सक्नुपर्ने सत प्रतिशत,काम भयो जम्मा सात प्रतिशत

सक्नुपर्ने सत प्रतिशत,काम भयो जम्मा सात प्रतिशत

-शरद अधिकारी

निर्माण सम्पन्न हुनुपर्ने समयमा करिब सात प्रतिशत मात्रै काम सकिएको छ भन्दा कस्तो लाग्ला ? दाङ जिल्लाको एउटा ठूलो आयोजनामा यस्तै भएको छ । सकिनुपर्ने समयमा सात प्रतिशत मात्रै काम भएको छ । अर्ब रुपैयाँभन्दा बढी बजेटको आयोजना सक्ने म्याद यहि साउनसम्म थियो । तर यो समयमा मुश्किलले सात प्रतिशत मात्र काम भएको छ ।

दुई पटक म्याद थप गर्दा पनि निर्माण कार्यमा प्रगति नभएपछि सहायक ठेकेदार फेरिएको छ । दाङबासीले लामो समयदेखि प्रतिक्षा गरेको कुहिरेपानी–तुलसीपुर सडकखण्डको चारलेनको काम अघि बढ्न थालेको छ । मुख्य ठेकेदार भारतीय कम्पनीबाट सडक निर्माणको जिम्मेवारी पाएका दाङका निर्माण व्यवसायीले काम गर्न नसकेपछि अर्का निर्माण व्यवसायीले कामको जिम्मेवारी लिएका छन् । सोहीअनुसार चारलेन सडकको काम अघि बढ्न थालेको हो ।

अमेरिकी एक करोड ११ लाख ४२ हजार तीन सय डलरमा भारतीय निर्माण कम्पनीले जिम्मेवारी पाएको थियो । शुरुमा भएको सम्झौताअनुसार आगामी पुसमा सकिसक्नुपर्ने काम हालसम्म करिब सात प्रतिशत मात्रै सकिएको छ । निर्माण कार्य २०१९ जनवरी अर्थात २०७५ पुस १४ गतेबाट शुरु भएको हो । त्यतिबेला शुरु भएको काम ११ अगष्ट २०२१ अर्थात् यहि साउन २७ गते सकिनुपर्छ । निर्माणको जिम्मेवारी लिएका व्यक्तिहरूले समयमा काम सम्पन्न नगरेको कारण समस्या आएको हो ।

चार लेन सडकको काम शुरु भएर टुङ्गोमा नपुग्दा घोराही–तुलसीपुर सडकमा यात्रा गर्नेहरूले निकै सास्ती खेप्दै आएका छन् । चारलेन सडक भनिए पनि कतै दुई लेन त कतै चार लेन रहेको निर्माण कन्सल्टेन्सीका इञ्जिनियर आशिष कँडेलले जानकारी दिए । कँडेलका अनुसार कुहिरेपानीदेखि तुलसीपुरसम्मको करिब २९ किलोमिटर सडक बिस्तार हुँदै छ । बबई नदीदेखि घोराही डिके पेट्रोलपम्पसम्मको सडक एक खण्ड रहेको छ भने अर्को खण्ड घोराहीदेखि तुलसीपुरसम्म हो ।

घोराहीको डिके पेट्रोल पम्पसम्मको सडक दुई लेनको मात्रै छ । यस्तै डिके पेट्रोल पम्पदेखि सर्रा चोकसम्मको सडक चारलेन रहेको छ । सर्रा चोकबाट नारायणपुरको झारवैरा चोकसम्मको सडक भने दुई लेनको छ । त्यसैगरी खैरा चोकसम्मको सडक चार लेनको हुनेछ । खैराबाट दुधरासम्मको सडक दुई लेन मात्रै हुनेछ भने दुधरासदेखि तुलसीपुर हात्तीखौवासम्मको सडक चार लेनको हुनेछ । यसरी कुहिरेपानी घोराहीसम्मको सडक साढे छ किलोमिटर रहेको छ भने घोराहीदेखि तुलसीपुरसम्मको सडक २१ दशमलव ६६ किलोमिटर रहेको छ ।

पुरानो निर्माण व्यवसायी अनुप पाण्डेले काम अघि बढाउन नसकेपछि आफूहरूले कामको जिम्मेवारी लिएको निर्माण व्यवसायी द्रोण दुलालले बताएका छन् । उनले अहिले हिसाब किताब बरबुझारथको काम शुरु भएको जानकारी दिँदै करिब ८० प्रतिशत काम सकिएको बताए । दुलालका अनुसार आगामी १८ महिनामा सडकलाई पूर्णता दिइनेछ ।

सडक निर्माणको काम ठप्प भएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सडक निर्माणको कामका बारेमा चासो राख्नुभयो । उहाँले सडक निर्माणका लागि आवश्यक सामग्री उपलव्ध गराउने विश्वास दिलाउनुभयो । निर्माण व्यवसायी दुलालले पनि निर्माणका लागि आवश्यक पर्ने सामग्री उपलव्ध हुन सक्यो भने केही महिनामा नै देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले अबको केही महिनामा कम्तीमा पनि आठ किलोमिटर सडक पिच गर्ने गरी काम अघि बढाउने योजना सुनाउनुभयो ।

कुहिरेपानी–तुलसीपुर सडक बिस्तारको काम साउन २७ गते सकिनुपर्नेमा समयमा काम नभएपछि पहिलो पटक एक सय ४५ दिन म्याद थप भएको थियो । अघिल्लो पटकको लकडाउन कारण देखाउँदै समय थप गरिएको हो । त्यतिबेला थपिएको समयमा पनि निर्माण व्यवसायीले काम गर्न सकेनन् । पहिलो पटक थपिएको म्यादमा काम गर्न नसकेपछि पुनः एक सय २९ दिन म्याद थपिएको थियो । पहिलो पटक थपिएको समयअनुसार निर्माण सक्ने समय आगामी पुस १९ गतेसम्म रहेको छ । पहिलो पटक थपिएको म्यादमा पनि काम सकिने नभएपछि दोस्रो पटक म्याद थप गरिएको हो । दोस्रो पटक थपिएको म्याद आगामी २०७९ साल जेठ ५ गते पुगेको छ ।

जति नै म्याद थप गरिए पनि सडक विस्तारको काम शून्य जस्तै भएपछि प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले पहल थाल्नुभएको हो । उहाँले दाङ जिल्लाका लागि सबैभन्दा ठूलो आयोजनाका रुपमा रहेको चारलेन सडकको अवस्थाबारेमा सबैको चासो रहेको बताउनुभएको छ । उहाँले आफू दाङ आएदेखि नै चार लेन सडकका बारेमा चासो राखेको भन्दै उक्त सडकको कामलाई कुनै पनि हालतमा अघि बढाउनुपर्ने बताउनुभएको हो । दुई पटकको लकडाउनको समयमा चारलेन सडकको काम तीब्रताका साथ हुनुपर्नेमा त्यसो नभएको गुनासो छ । अघिल्लो पटकको लकडाउनको समयमा आफू बाँके जिल्लामा रहेको र त्यहाँ कतिपय कामलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो ।

चार लेन सडकका लागि तोकिएको समय ७३ प्रतिशत समय सकिएको र काम भने सात प्रतिशत भएको छैन । जबकि यो समय कम्तीमा पनि ३६ प्रतिशत काम सकिनुपर्ने थियो । निर्माण व्यवसायीले पहिलो चरणमा १० लाख ६३ हजार डलर,दोस्रो चरणमा तीन लाख १९ हजार डलर र तेस्रो चरणमा दुई लाख १ हजार डलर बराबरको रकम बुझिसकेका छन् । तेस्रो चरणमा काम अत्यन्त सुस्त भएपछि निर्माण व्यवसायीलाई भ्याट वापतको पैसा मात्रै दिइएको कन्सल्टेन्सी इञ्जिनियर कँडेलले बताएका छन् ।

दाङवासीका लागि अहिले सबैभन्दा चासोको सडक भनेको यहि चारलेन सडक रहेको छ । उक्त सडकप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको पनि चासो रहेको देखिन्छ । मुख्यमन्त्री शंकर पोखरेलले कुहिरेपानी–तुलसीपुर सडकमा निर्माण गर्न थालिएको चारलेन सडकको कामलाई तीब्रता दिन निर्माण व्यवसायी र स्थानीय प्रशासनलाई समेत ताकेता गरिरहनुभएको बताइन्छ ।

टिप्पणीहरू