कोही उफार्ने, कोही मुड्की बजार्ने

स्वास्थ्य मन्त्रालयअन्तर्गत नियुक्त हुने अस्पताल विकास समितिको अध्यक्ष बन्ने÷बनाउने विषयले यतिबेला सत्तारूढ दल नेपाली कांग्रेसको रुकुममा गाईजात्रै छ । गगन थापा स्वास्थ्यमन्त्री बनेपछि पारित मापदण्डको मारमा बूढा कांग्रेसी परेपछि आकांक्षी युवा उम्मेदवारको थामिनसक्नु भीड छ । शुरुमा परमेश्वर भण्डारी, यज्ञ विष्ट, आदर्श केसी, डा. नवराज गौतम र शिव आचार्यको नाममा लामो कसरत चलेको थियो । १५ शøयाको अस्पतालमा अध्यक्षका लागि सुरा–सुन्दरीदेखि ठूलो आर्थिक चलखेलसमेत भएको बताइएको छ ।

प्रत्याशी सबैलाई जिल्लास्थित सबै खेमाको दबाबले च्यापेपछि ससुरा अर्जुननरसिंह केसीसँग जोरी खोजेर महामन्त्रीमा हराएका स्वास्थ्यमन्त्री थापाले आफूनिकट पात्र खोजेका हुन् । चर्चामा आएमध्ये भण्डारी शेरबहादुर देउवानिकट जिल्ला नेता कृष्णबहादुर रोकायका ज्वाइँ तथा नेविसंघ रुकुमका पूर्वअध्यक्षसमेत हुन् । सहकारी बंैकका जागिरे यज्ञबहादुर विष्टलाई आफ्नो गुटको नेता मन्त्री भएकाले कुनै पनि हालतमा अध्यक्ष बनाइदिने भन्दै नेविसंघ अध्यक्ष लालबहादुर ओलीले कन्याउने गरेको र कोशेली मन्त्रीको सचिवालय र सहयोगीसम्मलाई दिने भनी मोलमोलाइ गरेको कुरा बाहिर आएपछि उनलाई मन्त्रालयमा प्रवेश निषेधझैँ छ । मन्त्री थापाले अध्यक्ष हुनेहरूसँग कार्ययोजना र प्रतिबद्धता मागेका थिए । नेविसंघ अध्यक्ष ओलीले ग्रामीण भेगमा अवैध रूपमा सञ्चालित निजी मेडिकल र क्लिनिकको लामो सूची तयार गरी ५० हजारदेखि ५ लाखसम्म मागेको र नदिए बन्द गरिदिने धम्की दिएको समेत निकटस्थहरू बताउँछन् । त्यसो त आफंै अध्यक्ष बन्न २० हजारमा बिए पासको नक्कली प्रमाणपत्र खरिद गरेका ओलीलाई ३० वर्षे उमेरहदबन्दीले किनारा लगाएपछि निकटस्थ विष्ट अध्यक्ष बनेपछि जागिर लगाइदिने भन्दै सिएमए र अनमीलाई काठमाडांैका होटलमा बोलाएर शोषण गरेको आरोप छ ।

कुनै खास राजनीतिक भूमिका र लाइनमा नरहेका शिव आचार्य शुरुमा आफूले चाहेमा वीर अस्पतालको अध्यक्ष हुन सक्ने र मन्त्रीले घोराहीस्थित उपक्षेत्रीय अस्पतालको अध्यक्ष बन्न राखेको प्रस्ताव ठाडै अस्वीकार गरेको गफ दिए पनि भित्री रूपमा मरिमेटी लागेका छन् । शीतल क्याम्पस चौरजहारीको व्यवस्थापन समिति अध्यक्ष रहेका उनी सोलार खरिदको मामलामा विवादमा परेका छन् । कहिले राजदूत त कहिले सांसद हुन्छु भन्दै हिँड्ने आचार्य बाहिर पार्टी सभापति देउवा गुटमा रहेको बताए पनि पूर्वमहामन्त्री कृष्ण सिटौलासमक्ष प्रायः चकमन्न रातमा महाधिवेशनमा पराजित तिलक भण्डारीलाई साक्षी लिएर पुग्ने गरेका थिए । पत्रकारिता पृष्ठभूमिका आदर्श केसी उमेरले सबैभन्दा कान्छा आकांक्षी हुन्, उनलाई काँचो उमेरकाले के अस्पताल चलाउन सक्छ भन्दै कुरा काट्नेहरू बढेका छन् ।

कांग्रेसी पत्रकारका नेताबीच धेरै सामाजिक भूमिकामा रहेको भन्दै उनको खरो विरोध चलेको छ । सबैतिर आफैं पद ओगट्न खोज्ने गरेको आलोचना पनि छ । उनका भाइ तारक नेविसंघमा देउवा गुटका चर्का केन्द्रीय सदस्य हुन् । भाइकै प्रमुख भूमिकाले अध्यक्षको प्रमुख दाबेदारमा गनिए पनि मन्त्रीका सहयोगीको माध्यमबाट नजरमा परेको बताइन्छ । थापाका सहयोगीसँग पुरानै हिमचिम रहेकाले पनि नियुक्ति नपाउँदै उनलाई फेसबुकमा बधाई दिनेको भीड लागेको छ । रुकुमको गरायलामा ०७० को चुनावताका मन्त्री थापा सहभागी कार्यक्रममा माओवादीले आक्रमण गर्दा सञ्चारमाध्यममा प्रचारयुद्ध गरेर गुण लगाएबापत केसी मन्त्री थापाको प्रिय रहेको बुझिन्छ । केसीलाई कांग्रेस महाधिवेशनमा कृष्ण सिटौलाको पक्षमा रुकुमबाट एक्लै भिडेका नेविसंघ केन्द्रीय उपाध्यक्ष खड्ग डाँगीले दह्रोसँग बोकेका छन् ।

मन्त्री थापाले गत साता जेनेभा उड्नुअघि आदर्श केसीलाई नियुक्त गर्ने निर्णयमा हस्ताक्षर ठोकेका थिए । पूर्वराज्यमन्त्री गोपालजीजंग शाहले उक्त जानकारी पाउनेबित्तिकै स्वास्थ्य सचिवको टेबुलमा मुड्की बजार्दै निर्णय रद्द नगरे आन्दोलनमा जाने चेतावनी दिएको र सोही विषयलाई लिएर मन्त्री थापालाई ‘पाजी’ शब्द प्रयोग गर्दै मानमर्दन गर्ने गरेको स्रोत बताउँछ । हाल उक्त निर्णय रद्द गराउने खेलमा पार्टी सभापति प्रेमप्रकाश ओलीबाहेक सबै जिल्लास्तरका नेता ज्यान फालेर लागेको रुकुम कांग्रेसका एक नेताले जनआस्थालाई बताए । सभापति ओलीले सिफारिस गरेका डा. नवराज गौतम अध्यक्ष बन्ने छाँट नदेखेपछि रुकुम कांग्रेसका चतुर खेलाडी ओलीले कसैको समर्थन र कसैको विरोध नगरेको एक कार्यकर्ता बताउँछन् ।

टिप्पणीहरू