेर्दा अरुण नदी एकनासले बगिरहेको स्पष्ट देखिन्छ । यता, चालक बस्ने गाडीको दायाँ झ्यालबाट तोरीबारी र पहेंलै धानको बाला झुलिरहेको (पाकिरहेको)देखिन्छ । ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’ गीत घन्किरहेको । अनायासै, कसैले शरीरमा स्पर्श गरेको महसुस भयो, ‘हजुर मदेखि रिसाउनुभएको हो । मैले अघि नै सरी मागिसकें त’ बल्ल झस्किएँ । मुस्कुराउँदै भने, ‘होइन–होइन । म बाहिरको दृश्य हेरिरहेको थिएँ । हेर्नुस् त, तोरीबारी र पहँेला धानका बाला । आहा ! तलको अरुण नदी । मसँगै गफिन थालिन् । चार घण्टाकोे यात्रापछि बल्ल उनीसँग बोल्ने मौका पाएको थिएँ । उनलाई खुलेर कुरा गर्न लाज लागिरहेको थियो किनकि चालकले घरी–घरी उनीतिर आँखा लगाउने गथ्र्याे । तैपनि, हिच्किचाउँदै कुराकानी गर्थिन् । यसरी नै यात्रा टुंगियो ।  

भोजपुरदेखि काठमाडौंसम्मको यात्रामा एक्लै हिँडेका । कुलुङ गाउँदेखि सदरमुकाम बसपार्क आउन एक घण्टा लाग्छ । बिहान पाँच बजे नै उठेर काठमाडौं आउन बसपार्क पुगेका । काउण्टरमा गएर ११ सयमा एउटा टिकट लिए । ६ बजे गाडीले हर्न बजायो । सबै सिटमा बस्न थाले । उनी पनि ड्राइभर नजिकैको सिटमा बसे । गाडी अघि बढ्ने बेला खलासीले सुइँया गरेर ड्राइभरलाई गाडी रोक्न निर्देशन दियो । एक जना अपरिचित सुन्दरी गाडीभित्र पसिन् । टिकट हेर्दै सिट खोज्न थालिन् । खै, दिनुस् त तपाईंको टिकट ! खलासीले टिकटतिर हेर्दै बसेको ठाउँतिर इशारा दियो ।

नजिकै आएर बसिन् । शरीरमा अत्तर छरेकी थिइन् । गाडी नै पूरै वासनामय । यति राम्री केटीले किन अत्तर लगाएकी ? यिनलाई कसले मन पराउँदैन होला ? बाहिरी रूपरंग यति राम्रो छ, भित्री मन कस्तो होला ? यस्तै सोच्थे, सरोज । उनी अरू केटीजसरी त्यति बोल्ने स्वभावकी देखिन्थिनन् । सोचेजस्ती नै रहिछन् । तीन घण्टाको यात्रा क्रममा पनि कुनै आवाज निकालिनन् । अरू केटी भए वाक्क दिक्क बनाउँथे होला । कोही फोनमा ठुल्ठूला कुरा गगर्दै थिए । घरबाट फोन आउँदा, ‘मामु म बीच बाटोमा आइपुगें । कलंकी चोकमा आइपुगेपछि दाइलाई बाइकमा लिन पठाउनु ।’ यति मात्रै भनेकी थिइन् । ड्राइभरले एक्कासि गाडी रोकेपछि नै त हो उनले आफ्नो परिचय दिएको । ‘मेरो नाम प्रकृति ।’ नाम सुनेर निकैबेर मौन भएको थिएँ । उनले हातले स्पर्श गरेपछि नै त हो मैले उनलाई तोरीबारी, पहँेला पाकेका धान र अरुण नदी देखाएको । काठमाडौंमा नाम चलेको कलेज पेन्टागनमा स्नातक दोस्रो वर्षमा पढ्दी रहिछन् । काठमाडौं आइपुग्ने बेला बल्ल थाहा पाएँ । कमर्स विषय लिएकी । सामान्य कुराकानीमा गफिँदै यात्रा टुंगियो । मोबाइल नम्बर माग्दा प्रतिरोध गरिन् ।

‘मलाई हजुरको नम्बर दिनुस् न !’ सायद कुनै फिल्मी शैलीले भन्नुपर्ने थियो कि अहिले आएर पछुताउँछु । तर, त्यसरी भन्न आएन । सिधै भनें, ‘मलाई हजुरको नम्बर दिनुस् न !’ मैले सम्झिएँ, एकपटक नेपाली शिक्षक सुधीर कोइरालाले भनेको, ‘तेरो बाउको टाउको भन्नु र हजुरको पिताजीको शिर भन्नु एउटै हो । यिनीहरूका शव्द फरक भए पनि तात्पर्य एउटै हो ।’ तर, समय निकै पर गइसकेको थियो । कलंकी बसपार्कबाट हामी छुट्टिसकेका थियौं । म त विद्यार्थी हुँ । आफ्नो खुट्टामा उभिनु छ । समय निकै परिवर्तन भएको छ ।

तपाईं–हामीजस्ता मानिस यात्रामा निकै भेटिन्छन् । यो एउटा अवसर नै हो । तर, खास मानिस त्यतिखेर भेटिन्छ । प्रतीक्षा गर्नुस्, ‘तपाईं र मेरो दोस्रो भेट पक्कै हुनेछ ।’ लक्ष्यमा नपुगी दायाँ–बायाँ नगरौं । काठमाडौं शहरको कलंकीमै बस्ने भएकाले तपार्इं र मेरो भेट फेरि अवश्य हुनेछ भन्ने मिठास स्वर दिँदै दाइको फोन उठाइन् । केही भन्ने शब्द मनमा आएन । कलंकी बसपार्कमा ठिंग उभिरहेँ । उनी दाइसँगै बाइकमा बसेर हराइन् । यतिञ्जेल मेरा आँखा बाइक कुँदिरहेको बाटोतिर नै दगुरिरहेको थियो । सडकमा बिजुलीको चम्किलो प्रकाश मात्रै देखेँ । रातिको ८ बजेको हुँदो हो । यसपछि घाइते सर्पझंै बनेर सीतापाइला डेरातिर पाइला अघि सारें ।
नवीन राई,कलंकी

टिप्पणीहरू