प्रधानाध्यापकमाथि शिक्षकको प्रहार, घाइते अस्पतालमा, शिक्षक फरार

प्रधानाध्यापकमाथि शिक्षकको प्रहार, घाइते अस्पतालमा, शिक्षक फरार

रुकुम पश्चिमको एउटा विद्यालयको बैठकमा भएको ढुंगा प्रहारबाट प्रधानाध्यापक घाइते भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको बेलामा ढुंगा प्रहार भएको बताइएको छ ।

प्रगतिशील आधारभूत विद्यालय त्रिवेणी गाउँपालिका ८ का प्रधानाध्यापक दीपबहादुर खड्कालाई ताकेर सोही विद्यालयका शिक्षक दिनेश खड्काले हानेको ढुंगा लागेपछि उनी सख्त घाइते भएका हुन् ।

सोही वडाका वडा अध्यक्ष कर्णबहादुर खड्काका छोरा समेत रहेका दिनेशले आफ्नो विरुद्ध व्यवस्थापन समितिको बैठकमा कुरा उठाएको भन्दै बैठकमै प्रधानाध्यपकमाथि ढुंगा र मुक्का प्रहार गरेका हुन् । त्यसपछि घाइते खड्कालाई जिल्ला अस्पताल पुर्याइएको थियो ।

आक्रमण गर्ने शिक्षक दिनेशलगत्तै फरार भएका हुन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले बताउनुभएको छ । उहाँले घटनाको थप अध्ययन भइरहेको जानकारी दिनुभएको छ ।

संघीय अनुदान कोटामा गत माघमा करारमा नियुक्त दिनेशले विद्यालयको खाताबाट अनधिकृत रूपमा रकम निकाशा गरेको विषय बैठकमा उठाउदा आफूमाथि आक्रमण भएको प्रधानाध्यापक खड्काले बताएका छन् ।

‘गत बैशाख १२ गते दिनेशले एक लाख पचास हजार रकम मलाई र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई झुक्याएर निकाशा गरेको पाईयो’, घाइते प्रधानाध्यापक खड्काले भने, ‘सोही विषयमा कुरा उठाउदा ढुंगा टिपेर म कुर्सीमा बसिरहेको बेला प्रहार गरे, बैठकका सबैले उनलाई रोकेपछी म बाँचेको हुँ ।’

जिल्ला अस्पताल सल्लेमा उपचार गराइरहेका प्रधानाध्यापकको छाति र पेटमा चोट लागेको बताइएको छ ।

टिप्पणीहरू