पाडाजुगी–उर्लाबारी प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध

पाडाजुगी–उर्लाबारी प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध

झापाको पाडाजुगीबाट मोरङको उर्लाबारीसम्मको पाडाजुगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा स्थानीयले अवरोध गरेका छन् । उर्लाबारी नगरपालिका ८, स्थित अठियाबारीका बासिन्दाले अहिले बत्ति बाल्न लाइन हुँदाहुँदै अर्को लाइन किन तानेको ? भन्दै निर्माणमा अवरोध गरेका हुन् ।

पाडाजुगी–उर्लाबारी प्रसारण लाइनको लम्बाइ १६ किलोमिटर रहेको छ । आन्दोलनरत पक्षले लाइन नै तान्न नदिने अडान लिएका कारण त्यस क्षेत्रमा ३ सय मिटर लाइन तान्न नसकिएको विद्युत प्राधिकरणले जनाएको छ ।

उक्त लाइनले उर्लाबारीमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन सञ्चालनमा ल्याई विद्युत आपूर्ति गर्ने प्राधिकरणको भनाई छ । केही दिनअघि नगर प्रमुख, उपप्रमुख, आन्दोलनकारीलगायतका सरोकारवालासँग छलफल गरी निर्माण शुरु गर्ने विषयमा सहमति भएपनि केही स्थानीयले असहमति जनाउँदै निर्माणमा पुनः अवरोध पुर्याएको बताइन्छ ।मोरङको उर्लाबारी, रतुवामाई, पथरी, शनिश्चरे नगरपालिका क्षेत्रका बासिन्दाले व्यहोरिरहेको विद्युत आपूर्तिको समस्या समाधान गर्न प्रसारण लाइन र सबस्टेसन निर्माण शुरु गरिएको हो । एसियाली विकास बैकको ऋण सहयोगमा वितरण प्रणाली सुदृढीकरण तथा बिस्तारअन्तर्गत सञ्चालित आयोजनाको निर्माण सम्पन्न भएपछि त्यस भेगका करिब ३ लाख उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।

हाल ती स्थानमा झापाको दमकबाट २ वटा ११ केभी फिडर लाइनमार्फत विद्युत आपूर्ति गरिएको छ । लाइनको लम्बाई धेरै भएकाले सामान्य अवस्थामा समेत विद्युत आपूर्तिमा समस्या आउने गरेको छ । अर्कोतर्फ फिडर लाइनको ओभरलोड र ट्रिपिङको समस्या समेत अत्यधिक रहेको प्राधिकरणले जानकारी गराएको छ ।

टिप्पणीहरू