किन चाउरिस् मरिच आफ्नै पिरोले « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

किन चाउरिस् मरिच आफ्नै पिरोले

प्रकाशित मिति :  २२ माघ २०७३, शनिबार ०५:४६


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी दबाबमा छन् । ‘यता मिलायो, उता, बाउँठिने, एउटालाई फकायो, अर्को बिच्कने’ । न पछि हट्न मिल्ने, न अघि बढ्न सक्ने– विकल्पसमेत प्रतिदिन घट्दै गइरहेका छन् ।

यस्तो अवस्था किन आयो ? सबै नेपालीलाई थाहा छ, मंगलेले आफैं ढंग नपु¥याउँदा दुःख पाएको हो । केपी ओलीले मुलुकलाई नकारात्मक दिशातिर फर्काएका थिएनन् तर उनको बढ्दो लोकप्रियताले भत्भत पोल्यो । आफूले २० वर्षदेखि ‘भारतभक्त’ को तक्मा भिराउँदै आएका केपी ओली आमनेपालीबीच राष्ट्रवादी ठहर्दै जानु र जनयुद्धकालमा सोझा नेपालीलाई दशगजाछेउ बंकर खन्न लगाएर कसरी आफूचाहिँ दिल्लीको संरक्षणमा बसेका थिए भन्ने पोल एकपछि अर्को खुल्दै जानु उनका लागि निश्चय पनि प्रिय लागेन । र, अन्ततः धोका दिए ओलीलाई र फकाए देउवालाई ।

भनिन्छ, जे रोप्यो त्यही फल्छ । प्रचण्डले नेपाली राजनीतिमा अस्थिरता रोपे, अविश्वास प्रस्तावलाई सर्वाधिक सफल औजार ठाने । अहिले उनीमाथि कसैले विश्वास गर्न सकिरहेको छैन । उनले जतिसुकै फकाए पनि मधेसी नेता भन्छन्– प्रचण्डको भनाइ र गराइमा आजसम्म कहिल्यै तालमेल मिलेको देखिँदैन अनि कसरी विश्वास गर्नु ! हुन पनि एकसाथ उनी एमाले र मधेसी दुवैलाई उल्लु बनाएर आफूलाई सफल पार्न खोज्दै छन् । कतिबेला प्रचण्डबाट धोका पाइने हो भन्ने चिन्ताले सत्ता सहयात्री नेपाली कांग्रेसलाई पनि उत्तिकै सताइरहेको छ । त्यही भएर त शेरबहादुर देउवा लगातार एउटै रटान लगाइरहेका छन्– छिटोभन्दा छिटो चुनावको तिथि घोषणा गरौं । त्यति गर्न पाए प्रचण्डलाई लाजिम्पाट पठाएर आफू चौथोपटक बालुवाटार छिर्न पाइन्थ्यो भन्ने दाउ हो तर नेपाली राजनीतिका चतुर खेलाडी प्रचण्ड आफूलाई कम्तीमा असार मसान्तसम्म कसरी बालुवाटारमा टिकाइराख्ने भन्ने एकसूत्रीय ध्याउन्नमा देखिन्छन् ।

यस्ता दाउपेच र खेलले दललाई कति हानी पुग्छ या लाभ हुन्छ, त्यो उनीहरूकै सरोकारको विषय हो । तर, आमनेपालीको साझा चिन्ता यो हो कि यदि मुलुकमा हालको जस्तो संक्रमणकालीन अवस्था अझै केही वर्ष रहिरहने हो भने हामी पूरापुर असफल राष्ट्रको नागरिक बन्नेछौं । राजनीतिक स्थिरताविना कुनै प्रकारको विकास र समृद्धि सम्भव छैन भन्ने सारा नेपालीले बुझिसक्दासमेत दलका नेताले यसबारे गम्भीरता नदेखाउनु उदेकलाग्दो छ ।

यही उदेकबीच कतिपय नेताको बिचल्ली हुने अवस्था पनि देखिँदै छ । मधेसी नेताले आफ्नो हठ नछाड्दा मधेस दिनानुदिन उनीहरूको प्रभावबाट खुस्किँदै छ । अतिवादी र पृथकतावादीलाई खेल्ने मैदान खुला छाडी मधेसका नेता काठमाडौंसँग दलाली गरेर बस्नु, देशको प्रधानमन्त्री लगभग बन्द कोठामा निर्विकल्पको अवस्थामा पुग्नु, देशको ठूलो दलले कसरी सरकारको नेतृत्व आफ्नो हातमा ल्याउने भन्नेबाहेक अरू नसोच्नु, प्रमुख प्रतिपक्षी दल समस्या समाधानको बाटो नदेखाई प्रत्येक शर्तमा अर्घेलो मात्रै बन्नुलाई कुनै हालतमा सुखद भविष्यको सूचक मान्न सकिँदैन । अहिले ठूला र निर्णायक भनिएका दलका नेता सबैको अनुहार चाउरिँदै जानुमा अर्को कुनै कारण नै छैन । स्वयं आफ्नै दलगत र व्यक्तिगत स्वार्थपूर्तिको लक्ष्यमा कुद्दा उत्पन्न भएको पिरलोले हो । यस्तोमा आफ्नै पिरोले चारिएको मरिचसँग किन यिनलाई तुलना नगर्ने ?


प्रतिक्रिया दिनुहोस !