सरकार बिस्तारनिम्ति घनिभूत छलफल शुरु

सरकार बिस्तारनिम्ति घनिभूत छलफल शुरु

पार्टीको आधिकारिकता पाएको भोलिपल्टै जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागिताबारे छलफल गर्न लागेको छ । त्यसका लागि आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।

बैठकमा सरकारमा जानेबारे छलफल हुने बताइएको छ । अध्यक्ष उपेन्द्र यादवले हिजै सरकारमा सहभागी हुने बताउनुभएको थियो । बैठकमा संगठन विस्तार,संसदीय दलको नेता चयनलगायतका विषयमा पनि छलफल हुने एक नेताले बताए ।

सोमबार निर्वाचन आयोगमा आधिकारिकताका लागि भएको सनाखत (हेड काउन्ट) मा यादव पक्षले झन्डै दुई तिहाइ समर्थन पाएको थियो । ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ सदस्यले यादव पक्षमा हस्ताक्षर गरेका थिए । महन्थ ठाकुर पक्षमा १६ जना भए भने रेशम चौधरी तटस्थ बसेका थिए ।

आधिकारिकता दाबी गरेको यादव पक्षले बहुमत सिध्द गरेलगत्तै हिजै आयोगले उनी नेतृत्वको जसपालाई मान्यता दिँदै महन्थ ठाकुर पक्षलाई प्रक्रिया पुर्याएर नयाँ पार्टी दर्ता गर्न आउन भनेको छ ।

यता,जसपाको आधिकारिकता यादव पक्षले पाएसंगै सत्ता गठवन्धन थप बलियो बनेको छ । अब एमालेको माधव नेपाल पक्षको समर्थन बिना नै सरकारले बहुमत पुर्याउने अवस्था छ ।

जसपा र माधव पक्षको सरकारमा सहभागिताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहानै छलफल गरेका छन् । त्यसअघि प्रचण्ड र माधव नेपालवीच छलफल भएको थियो ।

टिप्पणीहरू