नांगो विज्ञापन

केही दिनदेखि शहरमा एउटा विज्ञापनको चर्चा छ । नांगो साबुनसम्बन्धी । नांगो साबुनबारे जनचेतना जगाउन उक्त विज्ञापन प्रकाशन भएको रहेछ । तर, धेरैको टिप्पणी छ, नांगो साबुन जति नांगो हुन्छ, त्यो विज्ञापन त्योभन्दा पनि नांगो रहेछ ! अर्थात् नांगो साबुनबारे नांगो विज्ञापन !

विवाद बढेपछि सम्बन्धित निकाय जाग्यो । व्यापारी व्यवसायी पनि उठे । सबै जना उठेपछि नांगो साबुनसम्बन्धी विज्ञापनलाई नै नंग्याउने काम भयो । फलतः साबुन नांगो हुनु हुँदैन भनेर विज्ञापन निकाल्नेहरू आफंै नांगिए ।

वास्तवमा उनीहरू नांगिनु स्वाभाविक पनि थियो । किनभने साबुन चिजै यस्तो हो जसले मान्छेलाई नांगो बनाउँछ । जिउमा साबुन दल्न नांगो नबसी हुन्छ ? जसको कामै अरूलाई नांगो बनाउने हो त्यो आफंै कसरी लुगा लगाएर आउन सक्छ ?

अर्को कुरा । जाबो साबुन नांगो भयो भनेर यो देशमा कसलाई पो लाज लागेको छ र ? देशका त्यत्रो नेतालाई हेर्नोस्, जम्मै नांगै हिँडिरहेका छन् । सरकार नांगो चलिरहेको छ । विपक्षी नांगै हेरिरहेको छ । यस्तो देशमा जाबो साबुन नांगो भयो भनेर के भो हँ ? मान्छे नांगो हुँदा विज्ञापन निकाल्नु नपर्ने, साबुन नांगो हुँदाचाहिँ विज्ञापन निकाल्नु पर्ने ? कस्तो नांगो सोच यो ?

टिप्पणीहरू