मकैबारीमा महिलाको शव, अनुसन्धानको लागि कुकुर झिकाइयो

मकैबारीमा महिलाको शव, अनुसन्धानको लागि कुकुर झिकाइयो

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, मा एक महिलाको शव मकैबारीमा भेटिएको छ । शव स्थानीय २५ वर्षीया मनकला खत्री खड्काको भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी बारीमा बाँधेका भैंसीलाई घाँस हाल्न गएकी उनको शव राति मकैबारीमा भेटिएको हो । घरभन्दा झण्डै २ सय मिटर टाढा बारीमा भैंसी बाँधिएको र भैंसीलाई घाँस हालेर फर्कने क्रममा हत्या भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

घाँस हाल्न गएकी मनकला नफर्किएपछि परिवारका अरु सदस्यले खोज्दै जाँदा उनी मृत अवस्थामा भेटिएकी थिइन् । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ध्रुव कुमार श्रेष्ठले शव रहेको स्थान वरिपरिको मकै र घाँस माडिएकाले कसैले उनको हत्या गरेको हुन सक्ने अनुमान गरिएको बताउनुभयो ।

उहाँले घटनाको अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाइएको समेत जानकारी दिनुभयो । अहिले घटनास्थल सिल गरेर अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानबाट मृतकको घाँटी थिचिएको र टाउकोमा चोट देखिएको छ ।

एउटा सन्तानकी आमा मनकलाका श्रीमान् वैदेशिक रोजगारीको लागी विदेशमा छन् ।

टिप्पणीहरू