श्रीमान्, कलंकीको धुलोसरी कसरी उड्छ करोडौं ?

होटल मल्लमा सञ्चालित भेनस क्यासिनोसम्बन्धी एउटा मुद्दाको १३ असारमा  आदेश भयो । सर्वोच्चका न्यायाधीश वैधनाथ उपाध्यायको इजलासले दिएको अन्तरिम आदेशमा किशोर सिलवाल र तप्त विष्टको क्षणिक जित भयो । यसमा बिचौलियाको काम गरेका थिए, प्रभु समशेरले । पछि सुशीला कार्कीको इजलासले सो निर्णय उल्टाइदियो । यसरी मुद्दा हारेपछि पहिले जिताउन खर्च गरेको ३० लाख रुपैयाँ फिर्ता मागिने नै भयो । प्रभुचाहिँ पहिले कबुल गरेको ५० मा २० लाख नपुग भएकाले त्योचाहिँ तिर भन्दै जाइलागे । जेका लागि पैसा दिएको हो त्यही मुद्दाको अन्तिम फैसला आफ्नो विपक्षमा भएपछि उनलाई सिलवालहरूले प्रहरीसमक्ष पु¥याएका छन् ।

त्यसो त रामकुमारप्रसाद साहले जातेजाते त्यस्तै लाभ लिएर पूर्वराजा ज्ञानेन्द्रपुत्री प्रेरणालाई जिताएको विश्वास गरिँदै आएको जग्गासम्बन्धी मुद्दा पनि केही समयअघि प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले उल्टाइदिएको छ । उता, चोलेन्द्रसमशेर पत्नी रेजीले भने उल्फाको धन खर्च गरेको रोचक प्रसंग आफन्त नै सुनाउँछन् । ०७२ साल फागुनमा चोलेन्द्रले छोरी समृद्धिको विवाह सन्तोष कुँवरसँग गर्दा लगभग करोड खर्च गरेका थिए । २५० तोला सुन र ३ हजार तोला चाँदी दाइजो दिएको चर्चा त्यतिबेला पनि चलेकै हो । ५ वटा हीराका हार पनि दिइएको थियो । तिनै छोरी–ज्वाइँ भेट्न असोज दोस्रो साता अमेरिका पुगेकी चोलेन्द्र पत्नीले त्यहाँ पनि कलंकीको धुलोसरी पैसा उडाएको नेपाली बताउँछन् । आफ्नी वृद्ध आमासहित रेजी पुगेको केही दिनपछि नै सम्धी–सम्धिनीको जोडी पनि गएको थियो ।

कुटुम्बका अगाडि धनको फुइँ लगाएर उनी पुस दोस्रो साता नेपाल फर्किसकेकी छन् । त्यसो त छोरीको विवाह पार्टीमा पनि चोलेन्द्र दम्पतीले धुमधाम खर्च गरेको थियो । होटल सोल्टीमा ३ वटा, आम्रपालीमा २ वटा, घरछेउको मिराकल र आफ्नै लगानी रहेको ठमेलको मुस्ताङ होटलमा अनगिन्ती भोज ख्वाएका थिए । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पनि छोरीको विवाह त्यही बेला खर्चिलो पाराले गरेका थिए । चोलेन्द्रले पनि कमचाहिँ खर्च गरेका होइनन् भन्छन् उनलाई नजिकबाट चिहाइरहेकाहरू । उनको त्यत्रो खर्च गर्ने सम्पत्ति स्रोत के हो ? यो प्रश्नको उत्तर दिइरहनै पर्दैन, जगजाहेर छ ।
– कल्पना खनाल

टिप्पणीहरू