बुझ्नै गाह्रो यस्ता कुरा !

अन्तिम निर्णयमा सही धस्काउने ३ जना तर खप्की खाने पालोचाहिँ एक्लीको ? खुमबहादुर खड्का र गोविन्दराज जोशीको राजनीतिक भविष्य (मुद्दा) सँग यदि यसको सम्बन्ध छैन भने नेपाली कांग्रेस पकडको नेपाल बार नेतृत्वसामु एउटा यक्षप्रश्न खडा छ– उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिमा उसकै आफ्नो भगौडा प्रतिनिधिको भूमिका के थियो ?

अन्तिममा एउटा व्यक्तिका निम्ति सम्पूर्ण निर्णय बहिष्कार गरी हिँडेका रामप्रसाद सिटौलाले ती न्यायाधीशको शपथग्रहण समारोहमा राम्रा र योग्य मान्छे छानिनुभएको छ भनेर दिएको भाषणलाई किन नोटिसमा लिइएन ? हप्तौंसम्म चुप लागेर सरकारी वकिलले आन्दोलन फिर्ता लिएपछि सुशीला कार्कीमाथि निशाना सोझ्याउँदै बारले किन पानीमाथिको ओभानो हुन खोज्यो ? सामूहिक निर्णय गर्ने माओवादीतर्फका कानुनमन्त्री अजयशंकर नायक र प्रधानमन्त्रीको तर्फबाट न्यायपरिषद्मा नियुक्त पदम वैदिकलाई के कारण चोख्याइयो ? एमालेनिकट चार जना घुसाइँदा कांग्रेस र माओवादीतर्फका १५ र १२ जनालाई न्यायाधीश बनाउने काम प्रधानन्यायाधीश सुशीला कार्की एक्लैको हो कि न्यायपरिषद्को हो ?

महाअभियोगको निर्णय आफू नगर्ने अनि लोकमानलाई अख्तियारबाट हटाएको कामको बदलास्वरूप सुशीला कार्कीमाथि कांग्रेस यसरी खनिएको रूपमा यो घटनाक्रमको व्याख्या हुने कि नहुने ? न्यायाधीश नियुक्तिमा प्रधानमन्त्री, मन्त्री सामेल हुने, उक्त निर्णयप्रति प्रधानमन्त्रीका कानुनी सल्लाहकार महान्यायाधिवक्ताले ट्रेड युनियन नेताको शैलीमा विरोध जनाउने । बार त्यही रूपमा प्रस्तुत हुने । सत्तापक्ष आफैं, प्रतिपक्ष पनि आफैं । यो धामी आफैं, बोक्सी पनि आफैं नभए अरू के हो ? – भन्छन् एकथरी कानुनकर्मी ।

टिप्पणीहरू