नेपाल टेलिकममा धर्ना,भित्रबाट शुरु भएको आन्दोलन अब ढोकामा

नेपाल टेलिकममा धर्ना,भित्रबाट शुरु भएको आन्दोलन अब ढोकामा

नयाँ नियमावलीबिरुध्द नेपाल टेलिकममा साउन ७ गतेदेखि शुरु भएको आन्दोलन धर्नामा परिणत भएको छ । टेलिकमले साउन १ गतेबाट नयाँ नियमावली लागू गरेपछि बिरोध शुरु भएको हो । २०६१ को विनियमावली परिवर्तन गरेर नयाँ नियमावली २०७८ लागू गरेपछि कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।

टेलिकमको केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा आज बिरोधसहित धर्ना थालिएको हो । नयाँ विनियमावलीले खाइपाइ आएको सेवासुविधा कटौती भएको भन्दै कर्मचारीले केही दिनदेखि कार्यालय हाताभित्रै बिरोध कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

व्यवस्थापनले आफ्ना माग नसुनेको भन्दै उनीहरूले कार्यालय प्रवेशद्वारमा धर्नालगायतका बिरोध कार्यक्रम सञ्चालन गरेको बताएका छन् । साउन ७ गतेबाट बिरोध कार्यक्रम सञ्चालन गर्दै आएका टेलिकमका एनटिईएन,कर्मचारी युनियन तथा वर्कर्स युनियनले संयुक्त धर्ना दिएका हुन् ।

आजको धर्ना कार्यक्रममा एनटिईएनका अध्यक्ष यादव पनेरु, वर्कर्स युनियनका अध्यक्ष राजेन्द्र जोशी,कर्मचारी युनियनका अध्यक्ष वीरेन्द्रलाल जोशीको संयुक्त नेतृत्व रहेको बताइन्छ ।

टिप्पणीहरू