बाटो काट्नजस्तो सजिलो हुन्छ र माटो काट्न ! « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

बाटो काट्नजस्तो सजिलो हुन्छ र माटो काट्न !

प्रकाशित मिति :  २२ माघ २०७३, शनिबार ०५:४९


  • संकेत कोइराला

कुनै एक किसानको बाली खडेरीले सत्यानाश भएपछि उसले राहतका लागि चारैतिर बिन्तीभाउ ग¥यो । कतैबाट सुनुवाई भएन । अन्तिम विकल्पको रूपमा १ हजार सहयोग मागी भगवानका नाममा चिठी लेखेर हुलाकमा खसाल्यो । भगवान्को नामको चिठी कसलाई बुझाउने ? हुलाकीलाई काउसो आइलाग्यो । अन्तिममा हुलाकी आपैंmले चिठी खोल्यो । व्यहोरा पढ्यो । किसानको पीडा बुझेपछि ऊभित्र अपार दया पलायो । जे पर्ला त नि भनेर ५ सय रूपैयाँ त्यो किसानका नाममा पठाइदियो । किसानले पैसा हात पा¥यो । खुशी हुनु साटो भगवानका नाममा शिकायत गर्दै अर्को चिठी पठायो– ‘प्रभु, हजुरले पठाएको आधा रकम पाएँ । अर्कोपल्टदेखि सीधै मेरो ठेगानामा पठाउनु होला । हुलाकको ठेगानामा पठाउँदा अहिले जस्तै सरकारी कर्मचारीले आधा कमिसन खाएर बाँकी मात्र मेरो हातमा नपरोस् ।’

राजनीति र प्रशासनका लवेदा सुरुवाल पहिरिनेबीच ट्युनिङ नमिल्दा सरकारका संयन्त्रप्रति आममानिसको बुझाइ निकृष्ट खालको छ । राजनीति र प्रशासनमा न सबै मानिस खराव छन्, न सबै असल छन् । तर, खरावको संख्या न्यून बनाउने प्रयास नहुँदा अपेक्षाकृत बढी रहेको राजनीतिको खराव रंग प्रशासनमा सर्लक्कै सरेको छ । सोच, विधि र व्यवहारमा असमानताको कहालिलाग्दो जड खेपिरहेको निजामती सेवामा सुधार हुनुको साटो त्यो खाडल झन्झन् गहिरिँदो छ । एउटा मन्त्री सपथ खाएर कुर्सी सम्हाल्न पाएको हुन्न, उसको पहिलो कर्म सचिव हुत्याउनु हुन्छ । त्यो सचिवलाई मिल्काउन घान हाल्ने काममा परचक्री नभएर त्यही हुत्तिने सचिवकै समकक्षी अझ भनौं व्याची लागेको हुन्छ । पाँच वर्षको करार अवधि टिक्ने र बिक्ने बीचको मनोविज्ञानबाट दिन घर्किन्छन् ।

म्युजिकल चियरजस्तै बसाउने र थेचार्ने अनवरत संघर्ष चलिरहँदा न एउटा बहादुर राष्ट्रसेवक निस्किएर सत्यका पक्षमा शंखनाद गर्न सक्यो न कुनै महाभारत पात्र बर्बरिकजस्तो कमजोरका पक्षमा लाग्ने आदर्श राजनीतिज्ञ नै जन्मिन सक्यो । पछिल्लो समय त झन् सेवानिवृत्त भएपछि अहिलेको ठाँटबाँटभन्दा अब्बल ठाउँको खोजीमा तारतम्य मिलाउने लोभले प्रशासकहरूको दैनिकी टिठलाग्दो बन्दै गएको छ । केही नलागे क वर्गको ठेकेदारको अघोषित सल्लाहकार नै सही बिजुली पानी, तिहुन तरकारीको जोहोमा पेन्सन खर्च नहोस् भन्नेमा उनीहरूको सावधानी रहने गरेको बुझ्न कठिन छैन । राजनीतिक समस्याको गाँठो फुकाउन खोजिएका समाधान नै समस्या करार हुनु पछाडि पनि देशका ठूला मुखियाको लोभ कारक बनेको छ । देशको राष्ट्रिय कार्यक्रम बजेट ल्याइन्छ, त्यसभित्र आफ्नो उपस्थिति खोज्ने लालसा राष्ट्रपतिबाटै शुरु हुन्छ ।

पहिलो राष्ट्राध्यक्ष रामवरण यादवले लोभ गर्दा त्यो पदसँगै जोडिएर चुरे संरक्षण आयोजना जन्मियो । बजेटको गाँठो फुकाउने शर्तमा राष्ट्रपतिलाई खुशी पार्न मात्र ल्याइएको त्यो आयोजना सतहमा आएपछि गिटी, ढुंगा, बालुवाको चलखेल झन् बढ्यो । आयोजनाको करोडौं बजेट स्वाहा हुन छाडेन, प्राकृतिक दोहन पनि रोकिएन । विद्या भण्डारी राष्ट्रपति भएपछि लोभीपापीहरूले महिलाको नाममा अर्को परियोजना झुण्ड्याइदिए, त्यो पनि रहर र लहडमै थन्कियो ।
क्षमतावानलाई दिइनुपर्ने कार्यकारी पद लिलाम बढाबढमा चढाइन्छ । लिलाममा खरो उत्रिनेले कुर्सी पड्काउँछ । लगानी गरेपछि उठतीपुठ्ती उसको पहिलो कर्तव्य हुने नै भयो । जब यसो गर्दा कमजोरीका कारण कुनै दुर्घटना हुन्छ, त्यसपछि चिच्याएर सुशासन, थितिका बहस उरालिन्छन् । यदि, प्रधानमन्त्रीले मन्त्री, प्रधानन्यायाधीशले न्यायाधीश, मुख्य सचिवले सचिव, फौजी संगठनका सारथिले फौज र नेताले आफ्ना कार्यकर्ताको स्वामित्व लिने हो भने २४ घण्टामा आमूल परिवर्तन हुन्छ ।

आफ्नो गोत्र, पार्टी र वंशको नपर्ने देखेपछि फौजीको सरुवा, बढुवा ठप्प पार्ने गृहमन्त्री, सेवानिवृत्त भएपछि संगठनमा आफ्नो चाकरी बजाउने चण्डमुण्डको दुनो नसोझिएसम्म संगठनमाथि खेल्ने फौजी प्रमुखका नालायक प्रहसन मौसमी खेल भएका छन् । विधिमाथि व्यक्तिको नाँगो प्रहार रोकिने छाँट कहिल्यै देखिँदैन । यस्तो अवस्थामा दशकौंदेखि दिमागमा भरिएको फोहोर जस्ताको तस्तै राखेर भौतिक बाग्मतीलाई स्वच्छ बनाउने परिकल्पना पाखण्डसिवाय केही होइन । कुलमान घिसिङ पदीय आचरणमा रहँदा सेलिब्रिटी भएका छन् । अपराधी पक्रिँदा पनि पैसा कमिने, छोड्दा पनि पैसै कमिने स्कुलिङबाट पुलिसलाई निरपेक्ष राखौं भन्ने एउटा सत्वचन बोल्दा रमेश खरेल सामाजिक पहिचान बनाउन सफल भए ।

जुनजुन समस्याका कारण देश अधकल्चो अवस्थामा पुगेको छ, त्यसको लगाम समाजका नालायक मानिसको हातमा पुग्नु हाम्रो दुर्भाग्य हो । मेनपावर व्यवसाय, जग्गा जमिनको कारोवार र ढुंगा, गिटी, बालुवा, इँटाजस्ता निर्माणजन्य सामग्रीका व्यवसायी समाजमा कुन वर्गका छन्, त्यसबाट पनि अर्थ राजनीति ओरालो लाग्नुको जवाफ स्पष्ट थाहा पाउन सकिन्छ । वाइसिएल प्रवृत्ति राज्य सञ्चालनको फ्रन्ट डेस्कमा विधिवत अनुवाद भएको देखिन्छ । खाडीमा ब्लडमनी खाने हिम्मतिलाले किनिदिएको प्रिन्टर, कम्प्युटर र कागजबाट राज्यका निर्णयबाट पीडितको आँशु पुछिनुपर्ने बाध्यता छ । अरूको शव बाकसमा आओस् कि डोलीमा, आफ्ना सन्तान युरोप अमेरिका भएपछि के फरक पर्छ र ? आफ्नो परिवारका मानिसको जिन्दगीसँग त्यो बाकसलाई तुलना गर्नेबित्तिकै त कुन मानव आत्माले खरानीमाथि बीभत्स नाच नाच्न सक्ला र ?

राजश्वसँग सम्बन्धित निकायको त कथा नै बेग्लै छ । भन्सारमा गए संसार देखिन्छ भन्ने मान्यता त्यहाँ जान कर्मचारीमा देखिने प्रतिस्पर्धा र जोखतौलबाटै प्रस्ट हुन्छ । एक्काइसौं शताब्दीलाई प्रविधिले डो¥याएको छ तर यो देशमा सूचना प्रविधि मन्त्रालय जोक्कर बन्छ । एकातिर सुकेनास लागेका नेपालीको पेटारो पेट देखाएर पैसा बटुलिन्छ भने अर्कातिर गरिबी मन्त्रालयका मन्त्री काम नपाएको पीडा पोख्छन् । अन्तरमन्त्रालय ठालु र जोताहाको भावनाबाट ग्रसित छन् । एउटा मन्त्रालयमा पेश गरिएको कागजात अर्को मन्त्रालयको लागि स्वीकार्य हुन्न । एउटा हाकिमले लगाएको तोक अर्को हाकिमलाई पच्दैन । एउटा कार्यालयमा भएको कानुनको व्याख्यासँग  अर्को सहमत हुँदैन । शाखा अधिकृत उपसचिवसँग, उपसचिव सहसचिवसँग र सहसचिव सचिवसँग निचोरिएको छ । एक अर्कासँग प्रतिस्पर्धा हैन, प्रतिशोध छ । हाकिमी प्रतिशोधको आगोमा एउटा सामान्य सेवाग्राही कुटानी, पिसानी र पेलानी हुनुपर्ने अवस्था छ । सिक्ने सिकाउने जाँगर कसैमा छैन । सहसचिव गाडीघोडा, निजी सहायक, छुट्टै सुविधासहित राजसी छाँटमा बस्छ, तर एक तहमुनिको उपसचिव सौतेलो व्यवहारको शिकार हुनुपरेको गुनासो गर्छ । खाइलाग्दा मन्त्रालयमा काम गर्ने शाखा अधिकृतहरूको शान, मान अलग्गै हुन्छ ।

राजनीतिमा भाषण छाँटिने जातीय खाडल जनताबीच के डरलाग्दो छ र त्यसको लाखगुना बढी निजामती सेवामा छ । सिंहदरबार देश बनाउने खाकाको सट्टा गुनासाका खाप लाएर बसेको बर्षौं भयो । आपूmले पाएको पदीय मर्यादालाई न्याय गर्ने भन्दा पनि नपाएकोमा असन्तुष्टि पोख्दै १०–५ को पात्रो पट्याउनेहरूको संख्या बढ्दो छ । एउटै पाठ्यक्रम, एउटै केन्द्र र एउटै जाँचकीमार्पmत पास भएर आएको सरकारी जागिरे एउटा कुपोषणग्रस्त भएर वीर अस्पताल धाउँछ भने अर्को अजिर्णको रोगी भएर मेदान्त अस्पताल पुग्छ । राजा महेन्द्रले २०२१ सालमा भूमिसुधारको अभियान थाल्दा असल कर्मचारी भूमिसुधार र अपेक्षाकृत रेकर्ड खराव भएका भन्सारमा पठाउन उर्दी गरेका थिए रे ! आखिर त्यसको रिजल्ट के भयो ? सरकारी सेवामा सेवाग्राहीलाई हाँसेर सेवा दिने मान्छे भेटियो भने त्यो अपवाद हो । माथिको सुइँको मात्र फाइलमा देखियो भने नचिताएको ढंगबाट त्यो काम तमाम् हुन्छ । निजामतीका मुखियाले आपूmलाई विधिको मसिहा त ठान्छन् तर आफ्नो अभीष्ट पूरा भएपछि उनीहरूका लागि ती प्रतिबद्धता भुसको भंगेरोसिवाय केही हुँदैन । प्रक्रियाको अर्को नाम प्रशासन हो।

मेचीबाट हिँडेको बस भोलिपल्ट सरकारी कार्यालय नखुल्दै महाकाली पुग्छ तर सरकारी कार्यालयमा वल्लो टेबुलबाट महिनौंसम्म पल्लो टेबुलमा फाइल पुग्दैन । त्यसको पाँग्रो कस्तो हुन्छ, स्वयं उनीहरूलाई हेक्का छैन । सरकारी काम प्रभाव र दबाबविना शून्यको अवस्थामा पुगिसक्यो । मन्त्री र सचिव दुवै दौरा सुरुवाल लाउँछन् । यी दुईको सहभागिता सहमति विना कौडीको कामले पनि वैधता पाउँदैन । तर, हाम्रो सन्दर्भमा यी दुईको यात्रा एक नदीको दुई किनार हुँदै आएको छ । देश विकासको महायज्ञमा एउटाले चरु र अर्कोले घ्यू हाल्नुपर्ने त्यो भएकै छैन । एउटाले चरु हाल्छ, अर्को घ्यू छैन भनेर पन्छिन्छ । अर्को घ्यू लिएर ठीक पर्छ तर चरु नै खलाँस । यही लुकामारीले ०७३ सालमा आइपुग्दा पनि आर्थिक विकासको सूचकांक लाजमर्दो अवस्थामा छ ।

यसको अर्को विचित्र पहेली के छ भने जब निर्णायक घडी आउँछ, त्यसबेला निजामती सेवा अमिवाजस्तो भइदिन्छ । ७० हजार कर्मचारीको छाता भएर बस्ने एकाध मुख्यसचिवबाहेक प्रायः सबै जागिरे भए । आफ्नो काम नहुञ्जेल नेताको एजेन्टसम्म बन्न पछि नपर्ने चिताएको काम भएपछि विधिको भाषण गर्नेहरूको संख्या गनिनसक्नु चढ्दै गयो ।

मेची–महाकाली जहाँ पठाए पनि जान तयार छु तर विधि नाघेर सही गर्दिनँ भन्ने उच्च हाकिमहरूको संख्या नेपालमा कति छ ? स्वाभाविक हो– झापामा लाग्ने लामखुट्टेबाट त्यहाँका जनता औलो रोगी हुन्छन् । तर, लामखुट्टे मार्ने अधिकारको पृष्ठपोषण गरेर अभैm पनि सिंहदरबार बसेको छ । बस्ती आगो लागेपछि दमकलका लागि निवेदन लगेर श्री ३ लाई बिन्ती बिसाउनुपर्ने राणाकालीन संस्कारबाट अहिले पनि सिंहदरबार निरपेक्ष हुन सकेन । तर, आफ्नो स्वार्थका लागि कर्मचारी कतिसम्म जागरुक हुन सक्छन् भन्ने विदेश भ्रमणका दर्जनौं घटनाले पुष्टि गरेको छ । सरकारको निर्णय, बजेट दिने अर्थको सहमति, महालेखाबाट निकासा, कोलेनिकाबाट चेक बनाएर त्यसैदिन डलर साट्न भ्याएर भोलिपल्ट विदेश उड्न भ्याउने दृश्य पनि सिंहदरबारभित्र देखिन्छ । वृत्ति विकासका नाममा खर्चिएको यो धनराशिको लगानीबाट देशको प्रशासन कति चुस्त भयो ? फ्रान्सको ब्रान्डी, इटालीको जुत्ता, थाइल्याण्डको मसाज, भारतको लेहेंगा, पाकिस्तानी ज्याकेट, चिनियाँ स्पोर्टस सुजको विज्ञापनको दिन कट्नीकै लागि लगानी गरिएको हो भने त्यो अपराधसिवाय केही होइन । नेपालको अध्यागमन काटेर जहाजको सिटमा बसुञ्जेल र उताबाट झरेपछि विदेश सम्झिएर आफ्नो देश सराप्नेहरू नै हटसिटका मालिक छन् । उनीहरूको मानसिक र मनोवैज्ञानिक सोचमा सकारको कार्यशैली टिकेको छ । सरकारी काम समस्याको समाधान हैन, समाधानमा समस्या खोज्न मस्त छ ।

एउटा ड्राइभरले वर्षौंसम्म सुरक्षित ड्राइभिङ गरेर हाकिमको काम तमाम गर्छ तर त्यो हाकिमले स्याबासी दिएर ऊसँग हात मिलाएको विरलै देखिन्छ । ड्राइभर, कार्यालय सहायक मात्र हैन, आपूmभन्दा मुनिकासँग हार्दिकता निभायो भने आफ्नो प्रतिष्ठा पखालिन्छ भन्ने धेरै हाकिममा त्रास छ । तर, ट्रेड युनियनको खोल ओढेर त्यही मानिस उपस्थित भयो भने उनीहरू अँगालो हाल्न तयार हुन्छन् । त्यो बेला मर्यादाको आदर्श कता बिलाउँछ ? राजनीतिमा ठेलागाडा, रिक्साचालक, गार्मेन्ट्सका धागो कात्नेहरू सभासद्, मन्त्री भइसक्दा पनि निजामती सेवाभित्रको ठालुतन्त्र उही पाखण्डमा रमाइरहेको छ । एउटा रेसम किरो त वर्षौं मान्छेको आङ ढाकिदिएर अमर हुन्छ भने अधिकारप्राप्त मानिस किन जागिरे मात्र बन्छन् ? परिवर्तनका नाममा आपूm बसेको कुर्सी, टेबल सार्नु मात्र उनीहरूका लागि किन जाँगरको विषय बन्छ ? उनीहरूको चिनारी हाकिम मात्र नभएर प्राज्ञिक व्यक्तित्व पनि हो भन्नेतर्पm किन विस्तार हुँदैन ? शायद प्रशासनको यही अपारदर्शी, अमूर्तशैलीका कारण हुनुपर्छ– हाकिमले आफ्नो सन्तान आफ्नो पेशामा तान्न सकेका छैनन् । हाकिमको छोरो हाकिम भएको विरलै देखिन्छ । सेवा निवृत्त भएपछि उसले बाँच्ने एकांकी जीवन पछाडिको कारण पनि यही हो ।

कौटिल्यको अर्थशास्त्र सबैले पढेका छन् । कौटिल्यले सरकारी कर्मचारीले खाएको घुस र माछाले खाएको पानीलाई समान मानेका छन् । जसको अर्थ हो– त्यो कर्म बाहिरबाट देखिँदैन । निजामती सेवामा पनि धेरैले अनुभव गरेको सत्य के हो भने यहाँ कि चिनेको कि किनेको मात्र पक्का हुन्छ । अब ठूलोका नाममा गरिने गल्ती ढाकछोप हुँदैन । अब पनि माछा कुद्दैमा समुद्रको छाल उठ्दैन भनेर मनपरी गर्ने हो भने त्यस्तालाई ठीक लगाउने भनेको समय हो । याद राखौं–बाटो काट्न जस्तो सजिलो माटो काट्न कहाँ हुन्छ र ?


प्रतिक्रिया दिनुहोस !